अर्थमन्त्री बिष्टले लिए पद तथा गोपनियताको शपथ

भौतिक पूर्वाधारको चर्चा पन्छाउँदै कर्णालीको अर्थतन्त्र जिम्मामा !

सुर्खेत – कर्णाली प्रदेशको अर्थमन्त्रीमा नियुक्त बिन्दमान बिष्टले शपथ लिएका छन् । मंगलबार कर्णालीको आर्थिक मामिला तथा योजना विकासमन्त्रीमा नियुक्त भएका बिष्टले प्रदेश प्रमुख तिलक परियारबाट शपथ लिएका हुन् ।

मंगलबार साँझ बिष्टले शपथ लिएपछि पदभार पनि ग्रहण गरेका छन् । यसअघि उनी भौतिक पूर्वाधारमन्त्री बन्ने चर्चा थियो । तर माओवादीले उनकै नेतृत्वमा सरकारमा पठाएपछि पार्टीकै जिम्मेवारीअनुसार बिष्टले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

६ महिनाअघि मुख्यमन्त्री महेन्द्र शाहीको सरकार भएका बेला उनी आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए । तर शपथ नखाँदे तत्कालिन सत्ताधारी कांग्रेसले विरोध गरेपछि उनले मन्त्रीको शपथ लिन पाएका थिएनन् ।