परिमार्जन सहितका घर र शौचालय पाएपछि अपाङ्गता भएका व्यक्तिको जीवन सहज

मुगु :हिमाली जिल्ला मुगुको सोरुगाउँपालिका र मुगुमकार्मारोङ गाउँपालिकामा विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि अपाङ्गतामैत्रीपरिमार्जन (मोडिफिकेसन) सहितका घर, शौचालय र र्याम्प निर्माण गरिएपछि उनीहरूको दैनिकी निकै सहज बनेको छ।

बाल्यकालदेखि नै वा अन्य कारणले शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको अवस्था मूल्याङ्कन गरी आई.एन.एफ. नेपाल ले अपाङ्गतामैत्री आवास निर्माण गर्नुका साथै औषधि उपचार, स्वास्थ्य परीक्षण, ज्ञानमूलक तालिम, गोष्ठी तथा सेमिनारसमेत सञ्चालन गरेको हो। यस कार्यक्रमबाट लाभान्वित अपाङ्गता भएका व्यक्तिहरूले आफूहरू पहिलेभन्दा आत्मनिर्भर र सुरक्षित महसुस गर्न थालेका छन्।

सोरुगाउँपालिका–१ स्थित फुलबारी अपाङ्गता सञ्जालका अध्यक्ष चक्रबहादुर मल्ल का अनुसार, “संविधानले अधिकार गाउँ–गाउँमा पुगेको भने पनि व्यवहारमा अपाङ्गता भएका व्यक्तिका लागि सरकारी सेवा प्रभावकारी छैनन्। हामीलाई राज्यभन्दा संघ संस्थाले बढी सहयोग गरेका छन्।

बाल्यकालदेखि शारीरिक अपाङ्गता भएका सोरुगाउँपालिका–६ का मनजन नेपालीले आफूले भोगेको पीडा स्मरण गर्दै भने, आर्थिक अवस्था कमजोर थियो, पुरानो परम्परागत घर भएकाले एक कोठाबाट अर्को कोठामा जानसमेत कठिन थियो। शौचालय प्रयोग गर्न झन् गाह्रो हुन्थ्यो। आई.एन.एफ. नेपालले अपाङ्गतामैत्री घर, शौचालय र हिँड्ने ¥याम बनाइदिएपछि अहिले मेरो दैनिकी निकै सहज भएको छ। मेरो लागि आई.एन.एफ. नेपाल भगवानजस्तै हो।

आई.एन.एफ. नेपाल को आर्थिक सहयोग र स्थानीय पालिकाको सहजीकरणमा सन् २०२५ मा सञ्चालित समावेशी स्वास्थ्य सेवा परियोजना अन्तर्गत हिँडडुल गर्न नसक्ने अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी यस्ता संरचना निर्माण गरिएको हो।

सो परियोजना अन्तर्गत मुगुमकार्मारोङ गाउँपालिकामा रहेका ९ जना अपाङ्गता भएका व्यक्तिका लागि परिमार्जित (मोडिफिकेसन) शौचालय र र्निर्माण गर्न २१ लाख ५५ हजार ७०५ रुपैयाँ खर्च गरिएको छ। यस्तै, सोरुगाउँपालिकामा रहेका ९ जना अपाङ्गता भएका व्यक्तिका लागि घर, शौचालय र ¥याम निर्माणमा ३१ लाख २ हजार ८८ रुपैयाँ लगानी गरिएको छ।

यसरी दुई पालिकामा गरी १८ जना अपाङ्गता भएका व्यक्तिले मोडिफिकेसन घर, शौचालय र र्यामको सुविधा पाएका छन्। साथै, दुबै पालिकाका १५ जना व्यक्तिको व्यक्तिगत उपचार, स्वास्थ्य संस्थाका कर्मचारीहरूलाई तालिम, गोष्ठी तथा सेमिनार, स्वास्थ्य उपकरण र फिजियोथेरापी सामग्री वितरण, स्वास्थ्य परीक्षण तथा जनचेतनामूलक अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको आई.एन.एफ. नेपालका समावेशी स्वास्थ्य सेवा परियोजनाका अधिकृत नरेन्द्र चन्द ले जानकारी दिए।

सोरुगाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही ले आई.एन.एफ. नेपालले पालिकाले गर्न नसकेका धेरै महत्वपूर्ण काम गरेको उल्लेख गर्दै भने,अपाङ्गता भएका व्यक्तिका लागि औषधि उपचार, तालिम, सहायक सामग्री, मोडिफिकेसन घर, शौचालय र र्याम्प निर्माणलगायत स्वास्थ्य संस्थामा उपकरण सहयोग प्रभावकारी छ। तर समावेशी स्वास्थ्य सेवा परियोजनाको कार्यअवधि सकिन लागेको कुरा दुःखद छ।