कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई भौगोलिक अवस्थाका आधारमा लगानी गर्नुपर्छ : स्वास्थ्य मन्त्री गाैतम
जुम्ला : स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लालाई राज्यले समानता होइन, समताको आधारमा सहयोग गर्ने बताउनुभएको छ।
उहाँले देशका अन्य प्रतिष्ठानको तुलनामा कर्णाली प्रतिष्ठान दुर्गम क्षेत्रमा रहेको र ढुवानी खर्च महँगो हुने भएकाले सोहीअनुसार बजेट विनियोजन गरिने स्पष्ट पार्नुभयो। मन्त्री शर्माले उच्च स्थान चेरेचौरमा डीपीआर तयार भइसकेका बेसिक हेल्थ साइन्स अध्ययन भवन तथा अन्य संरचना निर्माणका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा स्वास्थ्य शिक्षा र सरसफाइमा विशेष जोड दिन प्रतिष्ठानलाई सुझाव दिनुभयो।
मन्त्री शर्माले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा चेरेचौरमा निर्माणाधीन नयाँ भौतिक संरचनाको अवलोकन गर्नुभएको थियो। उहाँका अनुसार एकै पटक नभई एक–दुई भवन गर्दै पाँच वर्षभित्र चेरेचौरका सबै भौतिक संरचना सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। कर्णाली प्रतिष्ठान यस क्षेत्रको स्वास्थ्य सेवाको मेरुदण्ड भएकाले यसको थप स्तरोन्नति आवश्यक रहेको उहाँको जोड थियो।
उहाँले केही समयअघि सम्पन्न प्रतिष्ठानको सभाबाट कर्णाली प्रतिष्ठानको काम, सम्भावना र चुनौतीबारे जानकारी पाउँदा खुसी लागेको बताउनुभयो। साथै बीमाको भुक्तानी बाँकी रहेको विषयमा सुझाव आएको उल्लेख गर्दै भुक्तानीका लागि अन्तिम तयारीमा रहेको जानकारी दिनुभयो।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले कर्णाली प्रतिष्ठानले देशको स्वास्थ्य सूचकाङ्क सुधारमा ठूलो योगदान पुर्याएको भन्दै धन्यवाद दिनुभयो। उहाँले स्वास्थ्यसँगै सडक, खानेपानीजस्ता पूर्वाधार पनि उत्तिकै आवश्यक रहेको बताउनुभयो। विरामीलाई गुणस्तरीय र प्रभावकारी सेवा दिनुपर्नेमा जोड दिँदै विद्यमान समस्याबीच पनि सेवा गुणस्तर सुधारमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
कर्णाली स्वास्थ्य विज्ञान तथा शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. पुजन रोकायाले मन्त्री र सचिवले प्रतिष्ठान तथा निर्माणाधीन संरचनाको स्थलगत अवलोकन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले चेरेचौरमा करिब ६ अर्ब रुपैयाँ लागतको भौतिक संरचना निर्माणका लागि सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो।
उहाँले दैलेखको राकम कर्णालीमा सेटेलाइट अस्पताल स्थापना गर्ने योजना पनि उत्तिकै प्राथमिकतामा रहेको जानकारी दिनुभयो। साथै कर्णाली प्रतिष्ठानमा एमआरआई मेसिन तथा ठूलो क्षमताको सिटी स्क्यान उपलब्ध गराउन मन्त्रालयसँग आग्रह गर्नुभयो।
भौतिक संरचनाको अभावका कारण आवास समस्या रहेको उल्लेख गर्दै उपकुलपति रोकायाले देशका विभिन्न स्थानबाट आएका जनशक्ति यहाँ कार्यरत भए पनि तलब तथा स्थायित्वको समस्या रहेको बताउनुभयो। कर्मचारीलाई प्रोत्साहन गर्न तलब वृद्धि र स्थायीत्व आवश्यक रहेको उहाँको भनाइ थियो। साथै कर्णाली प्रतिष्ठानलाई हेल्थ टुरिजमसँग जोड्नुपर्ने आवश्यकता औँल्याउँदै कर्णाली आउने पर्यटकलाई स्वास्थ्य सेवा दिने केन्द्रको रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो।
प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना नै महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यसको थप स्तरोन्नतिका लागि संघीय सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले प्रतिष्ठानले सेवा प्रवाहमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।









