भंगाह घटनाबारे छानबिन गर्न समिति गठन, सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देश

काठमाडौं । बिहिबार महोत्तरीको भंगाह नगरपालिका ८ मा भएको घटनाबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।

मन्त्रालयले शुक्रबार सहसचिव शिवराम पोखरेलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो।

समितिमा प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरी नायव महानिरीक्षक किशोर प्रधान, राष्ट्रिय अनुसन्धान विभागका सह–अनुसन्धान निर्देशक विष्णुमणि आचार्य र गृह मन्त्रालयका उपसचिव विश्वराज मरासेनी सदस्य छन्।

समितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

हिजो (कात्तिक १० गते) भंगाहा नगरपालिका ८ मा छठ पर्वको अवसरमा आयोजित कलश यात्राको सिलसिलामा हिन्दु र मुस्लिम समुदायबीच विवाद सिर्जना भएको थियो।

विवादले झडपको रुप लिएपछि स्थानीय प्रशासनले अपरान्ह ४ बजेदेखि कर्फ्यू आदेश जारी गरेको थियो।

सम्बन्धित समाचार