सहकारीमा महिला सहभागिता बढ्दै

दोलखा : विभिन्न उद्धेश्यका साथ अहिले दुरदराजका गाउँसम्म सहकारी संस्थाहरु स्थापना हुने क्रम दोलाखामा बढेको छ । प्राय गाउँमा सञ्चालनमा आएका कृषि, महिला, स्वास्थ्य जस्ता धेरै सहकारीमा सदस्यताको संख्या वा नियमित बचत गर्नेको संख्या हेर्ने हो भने महिलाहरु नै बढी भेटिन्छन् ।
जिल्लाको कुनैपनि सहकारी संस्थाको साधारण सभा होस् वा अन्य कार्यक्रम, त्यहाँ पनि महिलाहरुको सहभागिता पुरुषको भन्दा बढी नै देखिन्छ । कार्यक्रमको त्यो भिडमा किशोरीदेखि जेष्ठ नागरिक महिलाहरुको समेत सक्रिय सहभागिता देख्न सकिन्छ । स्थानीय गाउठाँउमै सहकारीहरुले महिला लक्षित विभिन्न तालिम, गोष्ठी र जनचेतनामुलक कार्यक्रम संचालन गरिरहने भएका कारण पनि महिलाहरुको सहभागिता बढेको बताइन्छ ।
नेतृत्व विकास र बचत गर्ने बानी
सहकारीमा सदस्य बनेपछि दोलखाका महिलाको बचत गर्ने बानी बसेको छ । आवश्यक पर्दा सानोतिनो समस्या टार्न सहयोग पनि गरेको दोलखाकी लक्ष्मी थामीको भनाइ छ । प्राय जसो चुलोचौकोको काम र घरगोठको काममा नै दैनिकी बिताउने हामीलाई सहकारीमा आवद्ध भएपछि कार्यसमिति, उपसमितिमा रहेर ब्यक्तित्व विकास गर्ने अवसर पनि प्राप्त भएको थामीको भनाइ छ ।
उहाँ भन्नुहन्छ,मासिक रुपमा सहकारीमा बचत गर्नुपर्ने भएपछि अन्य खर्च कटाएर पनि बचतको लागि राख्छु, त्यसरी सय, दुइ सय गर्दे गरेको बचत अहिले २५ हजारसम्म पुगेको छ, अव त्यो समस्या परेको बेलामा चलाउन सकियो ।९ स्थानीय तह रहेको दोलखामा ५ सय २ सहकारी सञ्चालनमा छन् । उक्त सहकारीमा आवद्ध करिव १ लाख ८० हजार सदस्यमध्ये ५६ प्रतिशत महिला सदस्य रहेको जिल्ला सहकारी सघं दोलखाको तथ्यांकले देखाएको छ । जिल्लामा एक जिल्ला सहकारी सघं र ५ वटा विषयगत जिल्ला सघं रहेका छन् ।
जिल्ला सहकारी सघं दोलखाका अध्यक्ष हेमन्त चौलागाईका अनुसार सहकारीमा रोजगारी पाउनेको संख्या पनि पुरुषको भन्दा महिलाको बढी नै रहेको छ । सहकारीमा आवद्ध भएपछि महिलाहरु हरेक कुरामा सक्रिय हुनुका साथै रोजगारीले गर्दा आयआर्जन वृद्धि गर्न मद्धत गरेको उहाँले बताउनुभयो । वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या धेरै भएकाले
पनि सहकारीमा महिला सदस्यता बढेको हुनसक्ने उहाँको भनाइ छ ।
सहकारी विभागको नयाँ अध्ध्ययन प्रतिवेदनले पनि नेपालको सहकारी क्षेत्रमा पुरुषको भन्दा महिलाको सहभागिता बढी भएको देखाएको छ । विभाागले २०७७ साउनमा गरेको एउटा अध्ध्ययन प्रतिवेनअनुसार नेपालमा कुल २९,८८६ वटा सहकारी सञ्चालनमा छन् । ती संस्थामा आवद्ध सदस्यताको संख्या हेर्ने हो भने महिला ५६ प्रतिशत र पुरुष ४४ प्रतिशत रहेको छ ।
ऋण लिनेमा महिला भन्दा पुरुष बढी
सदरमुकामदेखि ग्रामिण क्षेत्रसम्म सहकारी संस्था स्थापना हुने क्रम बढेसँगै त्यसमा बचत गर्ने महिलाको संख्या बढ्दो रहेपनि धेरै ऋण लिने र अन्य सेवा सुविधा लिनेमा भने पुरुषकै संख्या बढी रहेको पाइएको छ । महिलाहरुले नियमित बचत अनुसार ऋण पाउने गरेपनि धेरै ऋण लिन धितो राख्नुपर्ने हुँदा आफूहरुको नाममा घर, जग्गा, वा सम्पत्ति नहुँदा ऋण पाउन नसकिरहेको उनीहरुको गुनासो छ ।
प्राय गाउँमा सञ्चालनमा आएका कृषि, महिला, स्वास्थ्य जस्ता धेरै सहकारीमा सदस्यताको संख्या वा नियमित बचत गर्नेको संख्या हेर्ने हो भने महिलाहरु नै बढी भेटिन्छन् । महिलाहरु आफ्नो खर्च कटाएर हुन्छ वा बच्चाको खाजा खर्चबाट बचाएर पनि सहकारीमा नियमित रुपमा बचत गर्ने गर्छन् तर उनीहरुले त्यसबाट पाउने सेवा सुविधा र सहुलियत ऋण भनेजति पाउन नसकेको गुनासो उनीहरुको छ ।
त्यस्तै भिमेश्वर नगरपालिका १ दोलखाकी सविता थामी भन्नुुहुन्छ, समस्या पर्दा केही सहयोग हुन्छ कि भनेर बचत गर्छु, तर ऋण भनेजति पाउँदैनौँ, बढीमा पायौँ भने ५०, ६० हजार मात्र हो, त्यो पनि बचत अनुसार पाइन्छ, धेरै लिन पर्यो भने त धितो खोज्छन्, आफ्नो नाममा केही सम्पत्ति हुन्न अनि ऋण दिन मान्दैनन् ।
सोही ठाउँकी मसिनी थामी भन्नुहुन्छ, महिनापच्छिे बचत गर्ने हामी, अनि कतिपय सहकारीमा त नियमित बचत अनुसार ऋण लिन जाँदा पनि श्रीमानको सही चाहिन्छ, अझ ऋण लिने बेलामा श्रीमान अनिवार्य रुपमा लिएर जानुपर्छ, पछि तिर्न सक्दैन भनेर त्यस्तो गर्छन् ।
सहकारीमा संगठित भएर ऋण लिने क्रम शुरु भएपछि स्थानीयबासीको जीवनस्तरमा सुधार त आएको छ नै तरपनि महिलाहरुले आफूले चाहेअनुसार लगानी गर्न वा ब्यवसाय गर्न ऋण लिनुपरेमा भने चुनौती रहेको उनीहरु बताउँछन् ।
धेरै ऋण लिन धितो राख्नुपर्ने हुँदा प्राय महिलाहरुले कि त पुरुषको सहायता लिएर या त पुरुषकै नाममा ऋण लिनुपर्ने बाध्यता रहेको परोपकार महिला सहकारी संस्थाकी अध्यक्ष सर्मिला सापकोटाको भनाइ छ । उहाँ भन्न्नु हुन्छ , सम्पत्तिमा महिलाको पहुँच कम छ, यो हाम्रो देशको नै समस्या हो, तथापि मन्जुरीनामा लिएर हुन्छ कि अर्को ब्यक्ति साक्षी लिएर हुन्छ गर्न त सकिन्छ, तर महिलाहरुलाई ऋण लिन भने धेरै समस्या र झन्झटिलो छ ।’ महिलाको नाममा नै स्थापना गरिएका कतिपय सहकारीमा समेत ब्यवसाय गर्न अली बढी ऋण लिन परेमा विनाधितो ऋण लिन समस्या छ ।
नेतृत्व तहमा महिला पुग्न जरुरी
विभिन्न सेवा दिने भन्दै स्थापना भएका सहकारीले बिनाधितो ऋण उपलब्ध गराउने ब्यवस्था गरेमा पैसाको अभावमा हात खुम्च्याएर बस्न बाध्य महिलाहरुले व्यवसाय सञ्चालन गरी आयआर्जनको बाटो रोज्न सक्ने उनीहरु बताउँछन् । सहकारीको नेतृत्व तहमा पनि महिलाको उपस्थिति बढाउन सके त्यसले अझै धेरै महिलाहरुलाई सहकारीमा जोडिएर लाभान्वित हुने अवसर प्राप्त गर्न सकिने महिला अधिकारीकर्मीहरु बताउँछन् भने अन्य ठाउँमा जस्तै सहकारीको नेतृत्व तहमा पनि ३३ प्रतिशत महिलाको सहभागिता हुनुपर्नेमा उनीहरुको जोड छ ।








