चट्याङबाट पिडित पाँच भेडा कृषकले पाए राहत
जुम्ला : पातारासी गाउँपालिका वडा नम्बर ४लुमका चट्याङ पीडित भेडा गुमाएका पाँच जना कृषकलाई राहत वितरण गरिएको छ । कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा.लेखराज दाहाल,जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्य,प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकहरुलाई राहत वितरण गरेका हुन् ।
कृषकहरुलाई कूल ५ लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ ।
यसमध्ये धर्मसिंह रिउले १ लाख ४४ हजार, सुक रिउले १ लाख ७६ हजार, मान बहादुर रोकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जोरा रोकाया ८० हजार पाएका हुन् ।प्रति भेडाको चार हजार दरले वितरण गरिएको पशु सेवा कार्यलय जुम्ला प्रमुख गोविन्द बहादुर महतले बताए । गत असार १७ गते पातारासी वडा नम्बर ४ मा पर्ने बागजाले पाटनका चट्याङ परि पाँच जना कृषकका ८० वटा भेडा मरेका थिए भने ३ सय भेडा हराएका थिए। राहत वितरण गर्दै भूमि तथा कृषि सहकारी मन्त्रालयका सुर्खेतका सचिव दाहालले किसानले अनिवार्य बीमा गर्नुपर्ने बताए ।