नेपाली कांग्रेस र नेकपा माओवादी पार्टीका समावेशीको एजेन्डा कागजमै सिमित
जुम्ला —नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय सरकारमा महिलाको कार्यकारी भूमिका सुनिश्चित गर्नु पर्नेमा जोड दिँदै प्रदेश समितिलाई गत चैत २८ गते परिपत्र पठाएका थिए । तर त्यो परिपत्रमा विजयको सम्भावना भएका पालिकामध्ये प्रत्येक जिल्लामा कम्तीमा एक पालिका प्रमुख र वडाध्यक्षमा महिला उम्मेदवार खडा गर्नुपर्ने उल्लेख थियो । परिपत्रमा भनिएको छ,‘प्रत्येक पालिका अन्तर्गत कम्तीमा एउटा वडाध्यक्षमा महिला उम्मेदवारी दिन विशेष जोड गर्नुपर्ने छ ।’
एकीकृत समाजवादीको तर्फबाट चन्दननाथ नगरपालिकाको मेयरका उम्मेदवार जयलक्ष्मी चौलागाईं तर जुम्लामा माओवादीले महिलालाई उपप्रमुख वा उपाध्यक्षमै सिमित राख्यो । महिलालाई प्रमुख वा अध्यक्षको टिकट दिएन । नेकपा माओवादी कर्णाली प्रदेश सदस्य लक्ष्मीकन्या बुढा माओवादी जुम्लाले समावेशीको संकल्प पूरा नगरेको बताइन् ।
उनले भनिन्, ‘महिला पनि पुरुष सरह काम गर्न सक्छन् भन्ने उदाहरण यसअघिका महिला जनप्रतिनिधिले प्रमाणित गरिसकेका छन ।
तर महिलालाई पालिका प्रमुख वा अध्यक्षमा पत्याइएन । उनका अनुसार जुम्लाको हिमा र तिला गाउँपालिका र हिमा गाउँपालिकामा महिलाले अध्यक्षमा दाबी गरेका थिए । उनीहरुले गरेको दाबीको सुनुवाइ भएन । माओवादी केन्द्रले हरेक पालिकाको एक वडामा महिला वडाध्यक्ष अनिवार्य बनाउनुपर्ने परिपत्र समेत गरेको थियो ।
नेपाली कांग्रेस जुम्लाले पनि महिलालाई पालिका अध्यक्ष वा प्रमुखको टिकट दिएन । कांग्रेसभित्र पनि लगानीका हिसाबले अब्बल र क्षमताले पनि भरिपूर्ण महिला थिए । तर एक नगरपालिकासहित सात वटै गाउँपालिकामा महिलालाई प्रमुख वा अध्यक्षको टिकट दिएन । एकीकृत समाजवादीले चन्दननाथ नगरपालिकाको मेयरमा महिलालाई टिकट दियो । तर चुनाव हारिने भएकोले महिलालाई टिकट दिएको अनुमान गर्न थालिएको छ । समाजवादीले जयलक्ष्मी चौलागाईंलाई मेयरको टिकट दिएको हो ।
मेयरको उम्मेदवार जयलक्ष्मी चौलागाईंले जनताको काम गर्न सक्ने सक्षम नेतृत्व छान्न मतदातालाई आग्रह गरिन् । लामो समय सामाजिक विकृतिविरुद्धको आन्दोलनमा लागेकी सामाजिक अभियान्ता चौलागाईंलाई समाजवादीले मेयरको उम्मेदवार बनाएको हो ।
सत्ता गठबन्धनभन्दा बाहिरको दल नेकपा एमाले जुम्लाले गुठिचौर गाउँपालिकामा महिलालाई अध्यक्षको उम्मेदवार बनाएको छ । झुनमाया जैसीले एमालेको तर्फबाट अध्यक्षमा उम्मेदवारी दिइन् । उनले भनिन्, ‘एमालेले सत्ता गठबन्धनले दिन नसकेको टिकट दिएकोमा खुुसी भएको बताइन् । चुनाव जितिएला, हारिएला यो फरक पाटो हो, तर महिलालाई अध्यक्षमा टिकट दिएर चुनावी मैदानमा पठायो यसैमा सन्तुष्ट छु । ’
’सत्ता गठबन्धनभित्र चुनावी तालमेल भएको भए महिलाले त उपाध्यक्ष र उपप्रमुखमा समेत अवसर पाउँदैन थिए’, महिला अधिकारकर्मी दिलमाया शाहीले भनिन्, ‘कुनै पनि पार्टीले समावेशीको एजेन्डा उठाउनुको अर्थ देखिँदैन । भाषणमा समावेशी भन्दै आएपनि व्यवहारमा एकलौटी गर्ने गरेको देखियो । यसले राम्रो सन्देश दिएन । ’
जुम्लामा एक नगरपालिकासहित ७ गाउँपालिका छन् । ६० वडा छन् । स्थानीय तहको निर्वाचनमा महिला प्रतिनिधित्वको सम्मान हुन नसकेको अधिकारकर्मीहरु बताउँछन् । माओवादी केन्द्रले सम्भावित महिला नेतृत्वको नाम प्रमुख वा अध्यक्षको लागि सिफारीस गर्न नमानेको आरोप लागेको छ ।








