जुम्ला ः असोज अन्तिम साता आएको बर्षासँगै बाढीपहिरोले राष्ट्यि प्रशारण लाइनमा (नेशनल ग्रीड) अवरुद्ध भएको छ । बाढी पहिरोका कारण क्षति पुगेपछि विद्युत आपूर्ति अबरुद्ध भएको हो । दैलेख, कालिकोट हुदै जुम्ला राष्ट्यि प्रसारण लाइन पुगेको छ ।
बाढीपहिरोले जुम्ला र कालिकोट खण्डमा ९० वटा पोल र तारमा क्षति भएपछि दुई सातादेखि विद्युत आपूर्ति नभएको नेपाल राष्ट्यि विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेश दत्त रावलले बताए । उनले भने,क्षति भएको स्थानमा मर्मतको काम भईरहेको छ ।
दुई सातादेखि नेशनल ग्रीड अवरुद्ध भएपछि स्थानीय उत्पादन घुघुत्ती र जाल्पादेवि साना जलविद्युत आयोजनाको विजुलीले जुम्ला सदरमुकाम खलंगामा काम चलाउ भईरहेको जनाएको छ । यही विजुली पनि २४ सै घण्टा नियमित आपूर्ति हुने अवस्था छैन ।
टोल, क्षेत्र कलष्टर मिलाएर विजुली आपूर्ति गर्ने गरिएको प्रमुख रावलले बताए । उनले भने,” स्थानीय स्तरमा उत्पादित विजुली कम क्षमताको छ । यो विजुलीलाई अस्पताल, सुरक्षा निकाय लगायत विशेष ठाउँलाई प्रथामिकता दिएको छ । भने नागरिकको घरमा पनि कम्तीमा मोवाईलसम्म चार्ज गर्न होस भनेर पनि विजुली आपूर्ति गर्ने गरिएको छ ।
क्षति भएको स्थानमा विजुलीका पोल गान्ने र तार जोड्ने काम निरन्तर भई रहेको छ । सडक पनि अवरुद्ध भएकोले विद्युत सामग्री ओसारपसारमा समस्या भएको छ । उनले भने हप्ता दिन भित्र नेशनल ग्रीड आपूर्ति हुने गरी मर्मतको काम भईरहेको छ ।