बालबालिका बेपत्ता हुने क्रम रोकिएन, हराउनेमा बालिका धेरै

दिनहुँ बालबालिका बेपत्ता हुने संख्यामा बृद्धि देखिएको छ । तीमध्ये बालिकाको सङ्ख्या अझ बढी देखिएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अनुसार यस आर्थिक वर्षमा २ सय ५२ बालक र ९ सय १७ बालिका बेपत्ता भएका छन् । गत साउनदेखि फागुन मसान्तसम्म हराएका दुई हजार ३८८ बालबालिकामध्ये एक हजार १६९ जना अझै बेपत्ता छन् ।

हराएकामध्ये सबैभन्दा धेरै बालबालिका प्रदेश २ का छन् । त्यहाँबाट ५३३ बालिकासहित ६१२ बालबालिका बेपत्ता छन् । तीमध्ये २२१ बालिका भेटिएका छन् । ३१२ जना अझै बेपत्ता छन् । त्यसपछि बागमती प्रदेशबाट ४५२ बालबालिका हराएका छन् । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालका सूचना अधिकारी निराजन घिमिरेका अनुसार यस आर्थिक वर्षमा दैनिक करिब १२ जना बालबालिका हराउने गरेका छन् ।

“हराएका आधा जति बालबालिका भेटिए पनि अन्यको अवस्था अज्ञात हुनेगरेको छ । समग्रमा दैनिक १२ जना बालबालिका बेपत्ता हुने गरेका छन्” उहाँले भन्नुभयो । हराएका बालबालिकाको खोजतलासमा सक्रिय निकाय राष्ट्रिय बालअधिकार परिषद्को तथ्याङ्क अनुसार विगतमा भन्दा आर्थिक वर्ष २०७५-७६ मा विभिन्न सञ्चार माध्यमबाट प्रकाशित बालबालिकासम्बन्धी घटनाहरुको सङ्ख्यामा वृद्धि देखिएको छ ।

आवमा ६५४ वटा घटनामा एक हजार ८० जना बालबालिका प्रभावित भए । सबैभन्दा बढी यस आर्थिक वर्षको अन्तिम चौमासिकमा २८८ वटा घटनाबाट ४८५ जना बालबालिका पीडित तथा प्रभावित भएका छन् । पहिलो चौमासिकमा २०४ वटा घटनामा ३१५ जना बालबालिका दोस्रो चौमासिकमा १६२ वटा घटनामा २८० बालबालिकामध्ये ४४१ जना बालक, ६१८ जना बालिका र २१ जना शिशु छन् ।

गत साउन यता हराएका ५२७ बालकमध्ये २७५ जना र एक हजार ८ ६१ बालिकामध्ये ९ ४४ जना फेला परेका छन् । ती मध्ये १५–१८ वर्षका किशोरी ७६ प्रतिशत छन् । आर्थिक वर्ष २०७५-७६ मा २ हजार ७ सय २९ बालबालिका हराएका थिए । हराउने बालबालिकाको सङ्ख्या उस्तै रहेमा अघिल्लो आर्थिक वर्षभन्दा थप ८ सय बालबालिका बेपत्ता हुने देखिन्छ ।

हराउनेमा बालकको तुलनामा बालिकाको सङ्ख्या तीन गुना छ । फेला पर्ने बालकको प्रतिशत बालिकाको तुलनामा बढी छ । राष्ट्रिय बालबालिका परिषदका सूचना अधिकारी रामबहादुर चन्दकाअनुसार पछिल्लो समय धेरै बालबालिका हराएका छन् ती मध्ये केही फेला परेका छैनन् । चन्दले भन्नुभयो, “राष्ट्रिय बालअधिकार परिषद् नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा समितिमार्फत् देशभर काम गरिरहेको छ ।

यसमा सरकारले गहन अनुसन्धान गर्न जरुरी छ ।” पछिल्लो समय नेपाल प्रहरी ७७ वटै जिल्लामा समन्वय गरिरहेको बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपका कार्यक्रम अधिकृत सन्तोष अधिकारीले बताउनुभयो । जोखिमको पाटोलाई हेरेर खोजी तथा अनुसन्धानमा नेपाल प्रहरी केन्द्रित रहेको जनाएको छ ।

सूचना अधिकारी चन्दले भन्नुभयो, “यो जिल्लागत विवरण हो कतिपय बालबालिकाको सही नाम, थर, ठेगाना परिवारका सदस्यले न भनिदिँदा खोजीकार्यमा समस्या भएको छ । केही बालबालिका सुधार गृहमा समेत हुनसक्ने तर खोजीकार्य भइरहेको छ ।” हराएका बालबालिकाको खोजी गर्नेदेखि थप बालबालिका बेपत्ता हुन नदिन अभिभावकले आफ्ना बालबालिको उचित स्यार–सुसार पालन–पोषण गर्नुपर्ने उहाँको सुझाव छ ।

सम्बन्धित समाचार