पृतिसत्ताले ढाकेको मेरो समाज र म

जुम्ला । समाज वर्गीय छ ।समाज लैंगीक छ ।सबै भन्दा अप्ठेरो काम समाज रुपमान्तरणको हो ।सत्तापरिवर्तनको हो ।विश्वका इतिहास हेर्ने हो भने सत्ता परिवर्तनका आन्दोलन धेरै ठूला ठूला भएका छन्। समाज परिवर्तनकाका लागि पनि मानिसले धेरै वलिदानी दिएका छन् । तर पनि समाज समतामुलक हुन सकेको छैन । किन कि मानिस आफ्नो खाइपाइ आएको सत्ता छोड्न चाहदैन ।चाहे त्यो राज्यसत्ता होस चाहे त्यो सामाजिक सत्ता होस् ।

यहिबाट सुरु हुन्छ अन्र्तविरोध । एउटाले अन्याय सहिरहनु पर्ने अर्कोले अन्याय गरिरहनु पर्ने । २१औँ शताब्दीमा पनि हाम्रो समाज अन्धविश्वास, जातिय अहंकार, रुढीवादी र पितृसत्ताको मानसिकताले जकडिएको छ । यी सबै कारण हुन समाजमा अन्य अत्याचारलाई बचाइराख्ने ।
२१ औं शताब्दीलाई विज्ञानप्रविधिको युग भनिदै आएको छ । विज्ञानप्रविधिले कयौं कुराहरु सहज बनाइ दिएको छ । समयको हिसाबले होस कि विकासको हिसाबले होस् ।तर यो हाम्रो समाज पितृसत्ताको जालोबाट बाहिर आउन चाहदैन । यो सत्ताले महिलालाई मानिसको दर्जा दिन पनि चाहदैन ।यसरी जकडिएको छ कि महिलालाई मेशीनको रुपमा प्रयोग गर्न चाहन्छ । यो समस्या व्यक्तिमा होइन सम्पूर्ण पुरुष मानसिकतामा छ ।जब सबै भन्दा सचेत बुद्धि भएको मानिसबाट नै मानिसमाथि अन्याय हुन्छ भने त्यो समाज कसरी सभ्य र विकसित हुनसक्छ ?
पितृसत्ताको अहंकारले समाजलाई यसरी जकडेको छ कि त्यो बाट बाहिर आउन नै चाहदैनन् । यो समाज जतिसम्म पितृसत्ताको अंहकारमा जकडिएर बस्छ त्यति नै लामो समय सम्म समाजमा रुपान्तरण आउदैन ।महिला नेपालमा अहिले पनि दुई सत्ताबाट पिडित छन् । एक पितृसत्ताबाट र अर्को राज्यसत्ताबाट ।यो आजको समस्या होइन । पितृसत्ताको उत्पतीदेखि नै महिला यो सत्ताबाट प्रताडित, हिंसाको शिकार बन्दै आएकी छिन् । महिला मान्छे नभएर केवल पुरुषको नजरमा औजार सोच्ने प्रवृतिका अहिलेपनि यथावत छन् ।
विश्व जुन युगमा दौडिरहेको भएपनि हाम्रो समाज अहिलेपनि आदिम कालका चिन्तनमा चलिरहेको छ ।
यो समाजलाई अझ पनि त्यहि युगमा बाचीरहन दिने कि यसलाई सबै मिलेर ढाल्ने हो ? मानिस शिक्षित हुनु भनेको पढाईका सर्टिफिकेटले मात्र होइन ।उसले समाजलाई कसरी परिवर्तन गदै छ ।समाजलाई कुन शिक्षा दिदैछ भन्ने महत्वपूर्ण हो ।तर मानिस सर्टिफिकेट शिरानीमा हालेर समाजलाई पहिलाको अवस्थामा नै राखिरहेको छ ।

अब यो पितृसत्तात्मक रुढीवादी, अन्धविश्वास, मान्छेले मान्छेको अस्तित्व नस्वीकार्ने समाज लाई महिला महिला मात्र होइन मानिस हो भनेर बुझाउनु छ । महिला औजार होइन यो समाजको युगौदेखि नेतृत्व गदै आएको पुरुष जन्माउने मानिस हो भनेर सम्झाउनु छ।पुरुष प्रधानमानिसकतालाई भत्काउनु छ ।मातृसत्ताले विनिर्माण गर्नु छ । पुरुषलाई होइन पुरुष प्रधानमानसिकतालाई भत्काउनु छ । पुरुषलाई होइन पुरुषवादी चिन्तलाई बदल्नु छ ।
किनारमा राखिएका ओझेलका पात्रलाई राज्यको मुलधारमा ल्याउनु पर्छ ।
पितृसत्ताको अहंकारमा बाचिरहेको समाजमा महिलालाई वस्तुको रूपमा हेरिने कुसंस्कारलाई तोड्नु पर्छ । अग्ग्रास जस्ता सिमित भूगोलमा प्रचलित संस्कारलाई समग्र राष्ट्रमा चिनाउँनु पर्छ र अभ्यासमा ल्याउँनुपर्छ ।
लाज कहिलेसम्म मान्नु
लाज दुई अक्षरको शब्द हो ,तर निकै भारी लाग्छ । लाज महिलाले मात्र मान्नु पर्छ ।किन कि समाजले हामीलाई यो मान यो गर भनेर शताब्दीयौ देखि सिकाएको छ ।पितृसत्ताले शताब्दीयौँदेखि सिकाएको कुरा महिलाले केहि नभनि पालना गर्नु पर्ने बाध्यता अहिले सम्म छ । यो सत्ताका विरुद्ध बोलेमा अथवा यो गलत छ भनेमा पितृसत्ताले लाज नभएको शरम नभएको भन्दै अनेकौ लाछना लगाउछ । जुन लाछना पनि सहेको शताब्दीयौं भयो । अझै कितसम्म सहनु पर्ने हो । त्यहि भएर अब समय आएको छ यी सबै कुसंकार र कुरिती अन्धविश्वास र पितृसत्ताको चिन्तनलाई तोड्नु छ ।

अब त यो भार महिलाले बोकेर हिड्न कहाँ सक्छन् ? कहिले काँही अगाडि बढ्दा बढदै यहि लाजको भारले अगाडि पाइला चाल्न दिदैन । लाज कुनै घुम्टो होइन ओढ्दा कुनै महिलाको श्रृगार होस् । त्यसमा ढाकीरहनु व्यर्थ हो ।
लाज पितृसत्ताले भिराएको शासनको एक हतियार हो । यो लाजले कुनै दण्ड सजाय नदिएर पनि शासन गर्न सकिने सजिलो हतियार हो ।जुन पिडा नदिएर नै शासन गर्न सजिलो माध्यम हो ।जुन अहिलेसम्म जारी छ ।हामी महिलाले पनि अनुशासित भएर पालना गरिराखेका छौ । अब भने यो शासनको हतियार आफूमाथिबाट हटाउनु पर्छ ।

यहाँ त यातना दिने पुरुषको भन्दा पीडा सहेर बस्नेलाई लाजको भारी बोकाइएको छ । यो लाज महिलाको लागिमात्र निमार्ण गरेको छ । यहि लाजको घुम्टोमा शदियौदेखि शासित महिलाको लागि न त लोकतन्त्र आएको छ । नत गणतन्त्र न त कुनै परिवर्तनको अनुभूति हुन पाएको छ ।यो अब धेरै सहनु हुदैन । छोरीहरुलाई सानै उमेरमा विवाह गर्ने चलन थियो । जुन कुरा मैले पनि भोगे । त्यो पनि १४ वर्षको उमेरमा ।

जाजरकोटबाट १४ वर्षमा विवाह गरेर म जुम्ला आए ।जुम्लामा मेरो कोहि थिएन । थियो त त्यहि विवाह गरेर ल्याउने लक्का जवान श्रीमान । म संग सुरुमा नै यो समाजले अन्याय गर्यो । म १४ वर्षमो खेल्ने उमेरको बच्चालाई विवाह गरेर यति ल्याए ।जुनकुराको ममा न प्रतिवाद गर्ने चेतना थियो । नत केहि अन्य विकल्प थियो । चुपचाप सहेर बस्नु पर्यो ।
विस्तारै यहि समाज सँग घुलमिल हुनु र समाजले थोपेका मूल्यमान्यतालाई स्वीकारे । तर यहि समाजले ममाथि १४ वर्षको कलिलो उमेरमा गररेको अन्यायको कहि कतै न्याय पाउने अवस्था त थिएन । तर अहिले त्यहि श्रीमानले मलाई झन पिडामाथि पिडा दिइरहेको छ । अझै यहि समाजले सहनु पर्छ भन्ने सिकाउछ ।मैले उसले दिएका यातना कति वर्षदेखि सहदै आएकी छु यो समाजले देख्दैन ।
यो समाजले अहिले पनि मैले सहन नसकेका पिडा देख्न थालेको छ । र ती पिडा पनि सहनु पर्ने सुझाव दिन्छ ।

समाज रुपान्तानतरणको बहस गर्नेहरु नै महिला मान्छेले पुरुषको हिंसा अलि अलि त हो सहनु पर्छ भन्छन् ।सहनुको कारण देखाउछन् वर्षौदेखि महिलामाथि लादिएको लाजको हतियार । न सहने हो भने महिलाको लाज हुन्छ ।
महिलाले लाजको घुम्टो ओडेर आत्महत्या गरेका दैनिक घटनासँग यो समाज मुख फर्काएर हिड्छ ।तर महिलालाई लाज मान भन्न छोड्दैन ।श्रीमाने श्रीमतीका हत्या गरेका घटनाहरुका समाचार लेख्नु पर्छ । कयौ महिलाले पुरुषले दिएका पिडा सहन नसकेर आत्म हत्या गरेका घटना छन् ।

आत्म हत्या गर्न बाध्य बनाउने समाजले पुरुषको गल्ती देख्दैन । अझै महिलालाई अनेकौ दोष लगाउछ । पुरुषले अझ श्रीमानले दिएका पिडा सहन नसकेर कानुनी उचारको पाटोमा जाने महिलालाई लाज हुन्छ नगर भने सम्झाउन यहि पितृसत्तात्मक समाज अगाडि आउछ । पुरुष प्रधान समाज भनेको पुरुषको मात्र होइन त्यो विचार अंगाल्ने महिला पनि पुरुष प्रधान समाजको उपज हुन् ।यहि पुरुष प्रधान सोच चिन्तन भएको समाजमा म पनि बाच्न बाध्य छु । यी पुरुष धेरै महिला संग थरीथरीका सम्बन्ध बनाउछन् । तर यो समाजमा पुरुष चोखो हुने तर महिलालाई अनेक लाच्छना लगाउने गर्छ ।

अझ पुरुषले श्रीमतीलाई मानसिक शारिरीक यातना दिने घटनाहरु दैनिक घटेका छन् ।
पुरुषले दोस्रो बिहे गर्दा संसार नै बदलियो जस्तो गरी हौसला दिने हाम्रो समाजले महिला न्याय खोज्न जादा लाजको हतियार देखाएर चुप बस्न लगाउछन् ।

जसमा म एक प्रतिनिधि पात्र हुँ । हो, पेशा व्यवसायमा हिड्दा अनेक मान्छे भेटिन्छन् । कोहि छोटो समयमा नै छुट्छन् । कति याद हुन्छन् कति हुन्नन् । संयोगले भोली कसैसंग भेट हुन्छ थाह हुदैन । कोहि चाहेर भेट हुन्छन् , कोहि नचाहादा नचाहदै भेटिन्छन । केहि साथिहरु राम्रा हुन्छन् । कोहि साथिहरु खासै नकिज नभएर नै छुटिन्छन् । कसैको आगमनले संसार नै बद्लियो जस्तो लाग्ने । जिन्दगी जति अघि बढ्छ नि अतित त्यति टाढा गएको जस्तो लाग्दो रहेछ ।
तर केही अतीतका यस्ता यादहरु छन् जुन कहिले टाढा जान मान्दैन । बिगतका दिन सम्झदा मन नै कस्तो कस्तो हुन्छ । १४ वर्षको उमेरमा नयाँ सम्बन्धन, नयाँ नाता , नयाँ ठाउँ, नयाँ परिवेश सबै कुरा नयाँ भयो । त्यसपछि कयौ नाता सम्बन्ध जोडिए । कयौ साथ नयाँ भए । जससंग नाता जोडियर कयौ विराना मान्छेहरु आफ्ना भए ।
त्यहि नाताले विरानो ठाउँ आफ्नो भयो । समयले यस्तो मोडमा पुगाएर उभ्यायो कि जुन नाताले मेरो जिल्लामा नाता सम्बन्धन बन्यो त्यहि नाता अहिले आएर बिरानो मात्र होइन पिडाको समुन्द्र बन्यो ।

त्यहि पिडाको समुन्द्रमा अहिलेसम्म चुर्लुम डुबे । कयौ रात अनिदो बिताए, कयौ दिन रात भोकै बिताए । सुनाउने ठाउँ थिएन । जे थियो सबै त्यहि नातामा थियो । तर त्यहि नाताले दिएका मानसिक र शारिरीक पिडाका कथाले जिवन नै भरियो । कति दुःख,पिडा सहे भनेर लेखेर साध्य छैनन् । तर अहिले आएर त्यही एउटा श्रीमान नाता र साथ छुट्यो ।

मेरो कारणले होइन उ आफ्नै कारणले । यति सहेरपनि मैले उसलाई अन्तिम पटक माफि दिए । तर त्यहि माफि मेरो लागि थप पिडा बनेर आयो । जुन अब पनि कति सहनु । दुई छोरा छोरी छन् । उनको संसार म हुँ । मेरो संसार उनीहरु हुन् । तर पुरुषको लागि ती सन्तानहरु केहि हुदा रहेन छन् । जे मन लाग्यो त्यहि गर्दा रहेछन् । अझै त्यहि श्रीमानले र समाजले महिला माथि लाजको कुरा उठाएर सहन बाध्य बनाउछ । म जस्ता हजारौ महिला बाच्न बाध्य छन् । म चाहि अति भएर यो बाध्यताको बन्धन तोड्न तयार भएकी छु ।

लाउ खाउ भन्ने उमेरमा जिम्मेवारीको भारि बोके । आफूलाई होइन छोराछोरी समाज र त्यहि श्रीमान सुध्रन्छ कि भनेर प्रतिक्षा गरे । तर श्रीमान सुध्रनुको सट्टा झन प्रतिशोधी भएर आए । जिवन पिडा सहनमात्र होइन बाँच्नलाई पनि हो । तीन दशकको उमेर बाँचे दुःख, पिडा, यातना सहेर । लाग्छ जिवन तीन दशक पुगेपनि भोगाइको जिवन एक दशक बाँचे । धेरै कुराको अनुभव भोगेर जिवन बाँचे ।

जुम्ला बजार,मान्छेहरुको बाक्लो आवतजावत हुन्छ ।हरेक मानिस हतारमा छन् । यहाँ कसैलाई फुर्सद छैन । यहि बस्छु म पनि । कर्म थलो बनाएकी छु । यहि हतार हतार हिड्ने बजारलाई । धेरै सम्झना ,कयौँ भोगाई,अनिदा रात, भोका दिन, कसैले देख्छन् कि भनेर एकान्त कुनामा बसेर आँसु झारेकी छु ।

सन्तान र समाजको लागि हाँसेकी छु ।आफ्ना हजारौ दुःख पिडा लुकाएर अरुको दुःख पिडा र अन्यायमा परेका कथा लेखेकी छु ।सकेसम्म अन्यायमा परेकालाई न्याय दिलाउन पनि सहयोग गरेकी छु ।
कयौलाई बाँच्न साहस दिएकी छु । केहिको भरोसा बनेर उभिएकी छु । कसैको लागि न्यायको धिपधिपे उज्यालो बन्ने कोशिस गरेकी छु । तर मेरोलागि सबै कुरा म आफै हुनु परेको वर्षौ भयो । अझ कति हुनु पर्ने हो थाहा छैन ।
मलाइ जिन्दगीले यस्तो ठाउँमा ल्याइ पुगाएको छ कि आफैले बुझ्न सकेको छैन । कसको नियत कस्तो हुन्छ भन्ने कुराको अड्कल गर्न सकिदो रहेन छ । अहिले १४ वर्षको छोरा र १२ वर्षकी छोरी पनि छन ।जुनसमयमा विवाह भयो,त्यो अन्जानमा भयो ।त्यो सम्बन्ध अहिले समाप्त भइसेकेको छ ।१६ वर्ष सम्मको यो सम्बनध नत सहज रुपमा अगाडि बढेको थियो । नत उसले मलाई प्रश्न गर्ने कहि कतै खोट भेटेको थियो ।

१४ वर्ष कि नाबालीका विवाह गरेर ल्याउदा उ २३ वर्षको थियो । तर आज उसले मलाइ मेरो पेशासंग जोडेर कुरा काट्छ ।उसलाई दुनियाले चिन्ने श्रीमती उसलाई चाहिदैन अनि मेरो पत्रकारीताको पेसा पनि स्वीकारदैन ।उसले पहिले बिहेगरेर ल्याउदा खेरी पनि सबैको अगाडि मलाइ माया गरेको देखाउँथ्यो । त्यतिबेला थाहा भएन उसले मलाइ माया गर्छ या गदैन । बालख्खैमा खोसिएका मेरा खुसी कहिल्यै फर्केनन् ।

जाजरकोट जिल्लाको तत्कालिन टालेगाउ गाँविसमा जन्म लिएर सामान्य गाउँले जीवनमा जन्मे हुर्केकी म जिउनको लागि ठूला सपना केही पनि थिएनन् । तर बिहान बेलुका घाँस दाउरा गरेर दाजु भाउजुको काममा सघाएरै पढे । आठ कक्षा पास गरे । अरुकै ललैमा लागेर बिहे भयो ।

१४वर्षका उम्मेरमै किताब र कापी थन्काएर वैवाहिक बन्धनमा बाँधिए । ठीक के बेठीक के थाहा नै थिएन । थोरै धेरै किताबी ज्ञान थियो । अन्तर जातिय बिहे भएकाले माइती पक्षबाट स्वीकार भएन । जव म १५ वर्षकी भए अनि आमा बने । माइतीमा अभावमा हुर्केको भएर होला रंगीन सपनाहरू पनि कहिल्यै देखिनँ बरू बिहे पछिको आफ्नो जीवन राम्रो बनाउने सोच बनाए । बिहेगरे ल्याएको श्रीमानले हरेक दुःख सुखमा साथ दिन्छ भन्ने लाग्थ्यो । सानो घरलाई मायाको महल बनाउला सोचेर घरधन्दा गर्न तिर लागे । जब म १७ वर्षको पुगे अनि दोस्रो सन्तानको रुपमा छोरी जन्मी ।

मेरो श्रीमान जिप ड्रराइबर थिए । अहिले पनि त्यही पेसामा छन । सूरुका वर्षमा म गाउँ बस्थे उनी जहाँ गाडीलिएर जान्थे त्यही बस्थे । जब म श्रीमान सँगै कोठा लियर बस्ने निधो गरे ।त्यस पछि उनले मसँग राम्रो व्यवहार कहिल्यै गरेन्न । उनले मलाई श्रीमतीको रुपमा भन्दा पनि मलाई काम गर्ने, खाना पकाउने लुगा धुने कामदारको रुपमा व्यवहार गरियो ।
६ रुपैयाँको हिसाव माग्ने श्रीमान
जुम्लाको सिजा भेगमा पर्ने एक केटीसंग उनको सम्बन्ध रहेछ । उनले बिहेगरेको छैन भनेर उससंग अनैतिक सम्बन्ध राखेछन ।
एक दिन माइती गाउँमा मलाई पढाउने शिक्षकसँग फोन गर्न उनको मोबाइल मागे । बिहे गरेर उनी सँग आएको ५ वर्ष जति भइसकेको थियो । तर मेरा उहाँ शिक्षक बाहेक अरु माइतीका दाइभाई कसैसँग फोनमा कुराकानी हुदैन थियो ।
उनले सिम निकालेर मोबाइल छोडेर गएछन । त्यस दिन फोन गर्न पाइन । फेरी साँझ खेरी म बस्ने कोठामा आए अनि मैले भने ,तपाइले सिमकार्ड निकालेर किन मोबाइल दिनु भयो ।उसले जवाफ फर्काउदै भन्यो ए, महिले बिर्सेछु भोली छोडीदिन्छु भनेर । भोली फल्ट मोबाइलमा ६ रुपैया भएको सिम कार्ड छोडेर गाडी चलाउन गए । अनि महिले मेरो माइती गाउँको शिक्षकसंग फोन गरे ।म दिलमाया हुँ  भन्ने बित्तिकै फोन पैसा सकिएर काटियो । त्यसपछि उतै बाट शिक्षकले फोन गर्नु भयो सन्चो बिसन्चो सोध्नु भयो ।
महिले पनि सोधे फोन संम्वांद कियो । त्यसको साँझा मेरो श्रीमानले मलाइ फोन गर्न दिएको मोबाइलमा ६ रुपैयाँ रहेछ । उ साँझ फर्के पछि मलाई ६ रुपैयाँ सकिदिएको भन्दै तथानाम गाली गर्यो ।म त्यो समयमा सात दिनकी सुत्केरी थिए । श्रीमानले ६ रुपैयाँ सक्दा दिएको गालीले ममा आत्म निर्भर हुने सोच आयो । त्यो समयमा अति नै पीडा भयो ।
त्यस पछि मलाइ लाग्यो श्रीमानको भर पर्नु हुदैन । अनि म साढे एक वर्षकी छोरी हुर्काउदै सामुदायिक रेडियोमा काम गर्न सुरु गरे । त्यस पछि रेडियो मार्फत महिला हिंसाका कुरा उठान गर्न सुरु गरे । समाजमा हुने सामाजिक विकृती जस्ता कुरा लेख्न र बोल्न थाले ।
कामदारको रुपमा कोठामा राखीएकी मलाई यसरी लेखेको र बोलेको मेरो श्रीमानलाई पनि मन परेन । विस्तारै मलाई उनले गरेको वेवास्ताले मलाई पनि दिक्क लाग्न थाल्यो । महिला प्रतिको विभेदका लागि परिवार र मात्रै नभएर समाज पनि विभेदपूर्ण छ भन्ने कुरा मैले भोग्दै आएपछि आफै भित्र मुस्कुराउन थालेकी छु । अब त झन मलाई मतलब पनि छैन ।बिहेअघिका सान साना सपनाहरू सबै चकनाचुर भए । अब म मेरा दुई बच्चाको लागी केही सपना देख्न थालेकी छु । म एक्लो हुदा पनी आफै भित्रको छुट्टै संसार देख्न थालेकी छु ।

पत्रकारीता गर्दछु । महिला माथि हुने यस्ता दुव्र्यहार र हिंसाका धेरै समाचार लेख्ने पनि गरेको छु । तर, आफैँले त्यस्तो व्यवहार भोग्नुपर्दा भने सामाजिक मर्यादासहित आफैँ बोल्ने पेसामा भएर पनि के बोलिरहनु भन्ने सोच आउने रहेछ ।

हामी जुन पितृसत्तात्मक समाजमा हुर्किएका हौँ, त्यही समाजको सोचाइलाई हेर्ने हो भने आफैँ केही सोच्न सकिरहेको छैन । जान्दाजान्दै पनि प्रतिवाद गर्न सकिरहेकी छैन । जब घर गएर आफूले आफैँलाई नियाल्छौँ र सोच्न थाल्छु तब मलाई श्रीमानले गरिरहेको अपमान, मानसिक र शारिरीक पिडाले छटपटी हुन्छ ।

मलाई लाग्छ, यहाँका हरेक महिलाले कुनै न कुनै तरिकाबाट यस्ता घरेलु हिंसा भोगेका छन् । भोगीरहेकी होलीन् । तर, उनीहरू यो विषयमा बोल्दैनन् । यो समाज यस्तै हो भनेर यस्तो गम्भीर विषयलाई सजिलै भुल्ने कोसिस गर्छन् । यो सबै सामाजिक परम्परा तथा पितृसत्तात्मक सोचले बाँधिएकाले हामी महिला त्यस्ता व्यवहारलाई नजरअन्दाज गरिरहेका हुन्छौँ ।
परम्परा तथा संस्कारका नाममा हाम्रो समाजमा महिलालाई यसरी बाँधिएको छ कि कुनै गल्ती नभएको अवस्थामा समेत आफ्नै गल्ती पो हो कि भन्ने सोच हाम्रो मनमा आइसकेको हुन्छ । महिला भएकै कारण हामीले कहिलेसम्म हरेक क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हिंसा सहेर बस्नु पर्छ ।
यहाँ आफ्नो समस्या महिलालाई नै सुनाउँदा समेत ‘यस्तो त भइराख्छ, के गर्ने त अब, सहने अनि चुपचाप आफ्नै बाटो लाग्ने हो, बोलेर केही हुनेवाला छैन’ भनिदिन्छन् । अनि, उनीहरूलाई प्रश्न गर्न मन लाग्छ, ‘के हामी महिला भएकै कारण सधैँ कमजोर भएर बस्ने ?’
पुरुष जन्मिदा नै महान् र गल्ती गर्न नसक्ने भएर जन्मिने त होइन होलान ? के सबै परम्परा, संस्कार तथा दुव्र्यहार र हिंसा महिलामाथि नै गर्नु पर्ने हो र ?परिर्वतनको संवाहक र राज्यको चौथो अंग मानिने, भनिने मिडिया क्षेत्रमा कार्यरत रहेर यस्तो अन्या भोग्न बाध्य भइयो । तर संविधान र कानूनमा महिला पुरुषसरह समान छन् ।
छोरी जन्माउनु गलत रहिछ जस्तो लाग्न थाल्यो

बिनागल्ती समाजले ’महिला हो, आफैँ ध्यान दिनुपर्छ’, ’गल्ती उसैको हो, ’ पुरुषले जे गरे पनि छुट पाउँछन् भन्दै महिलालाई होच्याउने तथा यस्ता दुव्र्यहार गर्ने कार्य बन्द हुनुपर्छ । श्रीमानले दिने ‘विना गल्तीका तल्लो स्तरका गाली र यातनले मलाई सारै मन दुखेर आउँछ ।’ ‘जब मनभरी पीडाले भरिंदा रुने ठाउँ कतै हुँदैन शिरकले मुख थुनेर रुनुको पीडा मलाई मात्रै थाहा छ ?’
अनि मेरो कोखबाट जन्मिएकी छोरीको याद आउँछ । सोच्छु छोरी जन्माउनु गलत लाग्न थाल्छ । किनकि कि भोलि गएर मेरो छोरीलाई मैले जस्तो दुःख भोग्न नपरोस् ।‘भगवान छोरी मान्छेलाई अरू केही देऊ या नदेऊ गुनासो छैन, तर असल श्रीमान् देऊ नत्र जिन्दगी नर्कमा बित्छ ।मेरो एक भोगाइले महिलाले शारीरिक र मानसिक रूपमा घरेलु हिंसा कतिसम्म सहनुपर्छ भन्ने एउटा यथार्थलाई प्रस्तुत गर्छ ।

वैवाहिक जीवनको १६ वर्ष गुजारिसकेकी म एक महिलाले स्वतन्त्रता के हो भन्ने कुरा नै बिर्सिसके छु । बाहिर निस्कनु पर्दा कतै आफन्तकोमा जानु पर्ने श्रीमानको अनुमति लिनु पर्ने । श्रीमानको अनुमतिविना घरको केही पनि गर्न नपाइने ।
घरमा पकाउने खानादेखि आफूले लगाउने लुगा र सामानको छनोटमा श्रीमानकै इच्छाबमोजिम चल्नुपर्ने ,“आफ्नो रहर र इच्छा खोज्न थाले श्रीमानले घरबाट निस्कन निर्देशन दिन्छन् । दुई छोराछोरीकी आमा भइसकेकी म सम्बन्ध टिकाउनका लागि आफ्नो सबै इच्छा र चाहना मारेर आफूले जिम्मेवारी निभाइरहेको थिए । अन्तत त्यो सम्बनध टुंगियो नै । महिलाका लागी विवाह साँच्चिकै हिंसा र बन्धनको रूपमा बुझेकी छु ।
पीडा पोख्ने माध्म सामाजिक सञ्जाल
कहींकतै आफ्ना भावना पोख्न ठाउँ नपाएका र नसकेका कारण कामकाजी महिलाले सामाजिक सञ्जाल मार्फत आफ्ना पीडा पोखिरहेके हुन्छन । यस भित्रका कारण फरक–फरक होलान् तर महिलामाथिको हिंसाको सार एउटै छ ।
प्रविधिको पहुँच भएका र पढे–लेखेका हातमा स्मार्ट फोन लिएर हिंड्ने महिलामा त यस्तो समस्या छ भने झन् प्रविधिको पहुँचदेखि टाढा भएका र लेखपढ गर्न नसक्ने महिलाको अवस्था कस्तो होला ?पढे लेखेका र कामकाजी महिला पनि समाज, परिवार र माइतीको इज्जतले आफ्नो पीडा बाहिर ल्याउन नसक्ने र बनावटी हाँसोमा सामाजिक सञ्जालमा दम्पतीको फोटो सजाएर हिंड्न बाध्य महिलाको कहानी झनै डरलाग्दो छ । जहाँ कथित इज्जतले महिलाको अधिकारलाई बन्धक बनाइदिएको छ भने मानव भएर बाँच्ने अधिकारलाई कुण्ठित गरेको छ ।

समाजले खोसेको महिलाको अधिकार
महिला हिंसा घरबाट सुरु हुन्छ । समाजले के भन्ला भन्ने मनोविज्ञानले लुकाउ छन् । महिला माथि हुने सबै किसिमका हिंसा विरुद्ध बोल्दा इज्जत, प्रतिष्ठामाथि आँच आउने डरले महिलालाई चूप लाग्न बाध्य बनाएको छ ।यसकारण महिलाको स्वतन्त्र र हिंसारहित बाँच्न पाउने अधिकार समाजले खोसेको छ ।
पुरुषको गल्तीमा नै मर्द देख्छ
यो समाज पुरुषको गल्तीलाई सम्मान गर्छ । जहाँ पुरुषलाई मर्द देखिदिन्छ जेलनेलभोगेको हुनुपर्छ भनेर साहसीको बिल्ला भिराइदिन्छ । मर्दका छोराले यति गर्नु पर्छ भनेर बहस हुन्छ । महिला भनेको सहनशील र चरित्रवान हुनुपर्छ भनेर सेतो वस्त्रको रूपमा चित्रित गरिदिन्छ ।
वस्त्रमा लागेको दाग देख्ने समाजले वस्त्रमा रङ छ्याप्नेलाई देख्दैन ।कानूनले अपराधीलाई दोषी देखेको छ, तर समाजको व्यावहारिक कानूनले निर्दोष महिलालाई दोषी देख्छ । यदि दोषी नदेख्दो हो त सम्मानजनक नजरले हेथ्र्यो भने कुनै पनि महिला आफ्नै घरभित्र यति धेरै अपमानित र असुरक्षित हुनु पर्दैनथ्यो ।
यदि समाजमा महिलाको सम्मान जनक स्थान थियो भने उनीहरू आफूमाथि भइरहेको अन्याय विरुद्ध निर्धक्क बोल्न सक्थे ।आज पनि हिंसामा परेका महिलाले स्वतन्त्र रूपमा आफ्नो वृत्ति–विकास गर्न पाएका छैनन् ।

विभिन्न संघसंस्थाको आश्रयमा पुगेर आफ्नो रहर र सपनाहरूलाई तिलाञ्जली दिन बाध्य भएका छन् ।हामी धेरै वर्षदेखि कानूनका पानामा महिला अधिकार स्थापितका लागि अक्षरहरू थप्दै छौँ ।तर समाजमा छोरीलाई मानव भएर बाँच्न नदिने संस्कार, सोच र व्यवहारलाई पनि बदल्नुपर्छ भनेर केन्द्रित हुन सकेनौं । कोखदेखि काखसम्म हुने विभेदको मूल जरो पत्ता लगाएर अगाडि बढ्न सकेनौं ।

घरमै छ विभेद
साँझ छोरी ढिला आउँदा सोधी खोजी हुन्छ । छोरीलार्य केही हुन्छ कि भन्ने आमा छोरा ढिला आउँदाको कारण खोज्न कहिल्यै लाग्दैनौ । मेरी छोरी अन्यायमा परिकी भनेर चिन्ता गर्ने समाजले छोरा हिंस्रक हुन्छ कि भनेर चिन्ता गदैनौ ।
छोरालाई सानैदेखि दिइने आवश्यकता भन्दा बढी स्वतन्त्रताभित्र कस्ता कुरा हुर्किएका छन् भन्ने खोजी अझै हुनसकेको छैन । किनभने ऊ छोरा हो, ‘मर्द’ पुरुष हो । उसले बाँच्ने जिन्दगीको २४ घण्टा नै स्वतन्त्र छ । तर छोरी घरभित्र आफन्त भनेका बाट पनि जोगिन गाह्रो छ ।
समाज विकासको क्रमसँगै महिलामा आएको जागरुकताले महिला हिंसा सहेर बस्नुहुँदैन भन्ने केही हदसम्म सचेत बनाएको छ तर अधिकार सबै पुरुषको हातमा भएकाले महिलाहरू अझै पनि विभिन्न हिंसाको शिकारमा परेर निरीह बाँच्न बाध्य छन् ।

 

 

 

सम्बन्धित समाचार