कर्णालीमा माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै, मन्त्रिपरिषद विस्तारबारे छलफल हुने

सुर्खेत , कर्णाली प्रदेशमा सरकार विस्तार र मन्त्री छनोट लगायतको विषयमा छलफल गर्नका लागि नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ ।  बैठक अहिले ११ बजेपछि बस्ने माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक ठम्मर विष्टले रातोपाटीलाई जानकारी दिए ।

प्रमुख सत्ता साझेदार दल भएकाले पनि माओवादी केन्द्रले सरकार विस्तारको बारेमा बृहत छलफल गर्नुपर्ने देखिएको छ ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले दुई हप्ताबढी भइसक्दा पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै आलोचना भइरहेको छ ।

त्यसको ‘इफेक्ट’ माओवादी दललाई पनि परेको देखिन्छ । कतिपयले माओवादी केन्द्र र नेतृत्वमा रहेको काँग्रेसबीच खटपट भएको भनेर पनि टिप्पणी गरिरहेका छन् । आजको संसदीय बैठक त्यहीको पेरिफेरीमा रहेर बस्न थालेको विष्टले बताए ।
संसदीय दलका नेता समेत रहेका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आगामी रणनीतिका बारेमा जानकारी दिनेछन् । साथै माओवादी केन्द्रले आजको बैठकबाट सरकारमा आफ्नो दलबाट कति मन्त्री पठाउने भन्ने बारेमा पनि छलफल गर्नेछ भने निर्वाचनको विषयमा पनि छलफल हुने बताइएको छ ।
स्रोतका अनुसार माओवादी केन्द्रले चारवटा मन्त्रालय माग गरेको छ ।  यस्तै माओवादी केन्द्रबाट कृष्णा शाह, विन्दमान विष्ट, गणेशबहादुर सिंह, सीता नेपाली, गोपाल शर्मा लगायतका सांसदहरुको नाम चर्चामा छ । यद्यपि, यसबारे ठोस निर्णय भने भइसकेको छैन ।

सम्बन्धित समाचार