एन्फाको अध्यक्षमा बुढ्थापा

जुम्ला ः अखिल नेपाल फुटबल संघ (एन्फा) जुम्लाको अध्यक्षमा पुनः भरत बुढ्थापा चयन भएका छन्। बिहीबार भएको तेस्रो चुनावी साधारणसभाबाट बुढ्थापा चौथो कार्यकालका लागि अध्यक्षमा निर्विरोध चयन भएका हुन्। जुम्लामा एन्फाको स्थापनादेखि नै संस्थापक अध्यक्ष रहेका बुढ्थापा चौथोपटक पनि अध्यक्ष पदमा निर्विरोध चयन भएका छन्। उनी अखिल नेपाल फुटबल संघको केन्द्रीय सहमहासचिव पनि हुन्।

आफ्नो चौथो कार्यकाललाई पनि सबैको साथ र सहयोगमार्फत खेल क्षेत्रको विकासका लागि निरन्तर लाग्ने प्रतिबद्धता उनले गरेका छन्। अध्यक्ष बुढ्थापाले जुम्लामा विभिन्न प्रतियोगिता आयोजना गर्ने, खेल क्षेत्रको विकास, खेलाडी उत्पादन, पूर्वाधार निर्माणलगायतका कुरालाई अगाडी बढाउने उल्लेख गरे। नवनिर्वाचित अध्यक्ष बुढ्थापाको नेतृत्वमा १२ सदस्यीय जिल्ला कार्यसमिति पनि चयन भएको छ।

जसमा वरिष्ठ उपाध्यक्षमा राजबहादुर खत्री चयन भएका छन्। उनी यसअघि पनि वरिष्ठ उपाध्यक्ष रहेका थिए। अन्य दुई उपाध्यक्षमा विकल जङ्ग शाही र रोशन श्रेष्ठ चयन भएका छन्।

यस्तै, सदस्यहरूमा रवीन्द्र शाही, भरत बुढ्थापा, अजय बुढ्थापा, बिस्नबहादुर महत, दीपेन्द्र विक्रम हमाल, मदनराज भारती र खड्क भण्डारी चयन भएका छन्। साधारणसभामा एन्फाले आफ्नो आव २०७४ देखि हालसम्मको आय–व्यय पनि प्रस्तुत गरेको थियो।

जसमा २४ लाख ८८ हजार ८ सय ३५ आय रहेकोमा सोही बराबर खर्च भएको जनाइएको छ।
कार्यक्रममा खेलकुद विकास समिति जुम्लाकी सदस्यसचिव संगीता आर्चायले समन्वय अभावले जुम्लामा खेल क्षेत्रको अपेक्षित विकास नभएको भन्दै आगामी दिनमा सहकार्य गर्न आवश्यक रहेको बताइन्। खेलको विकासका लागि बजेट अभाव नरहेको दाबी गर्दै उनले सहकार्यसंगै नयाँ खेलाडी उत्पादन तथा खेल पूर्वाधार निर्माणमा जोड दिनुपर्ने बताइन्।

सम्बन्धित समाचार