जुम्लामा EV भ्यान दुर्घटना : ७ जना घाइते, २ जनाको अवस्था गम्भीर

जुम्ला :जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीस्थित कर्णाली राजमार्ग सडक खण्डमा बुधबार दिउँसो EV भ्यान दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार आज मिति २०८२ फागुन ७ गते करिब १२:०० बजे जुम्ला बजारबाट नाग्मातर्फ जाँदै गरेको भे १ ज ८१८ नम्बरको EV भ्यान अनियन्त्रित भई सडकछेउमा रोकिराखेको क.प्र.०२–००१ त ०१९० नम्बरको ट्र्याक्टरमा ठोक्किएको थियो। ठक्करपछि भ्यान करिब ३०–४० मिटर तल बारीमा खस्दा दुर्घटना भएको हो।

दुर्घटनापछि घाइतेहरूलाई तत्काल उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जनाएको छ। चालकले मादक पदार्थ सेवन नगरेको प्रारम्भिक जाँचबाट खुलेको प्रहरीले बताएकाे छ।प्रहरीका अनुसार घाइतेहरूको विवरण अनुसार जुम्ला तातोपानी–२ बाबिराका १९ वर्षीय चालक लोकेश खड्काको खुट्टा र आँखामा चोट लागेको छ भने अवस्था मध्यम रहेको छ। तिला गाउँपालिका–१ की ३५ वर्षीया मेनुका बुढाको निधार र ढाडमा चोट लागेको र अवस्था गम्भीर रहेको छ। पातारासी–४ लुमकी ३१ वर्षीया माया नेपालीको टाउकोमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ।

त्यस्तै, तातोपानी–३ लिताकोटकी ४८ वर्षीया पुनि सुनारको छातीमा चोट लागेको (मध्यम), तिला–२ का २० वर्षीय टेकेन्द्र रावत सामान्य घाइते, २० वर्षीय पारस रावतको शरीरमा भित्री चोट (मध्यम) र हिमा–२ का २१ वर्षीय धर्मेन्द्र रोकायाको मुखमा चोट लागी अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जना निर्वाचन सुरक्षामा खटिएका प्रहरी कर्मचारी रहेका छन्।

दुर्घटनास्थल इलाका प्रहरी चौकी हाँकुबाट करिब २ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट १० किलोमिटर पश्चिममा पर्दछ। घटनापछि प्र.स.नि. शिवराज कुँवरको कमाण्डमा ४ जना र प्र.नि. निर्देश बरालको कमाण्डमा ट्राफिकसहित १२ जना प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनाग्रस्त सवारीसाधन घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सम्बन्धित समाचार