महिला जागरणको समाचार पछि KAHS द्वारा विज्ञापन रद्द

जुम्ला : Karnali Academy of Health Sciences (KAHS) मा पूर्व पदाधिकारीलाई पुनः करारमार्फत नियुक्त गर्ने तयारी, ‘टार्गेटेड’ विज्ञापन तथा करार म्याद थप प्रकरणबारे विवाद चर्किरहेका भन्दै समाचार प्रकाशित भए पछि प्रतिष्ठानले विज्ञापन रद्द गरेको छ।

“बर्खास्त पूर्व पदाधिकारीलाई पुनः करार ? KAHS मा ‘टार्गेटेड’ विज्ञापन र म्याद थप प्रकरणले चर्कियो विवाद” शीर्षकमा महिला जागरणमा समाचार प्रकाशित भएपछि प्रतिष्ठानले विज्ञापन रद्द गर्ने सूचना सार्वजनिक गरेको हो।

प्रतिष्ठानद्वारा २०८३ जेठ ४ गते सोमबार प्रकाशित सूचनामा २०८२ वैशाख ३१ गते प्रकाशित विभिन्न शैक्षिक कार्यक्रमका लागि आवश्यक पदहरूको विज्ञापन अर्को व्यवस्था नभएसम्मका लागि रद्द गरिएको उल्लेख गरिएको छ। सूचनामा“प्रतिष्ठानको निर्णय बमोजिम उक्त विज्ञापन रद्द गरिएको”जनाइएको छ।

यसअघि प्रकाशित विज्ञापन केही निश्चित व्यक्तिलाई लक्षित गरेर ल्याइएको, पूर्व पदाधिकारीलाई पुनः करारमा ल्याउने तयारी गरिएको तथा म्याद थप प्रक्रियामा पारदर्शिता नभएको भन्दै आलोचना भइरहेको थियो। विशेषगरी नेपाल सरकारबाट बर्खास्त भइसकेका पूर्व पदाधिकारीलाई पुनः नियुक्त गर्न खोजिएको विषयले प्रतिष्ठानभित्र र बाहिर दुवैतर्फ बहस सिर्जना गरेको थियो।

समाचार सार्वजनिक भएसँगै सामाजिक सञ्जालदेखि सरोकारवालामाझ समेत व्यापक चासो बढेको थियो। त्यसपछि प्रतिष्ठानले विज्ञापन नै रद्द गरेपछि उक्त निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यद्यपि विज्ञापन किन रद्द गरिएको हो भन्ने विषयमा प्रतिष्ठानले विस्तृत कारण भने खुलाएको छैन। अब आगामी प्रक्रिया कसरी अघि बढ्छ भन्ने विषयमा थप चासो बढेको छ।