जुम्ला खलंगामा खानेपानीको हाहाकार

२ कारोड भन्दा बढी लागतमा बन्दै गरेको फिल्टर ट्याङकी  प्रयोगमा नआउँदै जीर्ण

जुम्ला : चन्दननाथ नगरपालिका–४ मालाभिड माथिल्लो बस्तीका ३५ घरधुरीलाई खानेपानीको हाहाकार भएको छ । मालाभिडका स्थानीयलाई विहान बेलुका पानीको जोहो गर्न गाह्रो हुने गरेको छ ।

मालाभिड खलंगा बजार क्षेत्रमा पर्छ ।  मालाभिडको माथिल्लो भेगका लागि खानेपानी ट्याङकी पनि बनेको छ । तर, प्रयोगमा छैन । त्यो ट्याङकीसम्म पाइप लाइन ल्याउन ५ लाख र १० ट्याङकी निर्माण गरी १५ लाख बजेट सकियो ।

वर्षेनी राज्यको लगानीमा खानेपानीका संरचना बने तर, प्रयोगविहीन भएका छन्  ।  बजेट मात्रै खर्च हुने गरेको स्थानीय गणेश पण्डितले बताए । उनले भने, ‘उपभोत्ता समितिले हचुवाको भरमा बजेट खर्च गरेर संरचना निर्माण गरेका गरेका छन्  । यसले गर्दा ट्याङकीमा पानी छैन । पानी ल्याउन ठाउँ ठाउँ जान बाध्य भएका छौं ’

जुम्ला सदरमुकाम खलंगाको मालाभिड एक प्रतिनिधि मात्रै हो ।  चन्दननाथ नगरपालिका– १० वडामा विभाजित छ । ४ हजार २७१ घरधुरीका २० हजार ८८४ जनसंख्या रहेको छ । एक हजार ६ सय घरधुरीमा खानेपानीका जडान छन् । यस नगरपालिकाका १० वडा मध्ये, १, ४, ५, ६ र ७ वडाका केही गाउँमा खानेपानी धारा सञ्चालनमा छन् ।

अहिले पनि ७०/८० निवेदन खानेपानी धारा जडानका लागि खलंगा खानेपानी उपभोक्ता  तथा सरसफाइ समिति खलंगामा आएका छन । तर, धारा जडान हुन सकेका छैनन । खलंगामा अहिले तीव्र गतिमा जनसंख्या वृद्धि हुँदै गएको छ । वर्षेनी एक सय भन्दा बढी घर निर्माण हुने गरेका छन् । सबै घरधुरीमा खानेपानी प्राप्त मात्रमा पुर्‍याउने उद्देश्यकका साथ खानेपानीका ट्याङकी निर्माण भएपनि अहिले कतिपय ट्याङकी प्रयोगविहिन भएका छन्

तिला नदीको धमिलो पानी पिउँदै स्थानीय 

जुम्ला सदरमुकाम खलंगामा खानेपानी नपुगेर तिला नदीको पानी खाने गरेका धर्मराज बोहरा भन्छन्, ‘ हामी खानेपानी अभावले भौतारिएका छौं । नदीको पानी खान बाध्य भएका छौं । तर, करोडौँ रकम खर्च गरेर फिल्टर ट्याङकी बन्दै छ । बर्खाको समयमा नदीकै धमिलो पानी  खाने गरेका छौं । हामीलाई त्यो फिल्टर ट्याङकीले कुनै अर्थ राखेको छैन ।’

यस्तै वर्षौ देखी निर्माण गर्न थालिएका ठिन्केस्थित पानी फिल्टर ट्याङकी अहिलेसम्म प्रयोगविहीन भएको छ ।  ट्याङकी  प्रयोगमा नआउँदै जीर्ण बन्दै गएको छ । जुम्लामा खानेपानीको क्षमता कम भएकाले बजारका सबै घरमा पानी कम पुग्ने गरेको छ ।

संघीयतापछि खानेपानी कार्यालय फेरबदल र बजेट अभावका कारण यस्तो समस्या आएको खानेपानी उपभोक्ता समिति जुम्लाले जनाएको छ । बजेट अभावको बहाना देखाए पनि फिल्टर ट्याङकी निर्माण भनेर वर्षेनी राज्यको लगानी सकिने गरेको छ । यता खानेपानी कार्यालय जुम्लाका सव–इन्जिनियर प्रकाश परियार भन्छन्, ‘खानेपानीका संरचना बनेका छन् । यो वर्ष ९० प्रतिशत काम सम्पन्न गर्ने योजना बनाएका छौं ।  जनशक्तिको पनि अभाव भएकोले कार्यसम्पादनमा समस्या भएको हो  ।

‘अर्को कुरा फिल्टर ट्याङकी नयाँ आयोजना भएकोले पनि विज्ञको सल्लाहमा काम गर्ने तयारी गरेका छौँ’ उनले थपे, ‘ फिल्टर ट्याङकीको लागि बजेट आउँछ ,  हामी खलंगा खानेपानी उपभोक्ता  तथा सरसफाइ समितिलाई सम्झौता गरेर  काम गर्न दिन्छौं । उनीहरुले काम कसरी गराए । भन्ने विषयमा थाहा हुँदैन । यो योजना पुरानै हो  । सवडिभिजन तथा खानेपानी कार्यालय हुँदादेखिकै हुँदा खर्चको विवरण एकिन थाहा भएन’ ।

तर,  यसको  लागत २ कारोड ५७ खाख ६८ हजार, ४सय ९१ रुपैया रहेको कार्यालयले जनाएको छ ।  उनका अनुसार फिल्टर ट्याङकीमा पानी फिल्टर गर्नका लागि चाहिने गिट्टी र बालुवा जुम्ला नपाइने भएकाले दाङदेखि ल्याउनु पर्ने हुनाले काममा ढिला भएको छ ।

खलंगा खानेपानी उपभोक्त समिति जुम्लाका महासचिव मीनबहादुर थापाले प्राप्त खानेपानीका लागि ट्याङकीका संचना बनेको बताए । उनले भने, ‘४ लाख लिटर क्षमताको ट्याङकी बनेपनि मुल पाइप लाइनका काम बाँकी रहेको छ ।’

उनका अनुसार यो आर्थिक बर्षमा काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी  छ । हचुवाको भरमा योजना छनोट हुने गर्दा प्रगति शून्य रहेको छ ।  त्यसको प्रभाव र आवश्यकताको विश्लेषण नगरी योजना छनोट गर्दा कार्यान्वयनमा समस्या भएको छ ।

प्रयोगमा नआएर जिर्ण बनेका ट्याङकीहरु