नाै दलका ४३ जनाले दिए उम्मेदवारी (सूचीसहित)

काठमाडौं : आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यका लागि ४३ जनाले उम्मेदवारी दिएका छन्।

 

१९ पदका लागि हुने निर्वाचनका लागि निर्वाचन आयोगले तोकेको मनोनयनको समयभित्र विभिन्न दलका ४३ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ। आयोगका अनुसार विभिन्न ९ राजनीतिक दलका ४३ जनाले आज सम्बन्धित प्रदेशको निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन्।

सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएका छन् भने प्रतिपक्षी दल एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ। सत्ता गठबन्धनको दल नेपाली कांग्रेसले ६ सिट, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले ५/५ सिट, जनता समाजवादी पार्टी (जसपा)ले २ र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवारी दिएका छन्।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल मजदुर किसान पार्टीले पनि दुई/दुई सिटमा उम्मेदवार उठाएका छन्। उम्मेदवारी दिन विभिन्न दलका उम्मेदवारहरू प्रदेश एकमा विराटनगर, २ को जनकपुर, बागमतीको हेटौडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका थिए।

राष्ट्रियसभा सदस्यका लागि हरेक प्रदेशका उम्मेदवारलाई सो प्रदेशका प्रदेशसभा सदस्यहरू र पालिकाका प्रमुख–उपप्रमुखहरुले मतदान गर्ने संवैधानिक प्रावधान छ। रिक्त १९ राष्ट्रिय सभा सदस्यको पदका लागि माघ १२ मा हुने निर्वाचनबाट सात महिला, तीन दलित, दुई अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक र सात जना अन्य समूहबाट निर्वाचित हुनेछन्।

निर्वाचन आयोगका अनुसार प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमबाट तीन/तीन तथा प्रदेश २ र बागमतीबाट दुई/दुई जना निर्वाचित हुनेछन्। चुनावका लागि १२ दल निर्वाचन आयोगमा दर्ता भएका थिए।

कुन दलबाट को उम्मेदवार

नेकपा एमाले

नेकपा एमालेका तर्फबाट प्रदेश १ मा गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवारी दिएका छन्। प्रदेश २ मा उसमान अन्सारी र विना र साह, बागमतीमा गोपाल शाक्य र निरकुमारी कुँवर उम्मेदवार बनेका छन्।

यस्तै गण्डकीमा अर्जुनकुमार सुनाम, लीला पोखरेल थनेत र पुण्यप्रसाद पौडेल, लुम्बिनीमा कृष्णबहादुर सुनार, भारती खनाल र रामदयाल गुप्ताले उम्मेदवारी दिएका छन्। कर्णालीमा पदमबहादुर माझी, गंगा थापा र चूडामणि शर्मा तथा सुदूरपश्चिममा सन्तोषकुमारी शर्मा थापा, नरेश विक र डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।

नेपाली कांग्रेस

सत्तारुढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले आफ्नो मागमा परेको प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिममा नारायणदत्त मिश्रलाई उम्मेदवार बनाएको छ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रले प्रदेश २ मा उर्मिला अर्याल, गण्डकीमा सुरेश आलेमगर र भरत सुनार, कर्णालीमा नरबहादुर विष्ट र सुदूरपश्चिममा जगत पार्कीलाई उम्मेदवार बनाएको छ।

नेकपा (एकीकृत समाजवादी)

सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले प्रदेश १ मा जयन्ती राई, बागमतीबाट गोमा तिमिल्सिना, लुम्बिनीमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहरा र सुदूरपश्चिममा मदनकुमारी साह (गरिमा)लाई उम्मेदवार बनाएको छ।

यस्तै जसपाले प्रदेश १ मा हेमराज राई र प्रदेशमा खालिद सिद्दिकीलाई उम्मेदवार बनाएको निर्वाचन आयोगले जनाएको छ।

लोसपाले प्रदेश २ मा श्याम सरदार र रुपाकुमारी यादवलाई उम्मेदवार बनाएको छ। यस्तै राष्ट्रिय जनमोर्चाले लुम्बिनीमा राजेश  विश्वकर्मालाई उम्मेदवार बनाएको छ।

नेपाल मजदुर किसान पार्टीले बागमतीमा गीता काफ्ले र कृष्ण तामाङलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश १ मा अमरबहादुर विष्ट र रञ्जु प्याकुरेललाई उम्मेदवार बनाएको छ।

निर्वाचन कार्यतालिका अनुसार भोलि २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय लिने तथा २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्नेछ।

 

सम्बन्धित समाचार