चन्दननाथ नगरपालिकाका जेष्ठ नागरिकले पाएनन भत्ता ।

दिलमाया शाही जुम्ला
चन्दननाथ नगरपालिकामा ७ सय २० जना जेष्ठ नागरिकले भर्ता नपाएको गुनासो गरेका छन । उनिहरुले पहिलो चौमासिकमा पाउनु पर्ने सामाजिक सुरक्षा भत्ता नपाएपछि जुम्ला चन्दननाथ नगरपालिका भित्रका जेष्ठ नागरिकको यस पटकको दसैं नरमाइलो बनेको बताएका छन । पटक पटक भत्ता दिन आग्रह गर्दा पनि नगरपालिकाले सुनुवाई नगरेको जेष्ठ नागरिकको आरोप छ।
जुम्ला चन्दननाथ नगरपालिका ५ का ७८ वर्षीय पुर्णबहादुर खत्रीले भने चार महिनादेखि भत्ता पाएका छैन । उनले भने,‘दसैं त जसोतसो गयो , अब आउने तिहार कसरी मनाउने होला भन्ने चिन्ता लागेको छ।’ यस अघि वडा दशैमा भत्ता नपाउने छाँटकाँट देखेपछि एक हजार रुपैयाँ लुकाएर राखेको थिए । त्यही रुपैयाँले दसैं मनाएको हु । तिहारमा समस्या छ। उनले नगरपालिकाले जेष्ठ नागरिकलाई वास्ता गर्दैन। कसैले भत्ता निकालिएको छ भन्छन्। कसैले भत्ता निकालिएको छैन भन्छन्, हामी जेष्ठ नागरिक अन्यौलमा छौँ उनले गुनासो पोखे ।

जेष्ठ नागरिकको आयस्रोत भनेको सामाजिक सुरक्षा भत्ता हो। बिरामी पर्दा देखि चाडपर्व मनाउनको लागि उनिहरुले भत्ताको रकम खर्च गर्छन्। पुर्णबहादुर खत्रीलेभने हरेक चौमासिकमा ८ हजार रुपैयाँ पाउथे । हामी पटक पटक नगरपालिका भित्र छिर्र्छौ, हामी जस्ता बुढापाकालाई कसले वास्त गर्थे। अफिस भित्र पसे पनि टेर्दैनन्। उनले भने,‘हामी आशावादी छौँ। दिए खाने हो। नत्र भोकै बस्न तयार छौँ। जेष्ठ नागरिक संघ जुम्लाका अध्यक्ष तिर्थराज भारतीले जेष्ठ नागरिकलाई साथ दिने निकाय संघीयतापछि घटेको बताए । उनले भने पहिला गाविस हुँदा हरेक बजेट तर्जुमा गर्दा हामी सहभागी हुन्थ्यौँ। संघीयता आएपछि गाउँका सिंहदरवारले बजेट तर्जुमा गर्दा सहभागी गराउँदैनन । अध्यक्ष भारतीले भने,‘केन्द्रीकृत सत्ताले सम्मान दिएको जेष्ठ नागरिकलाई संघीयताले हेप्दै लगेको छ । जेष्ठ नागरिकको पक्षमा बोलिदिने नियम, कानुन, प्रशासन, राजनीतिक नेता छैनन्।’ उनले भने गत भदौ महिनादेखि नै भत्ता दिने वातावरण बनाउन आग्रह गरिएको थियो । जेष्ठ नागरिक सबै एकै प्रकारका छैनन्। कोहीले राम्रो परिवारको साथ पाउँछन्। कसैले दसैंका लागि भत्ताको आश गरिरहेका हुन्छन । तर गाउँका सिंहदरवारले न दसैंमा भत्ता दिए नत तिहारमा नै भत्ता दिने भए। यो निकै दुःखद् विषय हो। चन्दननाथ नगरपालिकामा ७ सय २० जना जेष्ठ नागरिक छन्। एकल महिला ३ सय ४५, बालबालिका एक हजार ४ सय, अपांगता भएका ब्यक्ति १ सय ६६ छन्।

६० वर्ष माथिका जेष्ठ नागरिकलाई महिनामा दुई हजार भत्ता दिइएको छ। ७० वर्ष माथिकालाई २ हजार भत्ता र एक हजार उपचार खर्च दिइने ब्यवस्था छ। एकल महिलालाई महिनामा दुई हजार र बालबालिकालाई प्रति महिना ४ सय रुपैयाँ भत्ता दिइन्छ। स्थानीय सरकारबाट अरु सुविधा पाउनुको साटो यहाका जेष्ठ नागरिकले, आफूले पाउने सेवा समेत नपाउदा दुखी बनेको बताएका छन ्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईले भने भत्तामा भइरहेको ढिलासुस्तीबारे गम्भीर बनेको छु ्। उनले भने, सामाजिक सुरक्षा वितरण गर्ने फाँटका कर्मचारीको बदमासीका कारण दसैंमा पनि भत्ता उपलब्ध गराउन सकेनौँ। तिहारमा पनि भत्ता दिन सकिने अवस्था छैन। उनले यसको लागी काम भइरहेको र यसको प्रक्रिया पुरा गरेर तिहार लगत्तै सामाजिक सुरक्षा भत्ता बाँड्ने बताए । सामाजिक सुरक्षा फाँटमा भइरहेको बदमासीको अख्तियारले पनि अनुसन्धान गरिरहेको छ। नगरपालिकाले पनि पटक पटक स्पष्टिकरण सोधेको प्रमुख प्रशासकीय अधिकृत चौलागाइले बताए ्। स्थानीय सरकारले जेष्ठ नगरिकको मर्का नबुझ्दा समस्या भइरहेको उनिहरुको गुनासो छ ।