माओवादी केन्द्रसँग एकता होइन दुबै मिलेर नयाँ पार्टी बनाउने हो ः बाबुराम भट्टरा

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्र र आफ्नो पार्टीबीच तत्काल एकता नहुने बताएका छन् ।

आइतबार काठमाडौंमा पार्टीको घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष भट्टराईले माओवादी केन्द्र र नेसवाबीच तत्काल पार्टी एकता सम्भव नहुने बताए ।

‘माओवादीसँग पार्टी एकता अलिक पछि होला । तर, तत्काल नहुने भएकाले फरक–फरक प्रतिबद्धतापत्र ल्याएका हौँ,’ उनले भने । अध्यक्ष भट्टराईले राम्रो काम नगर्ने जनप्रतिनिधिलाई फिर्ता बोलाउने व्यवस्था गर्नुपर्ने कुरा प्रतिबद्धता पत्रमा उल्लेख गरेका बताए ।

भट्टराईले ‘राइट टु रिकल’ को व्यवस्था गर्नुपर्ने माग आफ्नो पार्टीको रहेको बताए । ‘राइट टु रिकल गर्नु पर्छ । हामी गैरजिम्मेवार हुँदै गएका छौँ । काम नगर्ने ढाँटछल गर्ने र अर्को चुनाव आउँदा फेरि पैसाको प्रयोग गर्ने, चुनाव जित्ने, चुनाव जितेपछि पाँच वर्ष फर्केर नजाने । यस्तो प्रवृत्ति छ । यदि राइट टु रिकल भएमा राजनीतिक दल र तिनका नेताहरु पनि सुध्रने अथवा राम्रो मानिस निर्वाचित हुने हुन्छ,’ उनले भने ।

अध्यक्ष भट्टराईले अहिले संघीयता अपूर्ण भएकाले यसमा सुधार गर्नुपर्ने बताए । उनले दलीय भागबण्डाका कारण निर्वाचन आयोग स्वतन्त्र नभएको बताए । ‘अन्यथा अर्थ नलागोस् निर्वाचन आयोग आफैँ स्वतन्त्र छैन । यसको पुनःसंरचना गर्न आवश्यक छ । दलीय भागबण्डाको अन्त्य हुनुपर्छ,’ उनले भने ।
माओवादी र आफ्नो दल मिलेर शासकीय स्वरुप परिवर्तन गर्ने र त्यो सम्भव भएको पनि बताए । ‘प्रत्यक्ष निर्वाचित राष्ट्रपति र निर्वाचन प्रणाली पूर्ण समानुपातिकमा हाम्रो कुरा मिल्छ । त्यो परिवर्तन गर्न सम्भव पनि छ,’ उनले भने ।

प्रतिबद्धता पत्रमा नेसपाले १२ बुँदे प्रतिबद्धता पनि जनाएको छ । सस्तो, भरपर्दो र सुधारिएको स्वास्थ्य सेवा सबैलाई पुर्‍याउने नेसपापको प्रतिबद्धता छ । प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कुलबाटै उपलब्ध गराउने, लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन, हरियो, सफा र खुला शहर बनाउने नेसपाको १२ बुँदे प्रतिबद्धतामा उल्लेख छ ।

देशभरका उद्यमीलाई प्रोत्साहन गर्ने, व्यावसायिक कृषिलाई प्राथमकिता, भौतिक पूर्वाधारमा विशेष पहल, सूचना प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता, बिजुलीलाई नै प्रमुख ऊर्जा बनाउने र महिला सुरक्षाको ग्यारेन्टी गर्ने पनि प्रतिबद्धतामा उल्लेख छ ।

 

सम्बन्धित समाचार