सुर्खेत : उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले उपल्लो डोल्पामा रहेको काञ्जिरोवा हिमाल आरोहण गराउन दुई पटक बोलपत्र आह्वान गरे पनि कसैले आवेदन नदिँदा बजेट फ्रिज भएको छ।
आव ०७८/७९ मा दुई पटक सूचना प्रकाशित गरे पनि इच्छुक कम्पनीको आवेदन नदिँदा हिमाल आरोहण अलपत्र परेको हो। आरोहण दलमार्फत अन्तरराष्ट्रिय जगतमा कर्णालीका हिमाल चिनाउन ६० लाख विनियोजन गरी बोलपत्र आह्वान गरिए पनि निःशुल्क आरोहण गर्नसमेत कुनै पनि पर्वतारोही कम्पनी तथा आरोहण दल तयार नहुँदा उक्त बजेट फिर्ता भएको हो।
मन्त्रालयले नेपालका ८ हजार मिटरभन्दा अग्ला हिमाल चढेको, आरोहण तालिम लिएको र स्वस्थ हुनुपर्नेलगायत मापदण्ड तोकेको थियो। आरोहणमा जाने पर्वतारोही दलले कम्तीमा ८ घण्टाको वृत्तचित्र निर्माण गर्नुपर्ने, सयवटा तस्वीर दिनुपर्ने, १० वडा भिडियो बनाउनुपर्ने र आरोहीले एक वर्षसम्म आफ्ना फेसबुक, इन्स्ट्राग्रामलगायत सामाजिक सञ्जालमार्फत मन्त्रालयलाई मेन्सन गर्नुपर्ने शर्तहरू राखेको थियो।
अघिल्लो वर्ष असफल भएको उक्त कार्यक्रमलाई सरकारले आव ०७९/८० मा पनि निरन्तरता दिएको छ। एकातिर सगरमाथालगायत पूर्वतिरका हिमाल आरोहण गर्ने समय जुध्नु र अर्कातिर आरोहणलाई सार्वजनिक खरिद ऐनअनुसार वस्तु या सेवा कुन मान्नेमा परामर्शदाता दुविधामा परेकाले काञ्जिरोवा आरोहण हुन नसकेको प्रदेश सरकारको भनाइ छ।
डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका–९ मा अवस्थित काञ्जिरोवा ६ हजार ८८३ मिटर अग्लो छ। काञ्जिरोवामा अहिलेसम्म व्यावसायिक आरोहण भएको छैन।ट्रेकिङ र पर्वतारोहणका लागि यो क्षेत्र निकै महत्वपूर्ण रहे पनि प्रचारप्रसारको अभावमा ओझेलमा छ।
डोल्पामा समुद्र सतहबाट ५ हजार मिटरभन्दा माथि बाह्रै महिना हिउँले ढाकिने क्षेत्र पर् । यहाँ ६ हजार मिटर अग्ला धौलागिरी, चुरेन, पुँठा हिमचुली, माउन्ट पुथा हिमचुली, मुकोट हिमाल, डाँफे शैल, अरनिको चुलीलगायत पर्छन्। काञ्जिरोवा सन् १९५० को दशकमा बेलायती अन्वेषक जोन बेयर्ड टाइसनले पत्ता लगाएका थिए।