नन्दप्रसाद न्यौपानेको सरुवा रोक्न ज्येष्ठ नागरिक र योग साधना केन्द्रको माग


जुम्लाः आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्लामा कार्यरत वैद्य निरीक्षक (अधिकृत छैटौं तह) नन्दप्रसाद न्यौपानेको सरुवा निर्णय पुनर्विचार गरी तत्काल रोक्न ज्येष्ठ नागरिक संघ, चन्दननाथ योग साधना केन्द्र लगायत विभिन्न सरोकारवाला पक्षले माग गरेका छन्।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतले २०८३ साल भदौ १५ गते गरेको सरुवा निर्णय अनुसार न्यौपानेलाई जुम्ला बाट अन्यत्र सरुवा गर्ने निर्णय भएको हो। उक्त निर्णय प्रति असन्तुष्टि जनाउँदै ज्येष्ठ नागरिक संघ जिल्ला कार्यसमिति जुम्ला र चन्दननाथ योग साधना केन्द्रले जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत मन्त्रालय समक्ष छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका हुन ।


ज्येष्ठ नागरिक संघका अध्यक्ष भुवानि प्रसाद न्यौपानेले जुम्लामा ज्येष्ठ नागरिकलाई लक्षित गरी निःशुल्क आयुर्वेद स्वास्थ्य तथा औषधि सेवा सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नन्द प्रसाद न्यौपानेलाई सरुवा गरेको प्रति दुख ब्यक्त गरेका छन । उनका अनुसार उनले ज्येष्ठ नागरिक संघमा निःशुल्क आयुर्वेदिक फार्मेसी स्थापना गर्नुका साथै स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण, व्यक्तिगत सरसफाइ तथा हाइजिन व्यवस्थापन जस्ता सेवा उपलब्ध गराउँदै आएका थिए ।

त्यस्तै, विभिन्न स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गरी ज्येष्ठ नागरिक सम्बन्धी कार्यक्रम सञ्चालनमा समेत न्यौपानेले योगदान पु¥याउँदै आएको उनको भनाइ छ। एक जना दक्ष प्राविधिक मार्फत आयुर्वेद स्वास्थ्य सेवा तथा हाइजिन मेन्टेनरमार्फत दाह्री ,कपाल काट्ने, नङ काट्ने, मसाज गर्ने र व्यक्तिगत सरसफाइ कायम गर्नेजस्ता सेवा उपलब्ध गराइएको जनाइएको छ।

आर्थिक तथा सामाजिक रूपमा कमजोर ज्येष्ठ नागरिकलाई स्वास्थ्य तथा औषधि सेवा सहज रूपमा उपलब्ध गराउन न्यौपानेले महत्वपूर्ण भूमिका खेलेको भन्दै जेष्ठ नागरिक संघले सरुवा निर्णय पुनर्विचार गर्न माग गरेको हो। साथै, गार्डेन फार्मेसी स्थापना गरी औषधिजन्य जडीबुटी तथा वनस्पतिको उत्पादन, संरक्षण र उपयोगमा समेत उनले योगदान दिएको उनीहरुको भनाइ छ।


त्यस्तै चन्दननाथ योग साधना केन्द्र जुम्लाले पनि न्यौपानेको सरुवा रोक्न माग गरेको छ। केन्द्रले न्यौपानेको सरुवा निर्णय पुनर्विचार गर्न माग गर्ने निर्णय गरेको हो। चन्दननाथ योग साधना केन्द्र जुम्लाका अनुसार न्यौपानेले विगत चार वर्षदेखि दैनिक बिहान ५ बजेदेखि ७ बजेसम्म स्वयंसेवकका रूपमा योग तथा ध्यान प्रशिक्षण दिँदै आएका थिए । जिल्लाका विभिन्न स्थानबाट आउने साधक–साधिकालाई योग, ध्यान तथा साधना सम्बन्धी प्रशिक्षण दिँदै आएका न्यौपाने योग सधना केन्द्रका मुख्य प्रशिक्षक तथा गुरुका रूपमा सक्रिय रहेको केन्द्रले जनाएको छ।

न्यौपानेको नेतृत्वमा केन्द्रको भौतिक संरचना निर्माण लगायतका काम समेत अघि बढेको भन्दै उनको अनुपस्थितिमा योग तथा ध्यान साधनाको नियमित गतिविधिमा असर पर्ने केन्द्रको निष्कर्ष छ। उनीहरुको बैठकको उनलाई जुम्लामै कार्यरत रहने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयमार्फत सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेतलाई अनुरोध गर्ने निर्णय गरेको छ।

चन्दननाथ योग साधना केन्द्रका अध्यक्ष जानदेवी कठायतको अध्यक्षतामा बसेको बैठकमा सहभागी साधक–साधिकाले समेत न्यौपानेको सरुवा निर्णयप्रति पुनर्विचार गर्न माग गरेका थिए।
ज्ञापनपत्र बुझ्दै जुम्लाका प्रमुख जिल्ला अधिकारी तेज प्रकाश प्रसाईंले प्राप्त मागपत्र तत्काल सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

ज्येष्ठ नागरिक तथा योग साधना केन्द्रका प्रतिनिधिहरूले कर्मचारीको सरुवा सामान्य प्रशासनिक प्रक्रिया भए पनि न्यौपानेले जुम्लामा स्वास्थ्य, ज्येष्ठ नागरिक सेवा तथा योग साधनाका क्षेत्रमा पु¥याउँदै आएको योगदानलाई ध्यानमा राखेर सरुवा निर्णय पुनर्विचार गर्नुपर्ने बताएका छन्।

उनीहरूले न्यौपानेलाई आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्लामै कार्यरत रहने व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयसँग आग्रह गरेका छन्। ज्येष्ठ नागरिकको सम्मान र कदर गरौँ, सेवामा समर्पित कर्मचारीको सरुवा पुनर्विचार गरौँ” भन्ने भावनासहित सरोकारवालाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। यता आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्लामा कार्यरत वैद्य निरीक्षक (अधिकृत छैटौं तह) नन्दप्रसाद न्यौपानेले सरुवा एउटा प्रक्रिया भएको बताए। उनले मैले गरेको सेवाले यहाका जेष्ठ नागरिक र योग साधना केन्द्र लगायत सरोकारवाला निकायले धेरै सम्मान गरेको बताए। उनले उहाहरुको म प्रति गरेको बिश्वासले मलाई धेरै सेवा गर्ने प्रेरेणा मिलेको छ ।