जुम्लाका आठवटै स्थानीय तहले आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याएका छन् । १० असारमा नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने प्रावधानअनुसार जुम्लाका चन्दननाथ नगरपालिकासँंगै तातोपानी, तिला, हिमा, सिंजा, कनकासुन्दरी, पातारासी र गुठिचौर गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र सडकलाई प्राथमिकता दिएर नीति कार्यक्रम र बजेट ल्याएका हुन् ।

जुम्लाका आठै पालिकाले समग्रमा तीन अर्ब ६० करोड ८६ लाख ८ सय बराबरको बजेट ल्याएका छन् । जसअन्तर्गत यहाँको तातोपानी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकता दिएर ५२ करोड ६६ लाख ३० हजार ३ सय ४३ रुपैयाँ बराबरको बजेट ल्याएको छ । तातोपानीको नीति तथा कार्यक्रम ११आँै गाउँसभाबाट पारित भइसकेको छ भने बजेट पारित हुनँ बाँकी छ ।

त्यस्तै चन्दननाथ नगरपालिकाले केबुलकारको सम्भाव्यता अध्ययनदेखि फोहोर व्यवस्थापनमा जोड दिँदै ५६ करोड ६ लाख ५३ हजारको बजेट ल्याउँदा पातारासी गाउँपाकिाले शिक्षा र सडकलाई प्राथमिकता दिएर ४५ करोड ५८ लाख १९ हजारको बजेट ल्याएको छ । गुठिचौर गाउँपालिकाले सडक, स्वास्थ्य रोजगारलाई जोड दिएर ३३ करोड १२ लाख ६० हजारको बजेट ल्याएको छ भने हिमा गाउँपालिकाले ग्रिन रोड, ग्रिन रिवरदेखि बालविवाहमुक्त नीतिलाई प्राथमिकता दिँदै ३९ करोड ८० लाख ८५ हजारको बजेट ल्याएको छ । उता सिंजा गाउँपालिकाले ३४ करोड २६ लाख २३ हजारको बजेट प्रस्तुत गर्दा सिंजा क्षेत्रकै कनकासुन्दरी गाउँपालिकाले ४७ करोड २२ लाख ५२ हजारको बजेट ल्याएको बजेट वक्तव्यमा उल्लेख छ ।
साथै तिला गाउँपालिकाले कृषि उत्पादन वृद्धि, रोजगारी सृजनादेखि सहुलियत कर्जासम्मको नीतिलाई जोड दिएर ५२ करोड १३ लाख ४४ हजारको बजेट ल्याएको छ । यसरी चालू र पुँजीगततर्फ गरी साढे ३ अर्ब बढी बजेट ल्याएका स्थानीय तहले नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउन सकेका छैनन् ।

नीति एकतिर र बजेट अर्कोतिर भएको देखिन्छ । यद्यपि, बजेट कार्यान्वयन र जनताका अपेक्षाअनुसारको विकासलाई जोड दिने तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाईंको भनाइ छ । अध्यक्ष चौलागाईंले घोषणा पत्रअनुसार काम गर्न तथा जनताका भावनाको कदर गर्नका लागि ल्याइएका नीति कार्यक्रम कार्यान्वयनमा गम्भीर हुने बताए । सीमित स्रोतका बीच असिमित नागरिकका चाहाना पूरा गर्न मुस्किल रहेको भन्दै सकेजति जनभावानाअनुसार काम गर्ने उल्लेख गरे ।
नीति तथा कार्यक्रमअनुसार बजेट नआए पनि प्रस्तुत बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिइने जुम्लाका जनप्रतिनिधिको प्रतिबद्धता छ । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकालाई सुन्दर बनाउन फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने मेयर राजुसिंह कठायतको प्रतिबद्धता छ ।
शिक्षा ऐनमाथि संशोधन प्रस्ताव पेस
तातोपानी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष तथा गाउँसभा सदस्य अम्मरबहादुर रोकायाले शिक्षा ऐन तथा नियमावली माथि पहिलो संशोधन प्रस्ताव पेस गरेका छन् । वडाध्यक्ष रोकायाले ११औ गाउँसभाको अबसरमा शिक्षा ऐन २०७४ र नियमावली २०७४ माथि पहिलो संशोधन प्रस्ताव गाउँसभा अध्यक्ष तथा पालिका अध्यक्ष नन्दप्रसाद चौलागार्इं समक्ष पेस गरेका हुन् । जुम्लाका स्थानीय तह संशोधन प्रस्ताव पेस भएको यो पहिलो हो ।
शिक्षा ऐन २०७५ तथा नियमावली २०७४ मा व्यवस्था भएको विभिन्न बुँदामा त्रुटि भएको र ऐन नियमावली बीच एकरुपता नभएकाले पहिलो शंसोधन प्रस्ताव पेस गरेको वडाध्यक्ष रोकायाले जानकारी दिए । तातोपानी गाउँपालिकाको शैक्षिक अवस्था सुधारका लागि शिक्षा ऐन नियमावली नै स्पष्ट र नबाझिने हुनुपर्ने महसुस गर्दै ऐन नियमावलीको सुक्ष्म अध्ययनपछि संशोधन प्रस्ताव पेस गरेको अध्यक्ष रोकायाले बताए ।
यता गाउँपालिका अध्यक्ष तथा गाउँसभा अध्यक्ष नन्दप्रसाद चौलागाईंले शिक्षा ऐन २०७४ र नियमावली २०७४ माथि संशोधनका लागि पेस भएको प्रस्ताव छलफलका लागि आगामी कार्यपालिका बैठकमा पेस गर्ने बताए ।