गाडी चलेको ठाउँमा खच्चडको राज
जाजरकोट ः वर्षायाममा सडकहरु अवरुद्ध भएपछि खच्चडको सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी कार्य हुँदै आएको छ ।हिउँदको समयमा गाडीमा ढुवानी हुने ठाउँमा अहिले खच्चडको प्रयोग गरिदंै आएको छ । खच्चडमा ढुवानी गरिदा हिउँद समय भन्दा बर्षामा दैनिक उपभोग्य सामग्रीको मुल्य बढीरहेको व्यापारीहरु बताउँछन् । जुनिचाँदे गाउँपालिकाका बिभिन्न ठाउँमा हरेक सामग्रीको मुल्यमा २५ प्रतिशत भन्दा बढी रहेको स्थानीयवासी महेन्द्रबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो ,“ हाम्रोमा मात्र हो कि , अन्यत्र पनि यस्तै हो ? हरेक सामग्रीमा २५ प्रतिशत मुल्य वृद्धी भएको छ । खोजेको बस्तु पाउन समेत मुस्किल भएको छ।
कच्ची कटान गरेको सडकहरु ठाउँ , ठाउँमा भत्किनुका साथै खहरे खोलामा पानीको मात्रा बढेका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेका हुन् । भौतिक निर्माणका कामहरु समेत दैनिक निर्माणका सामग्री नपाउँदा अवरुद्ध हुँदै आएको छ ।
जाजरकोट– जुम्ला सडक खण्ड भित्रको खलंगा –पाँचकाटिया जोड्ने सडक भेरी नगरपालिका –२ गारा राङसीमा पटक , पटक भत्किएपछि सञ्चालन गर्न मुस्किल भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो ,“ कति पटक सडक मर्मत गर्नु ? हामीसँग एउटा मात्र डोजर छ , कहाँ ,कहाँ लिएर मर्मत गर्नु हैरान भइसक्यो ।
खलंगा –पाँचकाटिया सडक कसरी निर्माण गरेको हो ,आकाशबाट पानी झर्न वितिकै अवरुद्ध हुन्छ । ” साना , साना र आफ्नो छेउछाउँको सडक स्थानीय तहले मर्मत गरेपनि हुने हो भन्दै प्रजिअ देवकोटाले भन्नुभयो , “ अब छिट्टै बैठक राखेर केही निर्णय गरेर अगाडी बढ्नुपर्ने जरुरी भइसकेको छ ।”
त्यस्तै नलगाड नगरपालिका – जुम्ला जोड्ने सडकको सक्लामा पहिरो आउदा सडक अवरुद्ध भएको हप्ता दिन वितेपनि मर्मत नहुँदा यातायातका साधनहरु सञ्चालनमा मुस्किल भएको छ । अहिले बारेकोटमा खच्चड मार्फत दैनिक ढुवानीका काम हुँदै आएका छन् । नलगाड नदीको खारा स्थित पुल निर्माणमा ढिलाइ गरिदा अस्थायी रुपमा निर्माण गरेको काठेपुल नदीमा पानीको वहाव बढेसँगै सो पुल बगेपछि यातायात सेवा पूर्ण रुपमा ठप्प भएको छ ।
यातायात अवरुद्ध भएसँगै झुलुङ्गे पुलमा खच्चडहरु तारेर बारेकोटमा दैनिक उपभोग्य सामग्री ढुवानी कार्य भइरहेको स्थानीय व्यापारी नीमबहादुर सिंहले बताउनुभयो । मुख्य सडक बाहेक अन्य पालिका जोड्ने अधिकांश सडकहरु अवरुद्ध भएसँगै खच्चडको भरमा ढुवानी कार्य सुरु भएको छ । खच्चडको भरमा ढुवानी हुँदा मुल्य अस्वाभाविक रुपमा बढेको स्थानीयवासीको गुनासो छ । डोजर मार्फत खनिएका सडकहरुमा माटो कम्जोर हुँदा जहाँको त्यही पहिरो आएको स्थानीयवासीको भनाइ छ ।
त्यस्तै सडक जथाभावी खनिदा कुशे गाउँपालिका –६जरगाउँमा १५ जना परिवारको बस्ने घरहरु जोखिममा हुँदा घर छोडेर खुल्ला आकाशमा बस्न बाध्य भएको पीडित भीमबहादुर परियारले बताउनुभयो । घर देखि तल सडक निर्माण गरिदा घरहरु निर्माण गरेको जमिन भाँसिएपछि गाउँलेहरुले घर छोडेको उहाँले बताउनुभयो ।
भेरी नगरपालिका –२ रिसाङ स्थित गाउँमा प्राविधिकले दिएको स्टामेट भन्दा फरक ठाउँबाट सडक निर्माण गरिदा १३ घर विस्थापित भएका छन् भने ७ घर भत्किएका छन् । त्यस ठाउँमा सडक अवरुद्ध हँुदा खच्चडकै सहारामा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेको छ ।
कुशे गाउँपालिकाको व्यापारिक तथा पर्यटकीय केन्द्र पाँचकाटिया बजारमा सडक अवरुद्ध भएसँगै दैनिक उपभोग्य सामगी पाउन मुस्किल भएको स्थानीय व्यापारी यूवाराज ओलीले बताउनुभयो । उहाँले भन्नुभयो ,“ सामग्री खच्चडमै लिन समस्य छ , जाजरकोट सदमुकाममा समेत खोजेको सामग्री पाइदैन । गाउँमा कसरी पुर्याउने ? यातायात ठप्प छ , खच्च्डमा अत्यधिक चर्को भाडा छ । ” नयाँ अन्न पाकी नसकेको र पुरानो सकिएको अवस्थामा सर्वसाधारणहरु खाद्यान्नको भर स्थानीय बजार नै हुँन् । स्थानीय बजारमा समेत दैनिक उपभोग्य सामग्री ढुवानी कार्य कठिन भएपछि गाउँमा खाद्यान्न अभाव देखिन थालेको छ ।
वर्षायाम सुरु हुनु पूर्व नै सबै सामग्रीको जोहो गर्न प्रशासनले आग्रह गरेपनि त्यो कार्यमा कसैले ध्यान नदिंदा अहिले समस्य देखा परेको छ ।स्थानीय सरकारका प्रतिनिधिहरुले सडक धेरै ठाउँमा भत्किएको छ , बजेटको जोहो गरेर मर्मत गर्ने बचन दिएका छन् ।








