रसुवा बाढीमा बेपत्ता भएका पातारासीका परिवारको डीएनए परीक्षण, पीडितलाई राहतसँगै मनोसामाजिक परामर्श
जुम्ला : रसुवामा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका जुम्लाको पातारासी गाउँपालिकाका नागरिकका परिवारलाई साथ दिन जुम्ला प्रशासनसहित स्वास्थ्यकर्मी र सरोकारवालाको टोली गाउँमै पुगेको छ। बेपत्ता व्यक्तिको पहिचानका लागि डीएनए परीक्षणगर्नुका साथै पीडित परिवारलाई राहत तथा मनोसामाजिक परामर्शसमेत प्रदान गरिएको हो।
जुम्लाका प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंको नेतृत्वमा जनस्वास्थ्य सेवा कार्यालयका स्वास्थ्यकर्मी, आवश्यक स्वास्थ्य जनशक्ति तथा मनोपरामर्शदाता सहितको टोली पातारासी गाउँपालिकामै पुगेर बेपत्ता व्यक्तिका परिवारको डीएनए परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो।
बाढीमा आफन्त गुमाउने पीडा र अझैसम्म बेपत्ता रहेका परिवारको अनिश्चितताबीच प्रशासनको टोली गाउँमै पुगेपछि पीडित परिवारलाई केही राहतको अनुभूति भएको छ। आफन्तको अवस्था थाहा नहुँदा दिनरात पीडामा रहेका परिवारलाई प्रशासनले आवश्यक सहयोग र साथ दिने प्रतिबद्धता जनाएको छ।
प्रमुख जिल्ला अधिकारी प्रसाईंले पातारासी गाउँपालिकालाई बाढी प्रभावित तथा बेपत्ता परिवारको यथार्थ विवरण तीन दिनभित्र उपलब्ध गराउन अनुरोध गरेका छन्। उनले प्रभावित परिवारको संख्या, उमेर, पारिवारिक अवस्था तथा उनीहरूको वर्तमान अवस्थासहितको तथ्यांक व्यवस्थित रूपमा संकलन गरी प्रशासनलाई उपलब्ध गराउन आग्रह गरेका हुन्।
वास्तविक पीडित परिवार पहिचान गरी राहत, स्वास्थ्य उपचार, मनोसामाजिक परामर्श तथा अन्य आवश्यक सहयोग प्रभावकारी रूपमा पुर्याउन तथ्यांक आवश्यक रहेको प्रसाईंको भनाइ छ।
प्रमुख जिल्ला अधिकारी प्रसाईंले अभियन्ता युवा उपेन्द्र बुढ्थापा लगायतका युवाले संकलन गरेको खाद्यान्न तथा हुम्ला, पातारासी र गुम क्षेत्रलगायत विभिन्न स्थानका मनकारी व्यक्ति तथा व्यवसायीबाट प्राप्त नगद रकम पीडित परिवारलाई हस्तान्तरण गरेका छन्।
उनले विपद्को यस दुःखद घडीमा पीडित परिवार एक्लो नरहेको बताउँदै जिल्ला प्रशासन र सबै सरोकारवाला निकाय पीडितको साथमा रहेको बताए। “दुःखेको यो घडीमा प्रशासन सधैँ पीडित परिवारको साथमा रहनेछ,” प्रसाईंले भने।
उनका अनुसार पातारासी गाउँपालिकाले तत्कालको लागी प्रतिव्यक्ति रु. ३० हजार राहत उपलब्ध गराएको छ। त्यसैगरी सामाजिक तथा मानवीय भावनाका साथ विभिन्न व्यक्ति तथा व्यवसायीबाट संकलित रु. ५ लाख ७७ हजार ४ सय १७ रुपैया जम्म बाढीमा परी बेपत्ता भएका पातारासीका परिवारलाई तत्काल प्रतिपरिवार रु. ४१ हजारका दरले गदत वितरण गरिएको छ।
मानवीय सहयोगको हात
मानवीय संवेदनाले जुटेको उक्त सहयोगमा पातारासी गाउँपालिका–२ का जंगविर बोहराले सबैभन्दा बढी रु. १ लाख ११ हजार १ सय ११ सहयोग गरेका छन्। बोहराले आफु सहित पिडितको घाउमा मलम लगाउनका लागी २३ जना ब्यक्त बाट सहयोग संकलन गरेका हुन । त्यसैगरी राम चन्द्र पौडेल, कृष्णबहादुर पुन र छिरिङ फुन्जो लामाले जनही रु. ५० हजार १ सय ११ सहयोग गरेका छन्।
त्यस्तै छबिलाल लामाले रु. ३५ हजार, कुन्जाङ टसी लामाले रु. ३० हजार, कैलाश चन्द्र शर्माले रु. २५ हजार ५, तेजबहादुर बम, धुर्बकुमार बैज्य र फुन्जोक लामाले जनही रु. २५ हजार सहयोग गरेका छन्।
ग्याला लामा, पामा लामा र उर्गेन तामाङले जनही रु. २० हजार, सर्किल जस्पाटले रु. १५ हजार, कर्मी तुङ्गु लामाले रु. १० हजार ९ सय ५०, सूर्य कठायत (सूर्य साउजी) ले रु. १० हजार १ सय २५ र विजय लामाले रु. १० हजार १ सय ११ सहयोग गरेका छन्।
त्यसैगरी पेमा छिरिङ लामा र गुनराज घिमिरेले जनही रु. १० हजार, कुन्साङ लामाले रु. ७ हजार ७ सय ७७, जयबहादुर कठायतले रु. ७ हजार, नैसाङ नुर्बु तामाङले रु. ५ हजार ५ र पूर्णबहादुर रोकायाले रु. ५ हजार सहयोग गरेका छन्।
यसरी विभिन्न ठाउँमा रहेका २३ जना व्यक्ति तथा व्यवसायीबाट संकलित कुल रु. ५ लाख ७७ हजार ४ सय १७ रकम पातारासीका बाढीपीडित परिवारका लागि जुटेको हो।
अभियन्ता उपेन्द्र बुढ्थापा लगायत युवाहरूको टोलीले चामल, तेल, बालबालिकाका चप्पल, कपडा, चिउरा, भुजा, बिस्कुट, चाउचाउलगायतका खाद्य तथा आवश्यक सामग्री संकलन गरी गाउँपालिकामार्फत पीडित परिवारलाई हस्तान्तरण गरेको छ।
त्यस्तै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जुम्लाले हरेक वर्ष बाढी, चट्याङ, आगलागीलगायतका विपद्का कारण मानवीय क्षति व्यहोर्दै आएको तीतो यथार्थ सुनाए।
उनले यसपटक रसुवामा आएको बाढीले पातारासीका परिवारमा ठूलो मानवीय क्षति र पीडा थपेको बताए। पीडित परिवारलाई सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको भन्दै उनले दुःखको घडीमा मन बलियो बनाउन र पीडालाई शक्तिमा बदल्दै अघि बढ्न आग्रह गरे।
पातारासीमा ६३ जना अझै सम्पर्कविहीन
पातारासी गाउँपालिकाका अनुसार रसुवामा आएको बाढीमा परी हालसम्म पातारासीका ६३ जना सम्पर्कविहीन रहेका छन्। आफ्ना आफन्तको अवस्था अज्ञात रहँदा उनीहरूका परिवार गहिरो पीडा र प्रतीक्षामा छन्।
गाउँपालिका अध्यक्ष पूर्ण सिङ बोहोरा र उपाध्यक्ष जनमाया रोकायाले बाढीपीडितका लागि आवश्यक कानुन निर्माण गरी राहत तथा सहयोगलाई व्यवस्थित बनाउने बताएका छन्।
उनीहरूले जुम्लाका अन्य स्थानीय तह, विभिन्न सहयोगी संस्था तथा व्यक्तिबाट प्राप्त हुने सहयोगलाई एकद्वार प्रणालीमार्फत संकलन र वितरण गर्ने तयारी भइरहेको जानकारी दिएका छन्।
रसुवाको बाढिले पातारासीका परिवारको जीवनमा गहिरो शोक र पीडा छोडेको छ। बेपत्ता आफन्त फर्किने आशा बोकेर बसेका परिवारका लागि डीएनए परीक्षण, राहत र मनोसामाजिक परामर्शले तत्कालीन पीडामा केही सहारा दिने अपेक्षा गरिएको छ। तर, उनीहरूका लागि सबैभन्दा ठूलो राहत भनेको बेपत्ता आफन्तको अवस्था पत्ता लागाई सत्यतथ्य सार्वजनिक गरिदिन पिडित परिवारले सरकार संग माग गरेका छन ।








