इन्टरनेट नचल्दा चौरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण, ५२ जनाले पाए सेवा
जुम्ला : जुम्लाको कनकासुन्दरी गाउँपालिकाका दुर्गम बस्तीमा इन्टरनेट सेवा अवरुद्ध हुँदा नागरिकले पाउने सरकारी सेवा प्रभावित बनेको छ। वडा कार्यालयमा जडान गरिएको इन्टरनेट सेवा एक सातादेखि अवरुद्ध भएपछि सामाजिक सुरक्षा भत्ताको वार्षिक नवीकरण गर्न वडा कार्यालय पुगेका ज्येष्ठ नागरिक, बालबालिका तथा अन्य सेवाग्राही थप सास्तीमा परेका थिए।
भौगोलिक विकटताका कारण सामान्य सरकारी सेवा लिनसमेत घण्टौँ हिँड्नुपर्ने बाध्यता रहेको यस क्षेत्रमा इन्टरनेट अवरुद्ध भएपछि समस्या झनै जटिल बनेको हो। सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि वडा कार्यालयसम्म पुग्न स्थानीयलाई आउन–जान मात्रै तीनदेखि चार घण्टा समय लाग्ने गरेको छ। त्यसमाथि कार्यालय पुगेपछि पनि इन्टरनेट नचल्दा काम नहुने अवस्था आएपछि सेवाग्राही निराश भएर फर्किनुपर्ने अवस्था सिर्जना भएको थियो।
नागरिकको यही समस्यालाई मध्यनजर गर्दै वडा कार्यालयले वैकल्पिक उपाय अपनाएको छ। नेपाल टेलिकमको फाेरजी सेवा सञ्चालन हुने स्थान खोज्दै वडा कार्यालयको टोली ओखरपाटाको धह चौर पुगेको हो। वडा कार्यालयबाट करिब दुई घण्टाको दूरीमा रहेको उक्त चौरमा पुगेर वडा सचिवसहितको टोलीले सामाजिक सुरक्षा भत्ता नवीकरणको सेवा दिन थालेको छ।
पहिलो दिन मात्रै ५२ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको वडा कार्यालयले जनाएको छ। वडा सचिव जयबहादुर बुढाका अनुसार नवीकरण गराउनेमध्ये ४० जना ज्येष्ठ नागरिक, ८ जना बालबालिका तथा ४ जना अपाङ्गता भएका व्यक्ति र एकल महिला रहेका छन्।
दुर्गम बस्तीका नागरिकका लागि सामाजिक सुरक्षा भत्ता केवल सरकारी सुविधा मात्र नभई दैनिक जीवन धान्ने महत्वपूर्ण आधारसमेत हो। त्यसैले नवीकरणका लागि पटक–पटक वडा कार्यालय धाउनुपर्ने अवस्था आउँदा विशेषगरी ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त सेवाग्राहीलाई बढी समस्या हुने गरेको छ।
धह चौरमै पुगेर सेवा लिएका स्थानीय ज्येष्ठ नागरिक चन्दबिरे बुढाले गाउँ नजिकै सेवा पाउँदा निकै सहज भएको बताए। वडा कार्यालयसम्म पुग्न लाग्ने समय, बाटोको कठिनाइ र आउजाउको खर्चसमेत बचत भएको उनको भनाइ छ।
कर्णालीका दुर्गम बस्तीमा भौगोलिक दूरीसँगै सञ्चार र प्रविधिको पहुँच अझै पनि नागरिक सेवाको महत्वपूर्ण चुनौती बनेको छ। डिजिटल प्रणालीमार्फत सेवा प्रवाह गर्ने सरकारी नीति भए पनि भरपर्दो इन्टरनेट सेवा नहुँदा त्यसको प्रत्यक्ष असर नागरिकमै पर्ने गरेको स्थानीयको गुनासो छ।
इन्टरनेट सेवा अवरुद्ध हुँदा सेवा नै रोक्नेभन्दा वैकल्पिक माध्यमबाट भए पनि नागरिकलाई सेवा दिने प्रयास गरेको वडा कार्यालयको भनाइ छ। इन्टरनेट सेवा चाँडै सुचारु गराउन पहल भइरहेको र सेवा सुचारु नहुँदासम्म आवश्यकताअनुसार ४–जी सेवा उपलब्ध हुने स्थानमा पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरणलगायतका सेवा सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ।
दुर्गम बस्तीका नागरिकलाई सरकारी सेवा लिन कार्यालयसम्म बोलाउनेभन्दा राज्यका संयन्त्र नागरिकको घरदैलोमा पुग्नुपर्छ भन्ने उदाहरण धह चौरमा पुगेको वडा कार्यालयको टोलीले प्रस्तुत गरेको छ।









