निवर्तमान सांसद ज्ञानेन्द्र शाहीले गरे निर्वाचन आचारसंहिता उल्लंघन, घरदैलो अभियानमा बिस्कुट र ढाका टोपी बाढ्दै(भिडियो सहित)

जुम्ला । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि घरदैलो अभियानमा निस्किएका निवर्तमान सांसद ज्ञानेन्द्र शाही र उनका स्वकीय गोकर्ण कठायतले बालबालिकालाई बिस्कुट तथा पुरुष मतदातालाई ढाका टोपी वितरण गरेको कार्य निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै आलोचना बढेको छ।

घर–घर पुगेर भोट माग्ने क्रममा गरिएको सामग्री वितरणको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि स्थानीय तहमा यसबारे चर्को बहस सुरु भएको हो। सामाजिक सञ्जालमा देखिएको भिडियोमा बालबालिकालाई बिस्कुट र पुरुष मतदातालाई ढाका टोपी वितरण गरिएको स्पष्ट देखिन्छ।

स्थानीयवासीका अनुसार यस प्रकारको गतिविधिले मतदाता लाई प्रभावित पार्ने उद्देश्य झल्किने भन्दै आपत्ति जनाएका छन्। “घरदैलो अभियानको नाममा सामग्री बाँड्नु मतदाता आकर्षित गर्ने प्रयास हो,” एक स्थानीयले भने।

निर्वाचन आचारसंहिताअनुसार कुनै पनि उम्मेदवार, राजनीतिक दल वा उनका प्रतिनिधिले मतदातालाई प्रलोभनमा पार्ने उद्देश्यले नगद, उपहार, सामग्री वा अन्य कुनै किसिमको सुविधा वितरण गर्न नपाइने स्पष्ट व्यवस्था छ। आचारसंहिताविपरीत कार्य गरेको पाइएमा कानुनी कारबाही हुने प्रावधान समेत रहेको छ।

यस विषयमा सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग स्थानीय स्तरबाट उठ्न थालेको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबै उम्मेदवारले आचारसंहिता पालना गर्नुपर्ने सरोकारवालाहरूको भनाइ छ।  भिडियो सामाजिक संञ्जाल

सम्बन्धित समाचार