विपद्को वितण्डाले जुम्लामा अरबौंको क्षति भएको अनुमान

जुम्ला ः अविरल वर्षाका कारण जुम्लामा यस पटकको अरबौंको क्षेति भएको छ । विपद्कै कारण असोज २२ गते अपरान्ह ४ः०० बजे कनकासुन्दरी गाउँपालिका ५ जुम्ला बारकोटे गाउँका एकाघरका पाँच सहित सात जनाले ज्यान गुमाए ।सोही दिन हिमा गाउपालिका ३ जोगीवाडामा आएको बाढीमा परी एकै घरका दुई जनाको ज्यान गयो । विपद्कै कारण डोल्पादेखि जुम्ला आउँदै गरेकी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अध्ययनरत एक छात्राले गुठिचौर गाउँपालिका १ मणि सँघु जुम्लामा राति घर भत्केर ज्यान गुमाउनुप¥यो । असोज १९ गतेदेखि टेलिफोन टावर, इन्टरनेट, विद्युत अवरुद्ध हुँदा कहाँ कति धनजनको क्षति भयो भन्ने एकिन अँझै भइनसकेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।
विपद्ले जुम्ला मात्र नभई कर्णालीका दशवटै जिल्लामा वितण्डा मच्चाएको छ । कतै पहिरो, कतै बाढी त कतै चट्याङले अरबौंको जनधनको क्षति गरेको छ । सञ्चारका माध्यम अवरुद्ध हुँदा सबै जिल्लाको क्षति लिन मूलतः साविक कर्णालीका पाँच जिल्लाका विपद् व्यवस्थापन समितिहरुलाई समस्या भएको छ ।
पहिरोले कर्णाली राजमार्गलगायत अन्य सहायक मार्ग बन्द हुँदा उद्धार तथा राहतका कार्य गर्न पनि त्यत्तिकै अप्ठ्यारो भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए ।
यस पटक दसैं मनाएर बाली भित्र्याउने योजना बनाएका यहाँका किसानहरुको मुखको गास प्राकृतिक विपद्ले नराम्ररी खोसेको छ । असोज २१ गते आएको बाढीले तिला गाउँपालिका ४ साँपुल्ली गाउँमा अवस्थित शेरबहादुर शाही, राइबहादुर शाही, दत्तबहादुर शाही, लंकबहादुर शाही, मिमबहादुर शाही, रतनबहादुर शाही र लालबहादुर सुनार घरमा क्षति पुर्याएको छ । बाढी आएको सूचना गाउँले दिएपछि उनीहरुले घरबाट भागेर ज्यान जोगाउन सफल भए ।
विस्थापित भएका उनीहरुले अहिले छिमेकीको साहारा लिनुपरेको छ । बाढीले विभिन्न परिवारका गरेर करिब एक दर्जन बढी बाख्रा, कुखुरा र खरायो बगाएको पीडित दत्तबहादुर शाहीले बताए । “पानी रोकिएको छैन । फेरी पनि बाढी आएर लिने हो कि भन्ने त्रास बढिरहेको छ । बाढीको मुखमा परेर होला, छोरी राति सुतेको अवस्थामा तर्सिने, पिसाब फेर्ने गर्न थालिन्,” उनले बताए । ।
त्यस्तै, फुटाखोला, खानताडो, पानी प्याउन खोलामा आएको बाढीले दुनी, मेहलचुन, धिमधारामा लगाएको सिमी, मकै, कोदो, चिनो, कागुनो बाली नष्ट गरेको छ भने सोही बाढीले झारखेत, मुसीखेत, लिडाला, भूँडाधारा, खोलीखेत, थाम्खोला, मुँडेनी खोला, भूँर र कुनाखेतमा लगाएको सयौं खेतको अन्नबाली पूर्णरुपले नष्ट गरेको स्थानीय पृथ्वीबहादुर शाहीले बताए ।“बाढीले घर भित्र्याउने बेलाको बाली नष्ट मात्र गरेन, यसले हाम्रो खेतबारी नै बगर बनाएको छ,” दुखेसो पोख्दै शाहीले भन्नुभयो, “गत वर्षको बाढीले रित्याएको हाम्रो घर यसपटक झनै ध्वस्त पारेको छ । मुखको गास खोस्ने गरी आएको विपत्तिले हाम्रो उठिबास भएको छ ।”
विपद्ले जुम्लाका सात गाउँपालिकामा बढी क्षति भएको जनाइएको छ । धनजनको क्षेति कनकासुन्दरी, हिमा र तिला गाउँपालिकाले व्यहोर्नु परेको छ भने तातोपानी गाउँपालिकाको लाक्षु, राँका, बाइराँका ज्यूलो बाढीले ढाकेको छ । तिला गाउँपालिकाको घोडासिन बस्ती बढी जोखिम रहेको जिल्ला विपद् व्यवस्थापन समितिले बताएको छ ।
सबै भन्दा बढी मार्सी धानबालीमा क्षति

लगातार अविरल वर्षाले जुम्लामा पाक्नै लागेको मार्सीधानबालीका फाँटमा क्षति पुगेको छ । एक सातादेखि परेको अविरल वर्षाले धानबालीमा क्षति हुँदा यहाँका किसान मर्कामा परेका छन् ।
जिल्लाभरका किसानको धानबाली, सिमी लगायतका बालीमा पुर्याएको क्षतिको विवरण सङ्कलन गर्न स्थानीय तहका कृषि शाखासँगको सहकार्यमा कृषि विकास कार्यालयले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले बताए ।
वर्षाले खेतमा पाक्नै लागेको धान ढालेपछि किसान चिन्तित छन् । भित्र्याउने बेलाको धानबाली ढलेर खेतमै दाना झरेको छ । पाकेको बाली घर भित्र्याउने समयमा वर्षाले क्षति गरेपछि यहाँका किसानलाई वर्षभरि पुग्ने अन्न संकट हुने स्थानीय जयशंखर धितालले बताए । उनले भने हाम्रो १४ भारी मार्सी धान सहित खेत बगाएको छ ।
त्यस्तै धेरैजसो सिञ्जा क्षेत्रमा धानबालीमा क्षति गरेको सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । उनले भने, पालिकाको धान उत्पादन हुने ठाउँका सबै खेतबारी बगरमा परिणत भएको छ ।
त्यस्तै तिला गाउँपालिकाको नुवाकोट, कुडारी र सापुल्ली क्षेत्रका खेतबारीमा लगाएको धानबाली पूर्णरुपमा क्षति गरेको पुगेको छ ।
त्यस्तै जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार जुम्लामा दुई हजार नौ सय ५० हेक्टरमा धानखेती गरिएको छ । जिल्लाका आठवटै स्थानीय तहमा धानखेती हुने गरेको छ । कृषी बालमा भएको क्षेतीको एकृन बिवरण संकलन गर्न जिल्ला प्रशासनले सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।









