राउटेले बनाएका सामग्री एकै ठाउँबाट बिक्री गरिने

राउटे समुदायले निर्माण गरेका सामग्री बोकेर गाउँ–गाउँ डुल्नुपर्ने बाध्यता हट्ने भएको छ । जिल्लाको गुरासँ गाउँपालिकाले गत असार ३० गते स्थायी परिचय पत्र वितरण गरे संगै उनिहरुले बनाइएका सामग्रीहरु विक्रीका लागि सहजता ल्याउन विक्री कक्ष शुरु गरेको छ । अब राउटे समुदायले निर्माण गरेका सामग्री एउटै छानामुनीबाट विक्री गरिने गुरासँ गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । समुदायले निर्माण गरेका काठका सामग्रीहरु विक्रीका लागि सहजता ल्याउन गाउँपालिकाको वडा नं। ८ को धरमपोखरा बजारमा विक्री कक्षा राखिएको अध्यक्ष ओलीले बताए ।

गुरासँ गाउँपालिका र सोसेक नेपाल दैलेख द्धारा संचालित राउटे परियोजनाको सयुक्त पहलमा सामग्री संकलन र विक्री कक्ष निर्माण गरिएको हो । राउटे समुदायले निर्माण गरेका कोसी, मधुश, आरी जस्ता सामग्रीहरु एकै ठाउँबाट खरिद गर्न सकिने सोसेक दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापाले बताए । उनका अनुसार राउटे समुदायले निर्माण गरेका सामग्रीहरु कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर र काठमाण्डौमा समेत संकलन र बिक्री कक्ष बनाउने योजना अघि सारिएको छ ।

राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिकाको गर्चामा रहेको पातलेखोला किनारमा बसोबास गर्दै आएका छन् । नेपालको लोपोन्मुख जातिको नाममा सूचीकृत यो जाति एउटै ठाउँमा बसोबास गर्दैन । एउटै ठाउँमा बसोबास गर्नाले फोहोर भई बिरामी हुने डरले केही महिनापछि छोडेर जाने यो जातिको चलन नै हो ।

राउटे परम्परामा कोही मान्छे मर्ने बित्तिकै ठाउँ छाड्ने चलन छ । एउटै ठाउँमा बसोबास गर्दा कुकाठ पनि सकिने, काठबाट बनाइएका कोसी, मधुश, आरी र खाटले बजार नपाउने हुँदा राउटे एक ठाउँ हँुदै अर्को ठाउँ सर्ने गर्छन् । जंगलमा पाइने कुकाठबाट बनाइएका कोसी, मधुश, आरी र खाट जस्ता काठमा सामग्रीहरु विक्री गर्ने राउटेको मुख्य पेशा हो । आफुले बनाएका सामग्रीहरु विभिन्न गाउँ तथा बजारहरुमा पुगेर अन्नसंग सामान साट्ने उनीहरुको दैनिकी हो ।

सम्बन्धित समाचार