मुगुमा सेनाको बोलेरो जिप दुर्घटना हुँदा एक सैनिकको मृत्यु

मुगु । मुगुको पानी भन्ने स्थानमा सेनाको बोलेरो जिप दुर्घटना हुँदा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ।

हनुमान ध्वज गुल्म, हुटु राराबाट भुलभुलेसम्म सैनिक पुर्‍याएर फर्किने क्रममा जिप दुर्घटनामा परेको हो। मुगु जिल्ला प्रहरी कार्यालयका डिएसपी रवि राज थपलियाका अनुसार दुर्घटनामा हनुमान ध्वज गुल्मका अमलदार (चालक) हरिसिंह ऐडीको मृत्यु भएको हो।

बैतडी जिल्लाको पाटन नगरपालिका ४, बगाडी स्थायी घर भएका ऐडीलाई उपचारका लागि मुगु अस्पताल ल्याइएको थियो। तर अस्पतालले उनलाई आज बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको हो।

न १ झ १०३९ नम्बरको बोलेरो जिप रारा छायानाथ नगरपालिका ७ स्थित पिना प्रहरी चौकी अगाडि रहेको आलादुना खोलाको मोडमा दुर्घटनामा परेको थियो। आइतबार बेलुकी ७ बजेर ७ मिनेटमा दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो।

दुर्घटनाग्रस्त बोलेरो सडकबाट करिब २०० मिटर तल खसेको थियो। घाइते चालकलाई राति करिब १० बजे मुगु अस्पताल पुर्‍याइएको भए पनि बचाउन नसकिएको प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए।

दुर्घटनाको कारण हालसम्म खुल्न नसकेको भए पनि स्थानीयका अनुसार उक्त मोडमा बेला–बेला दुर्घटना हुने गरेको हाे। मृतक ऐडीको शव पोस्टमार्टमको तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएकाे छ ।