पातारासी गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा

जुम्ला : जुम्लाको पातारासी गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । आवश्यक स्वास्थ्य सूचकहरू पूरा गरेपछि गाउँपालिकालाई औपचारिक रूपमा पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहरा, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल, गाउँपालिका उपाध्यक्ष जनमाया रोकाया, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख किरण शर्मा लगायत सरोकारवाला निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीयवासीहरूको उपस्थितिमा गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको हो ।

पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाले प्रस्तुत गर्नुभएको प्रतिवेदनअनुसार पूर्णखोप प्राप्त गर्ने बालबालिकाको संख्या २४४ रहेको छ । उहाँका अनुसार ० देखि १५ महिनासम्मका २३५ जना तथा १६ देखि २३ महिनासम्मका २०८ जना बालबालिकाले नियमित रूपमा खोप सेवा प्राप्त गरिरहेका छन् ।

गाउँपालिकाले खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै बालबालिकाको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ ।