राजनीतिसंगै स्लाइनमार्फत तरकारी खेती

लक्ष्यबहादुर सुनार
सुर्खेत ।
चौकुने गाउँपालिका –२, लगामका ३६ वर्षीय खड्क बास्पाने (विवश) राजनीतिमा सक्रिय छन् । सशस्त्र द्वन्द्वको बेला १७ वर्षको उमेरमा भूमिगत बनेका उनले वीरेन्द्रनगर नगरपालिका–१, डोढेखालीमा फरक प्रविधिबाट खेती गरिरहेका छन्, त्यो पनि जमिन भाडामा लिएर । उनको एक कट्ठा भाडाको जमिनमा दुई महिनादेखि स्लाइन प्रविधिमार्फत तरकारी खेती भइरहेको छ ।


दिउँसो पार्टी र समाजसेवामा व्यस्त हुने गरेका उनी साँझ–विहान खेतमै रमाइरहेका छन् । यहा“का किसानका लागि यो प्रविधि नौलो भएकाले अरुलाई यसमा आकर्षित गर्न स्लाइन प्रविधिमार्फत खेती थालेको उनको भनाइ छ । पेय पदार्थका खाली बोत्तल, प्लाष्टिकका भाडा र अस्पतालमा प्रयोग भइसकेको आइभी सेट प्रयोग गरी सिँचाइमा लगाइरहेको उनले जानकारी दिए । उनका अनुसार यो प्रविधिमा खर्च शून्य छ । ‘स्लाइनमार्फत सबै विरुवामा समान रुपले एक मिनेटमा दुई थोपा पानी खस्ने गरेको छ,’ उनी भन्छन्, ‘यो प्रविधिको सि“चाइ २४ सैं घण्टा जारी रहन्छ ।’ गर्मीयाममा बोत्तल र पानी तात्तिए छायाँ पारेर वा बोत्तलबाहिर कपडा लगाएर सिँचाइ गर्न सकिने उनले जानकारी दिए ।


उनको बारीमा करेला, लौका, फर्सी, बन्दा, सिमीलगायत तरकारी र मकै फल्ने क्रममा छन् । अहिले घरमा उपभोग गर्नलाइ मात्र तरकारी उत्पादन गरिरहेको बताउँदै यसलाई नमूनाको रुपमा प्रयोग गर्न खोजेको जनाए । ‘विस्तारै जमिन थपेर यसलाई व्यवसायिक बनाउने योजना छ,’ बास्पानेले भने, ‘थोपा सिँचाइ प्रविधि जडान गर्न धेरै रकम खर्च हुने भएकाले यो विधि किसानका लागि सर्वसुलभ छ ।’ उनको वारीमा तरकारी फैलन दिन बाँसका टाडसमेत राखिएको छ । प्रकृतिमा गरे असम्भव केही नहुने उनी दावी गर्छन । प्रतिकुलतालाई अनुकुलतामा बदल्न विज्ञानको प्रयोग गर्न जरुरी रहेको उनको भनाइ छ ।


सानैदेखि प्रविधिमा रुची राख्ने उनले नयाँ प्रयोग गरेर अन्य किसानलाई सिकाउन खोजेको बताए । अन्नको भुस फाल्न यसअघि उनले काठे पंखासमेत निर्माण गरेका थिए । बास्पानेले घरमै काठको घुम्नेकुर्सीको पनि निर्माण गरेका छन् । ‘सानै उमेरमा जहाज बनाउने सपना देख्थे,’ उनले भने, ‘प्रविधि र आर्थिक रुपमा सक्षम नहुँदा जहाज बनाउन नसके पनि अन्य सामग्री घरमै उत्पादन गरिरहेको छु ।’ अधिकांश किसानले जग्गा बाँझै राखेर बाहिरको तरकारी उपभोग गर्ने गरेको भन्दै सामान्य विधिले पनि व्यवसायिक खेती गर्न सकिने उनी बताउँछन् ।
इमान्दार नेताको छवी बनाएका उनी स्थानीय तहको निर्वाचनमा साविक माओवादीबाट चौकुने गाउँपालिका अध्यक्षका उम्मेदवार थिए । बास्पाने कर्णाली प्रदेश बाढीपहिरो समस्या समाधान समितिका सदस्य हुन् ।

सम्बन्धित समाचार