गण्डकी प्रदेश सभा सांसद शाही शंकै शंकाको घेरामा

काठमाडौंं । गण्डकी प्रदेश सभाका जनमोर्चाका सांसद खिमविक्रम शाहीको नियतमा नै शंका उब्जेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्तावमाथि मतदान गर्ने दिनमा बुधबार शाही संसदमा अनुपस्थित भए । जनमोर्चाकी सांसद पियारी थापाले आफ्नो सांसदको अवस्था अज्ञात रहेकोले सार्वजनिक नहुँदासम्म सदनको काम कारबाही नचलाउन संसद् सचिवालयमा निवेदन दिइन् ।

सभामुख नेत्रनाथ अधिकारीले अनिश्चितकालका लागि संसद् स्थगन गरे । सम्पर्कविहीन भएका सांसद शाही एक्कासी पोखराकै चरक मेमोरियल अस्पतालको कोभिड आईसीयूमा भर्ना भएको पत्ता लाग्यो ।

बिहानसम्म ठिकठाकै भएका र दलका नेता कृष्ण थापासँगको फोन सम्पर्कमा समेत आफू मतदानमा आउने बताएका सांसद शाही अचानक कोभिड आईसीयूमा भर्ना भएको खबरले सबैलाई अचम्मित बनायो । कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी (जसपा) का सांसदले यसलाई सत्तापक्षको ‘षड्यन्त्र’ को आरोप लगाएका छन् । अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निश्चित भएका सांसद शाहीलाई संसदमा उपस्थित नगराएर सत्ता जोगाउने एमालेको दाउपेचको रुपमा बुझियो ।

सबै सांसदको पीसीआर परीक्षणपछि मात्रै संसद् चलाउनुपर्ने माग राख्दै सत्ता पक्षका एमालेका सांसदले संसद् अवरुद्ध गरेपछि मंगलबार नै सबै सांसदको स्वाब संकलन गरिएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाको बुधबार बिहान ७.२० बजे दिएको सबै सांसदहरुको रिपोर्ट अनुसार ३ सांसदमा कोरोना पोजिटिभ देखियो, जसमा शाहीको नाम थिएन ।

शाहीका स्वकीय सचिव मीलन हमालका अनुसार बुधबार मध्याह्न १२ बजे सांसद शाहीको टाउको दुखेपछि अस्पताल पुगाएको बताएका छन् । तर सांसद शाही कोरोना संक्रमित भएर आईसीयूमा अक्सिजन दिइएर राखिएको खबर बुधबार दिनभरी फैलीरहेको छ ।

पोखराकै लाइफ केयर डायगोनोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिमा गरिएको स्वाब परीक्षणको पोजिटिभ रिपोर्ट ।

 

शाहीको रिपोर्ट हेर्दा उनको स्वाब मंगलबार ४ बजे नै पोखराकै लाइफ केयर डायगोनोस्टिक एन्ड रिसर्च सेन्टर प्रालिमा संकलन गरेको देखिन्छ । पीसीआर परीक्षणमा बुधबार बिहान ७.३० बजे पोजिटिभ रिपोर्ट आएको बताइएको छ । यसरी हेर्दा, सांसद शाहीले मंगलबार एकैदिन दुईपल्ट स्वाब दिएको देखिन्छ भने १० मिनेटको फरकमा आएको रिपोर्टमध्ये पहिलोमा नेगेटिभ र दोस्रोमा पोजिटभ छ । बुधबार बिरामी भएर अस्पताल गएको भनिएका सांसदको स्वाब भने मंगलबार नै संकलन गरेको प्रमाणित हुन्छ ।

पोजेटिभ आएको स्वाब सांसद खिमविक्रम शाहीकै हो वा अरुको हो भन्ने विषयमा भने केही भन्न नसक्ने अस्पताल स्रोतले बताएको छ । ‘मंगलबार ४ बजेतिर फेवा सिटी अस्पतालका कर्मचारी हिमलाल गौतमले दुईवटा स्वाब लिएर आउनुभएको थियो । एउटा नाम खिमविक्रम शाहीको थियो,’ उनले भने, ‘तर, हामीलाई उनी सांसद हुन् भन्ने थाहा थिएन । हामीलाई दिइएको स्वाबको रिपोर्ट पोजिटिभ नै आएको हो ।’