काठमाडौबाट इन्टर्नसिपमा जुम्ला आएका विद्यार्थीबाट विपन्न विद्यार्थी र विद्यालयलाई शैक्षिक सामग्री सहयोग
जुम्ला :काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्टबाट इन्टर्नसिपका लागी जुम्ला आएका विद्यार्थीले रत्नचुण्डेश्वर माध्यमिक विद्यालय, बोहरागाउँमा अध्यायनरत विद्यार्थी तथा विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरिएको छ।
काठमाडौं विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टबाट इन्टर्नसिपका लागि विद्यालयमा आएका संजिता भुषाल र श्रीजा पराजुलीको पहल तथा विभिन्न दाता तथा संघसंस्थाको सहयोगमा करिब १५० जना विद्यार्थीलाई ज्याकेट, झोला तथा शैक्षिक सामग्री वितरण गरिएको हो।
प्रारम्भिक बाल विकास केन्द्रदेखि कक्षा ८ सम्म अध्ययनरत बालबालिकालाई ज्याकेट, ३० जना विपन्न विद्यार्थीलाई झोला तथा कक्षा ९ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ। त्यस्तै, विद्यालयको ई–लाइब्रेरीका लागि पुस्तक, सरसफाइका सामग्री तथा खेलकुदका सामग्रीसमेत सहयोग गरिएको छ।
‘प्रोजेक्ट सम्बर्धन’ कार्यक्रमअन्तर्गत गरिएको सहयोगमा मामु छोरी फुड इन्डस्ट्रिज मुख्य प्रायोजक रहेको थियो। आमाका आचारको सहयोगमा शैक्षिक सामग्री, मुमा छोरी फुड इन्डस्ट्रिजको सहयोगमा ज्याकेट तथा निमा पुस्तक पसलको सहयोगमा शैक्षिक तथा खेलकुदका सामग्री उपलब्ध गराइएको बताइएको छ। कार्यक्रममा प्रिमियर स्टिल, एसियन पेन्ट्स, जेन–जी, रोट्र्याक्ट दाङ, ह्वाइट मिलरलगायत विभिन्न संघसंस्था तथा व्यवसायिक प्रतिष्ठानले समेत सहयोग गरेका थिए।
जुम्लामा काष्ठाको समन्वय तथा काठमाडौं विश्वविद्यालयबाट म्यानेजमेन्टबाट इन्टर्नसिपका लागी आएका विद्यार्थीमार्फत विद्यालयमा लुगा, झोला तथा शैक्षिक सामग्री वितरण गरिएको अध्यक्ष डा. कलबहादुर रोकायाले जानकारी दिए।
उनका अनुसार विपन्न तथा जेहेन्दार विद्यार्थी अध्ययनरत विद्यालयमा इन्टर्नका लागि काठमाडौं विश्वविद्यालयका विद्यार्थी पठाउने र उनीहरूमार्फत विद्यार्थीलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो।
विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीले जाडो मौसममा प्रयोग गर्न मिल्ने ज्याकेटसहित आवश्यक शैक्षिक सामग्री पाएपछि राहत महसुस गरेका छन्।
विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर रोकायाले इन्टर्नका लागि विद्यालयमा आएका विद्यार्थी तथा सहयोग गर्ने सबै दाता, संघसंस्था र व्यवसायिक प्रतिष्ठानप्रति धन्यवाद व्यक्त गरे। उनले विद्यालयका विद्यार्थीका लागि पुस्तक, सरसफाइका सामग्री, ज्याकेट, झोला तथा शैक्षिक सामग्री प्राप्त हुनु महत्वपूर्ण सहयोग भएको बताए।
काठमाडौं विश्वविद्यालय, स्कुल अफ म्यानेजमेन्टबाट इन्टर्नसिपका लागि जुम्लाको रत्नचुण्डेश्वर माध्यमिक विद्यालय, बोहरागाउँमा आएका दुई विद्यार्थीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै विपन्न विद्यार्थी तथा विद्यालयलाई शैक्षिक सामग्री सहयोग गरेका छन्।
श्रीजा पराजुली र सञ्जिता भुसाल कर्णाली दिगो विकास प्रतिष्ठान (कास्डा)को सहजीकरणमा भाद्र ३ गतेदेखि भाद्र १६ गतेसम्म विद्यालयमा इन्टर्नसिपका क्रममा विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए।
इन्टर्नसिप सम्पन्न गरी भाद्र १७ गते उनीहरूलाई बिदाइ गर्ने क्रममा कास्डाको सहजीकरणमा विभिन्न दाताहरूबाट प्राप्त सामग्री विद्यार्थी तथा विद्यालयलाई वितरण गरिएको हो।
सो सामग्रीहरू काष्ठा अध्यक्ष डा. कलबहादुर रोकाया, इन्टर्नसिपमा आएका विद्यार्थी श्रीजा पराजुली र सञ्जिता भुसाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन न्यौपाने तथा विद्यालयका प्रधानाध्यापक कृष्ण रोकायालगायतको उपस्थितिमा विद्यार्थी तथा विद्यालयलाई वितरण गरिएको हो।
इन्टर्नसिपका क्रममा विद्यार्थीहरूले विद्यालयमा सञ्चालन गरेका विभिन्न गतिविधि र सामग्री सहयोगले विद्यार्थीको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा थप सहयोग पुग्ने विद्यालयको अपेक्षा छ।भने विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी गरिएको यस किसिमको सहयोगले उनीहरूको अध्ययनमा केही राहत पुग्नुका साथै विद्यालयको शैक्षिक वातावरण सुधारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।









