सांसदले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्ने गरेकोमा राष्ट्रियसभा अध्यक्षको असन्तुष्टि

काठमाडौं, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्ने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन्।

अध्यक्ष तिमिल्सिनाले संघ र प्रदेशका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा पनि निर्वाचन क्षेत्र विकास कोषका लागि ४ करोड रुपैयाँसम्मको बजेट माग्ने काम संघीयता विरोधी भएको उल्लेख गर्दै आपत्ति समेत जनाए। बिहीबार संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले स्थानीय तह र प्रदेशमा समेत जनप्रतिनिधिहरु रहेकाले अब सांसदहरुले निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट माग्न नमिल्ने पनि स्पष्ट पारे।

अध्यक्ष तिमिल्सिनाले वडा र गाउँ तहलाई समृद्ध बनाउने गरी बजेट विनियोजन गरे सांसदहरुका लागि निर्वाचन क्षेत्र विकास कोषका लागि बजेट विनियोजन गरिरहन नपर्ने पनि स्मरण गराए। सांसदहरुले आफू खुसी खर्च गर्न बजेट मागे त्यसले संघीयतालाई बलियो नभई कमजोर बनाउने अध्यक्ष तिमिल्सिनाको तर्क छ।

अध्यक्ष तिमिल्सिनाले प्रदेश र स्थानीय सरकारलाई आर्थिक अधिकारसहितको कानुन निर्माण र कार्यान्वयनको तहमा संघीय सरकारलाई सचेत गराउन पनि संसदीय समितिहरुको ध्यानाकर्षण गराए।

सम्बन्धित समाचार