सिंजाको चाउमिन उद्योगमा आगलागी
जुम्ला : जुम्लामा चाउमिन उद्योगमा आगलागी भएकाे छ । सिंजा गाउँपालिका वडा नम्बर–३ नराकोट बजारमा रहेको चाउमिन उद्योगमा आगलागी भएको हाे ।

शनिबार राति ८ बजेतिर ग्यास लिक हुँदा स्थानीय रत्नलाल बुढाको चाउमिन उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा परेर चाउमिन उद्योगमा काम गर्ने विष्णु बुढा घाइते भएका छन् ।
घाइते बुढाकोे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । आगलागीबाट झन्डै २५ लाख बराबरको क्षति भएको स्थानीय बाबुराज बुढाले बताए ।ग्यास पड्केर चाउमिन उद्योगमा रहेका सबै सामान जलेर नष्ट भएको बताएका छन् ।
उद्योगमा अगलागी हुँदा चाउमिन बनाउने उपकरण, भाँडावर्तन र खाद्यन्न लगायतका सामानमा क्षति भएको छ । मानवीय क्षति भने नभएको बताइएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।