तारा राेकायाकाे पीडा:समाजको अँध्यारोमा उज्यालो खाेज्दै गरेकाे सानाे आशा
जुम्ला :गुठीचौर गाउँका एक वडाको कुनामा,दुःख, पीडा र मौन सहनशीलताले भरिएको एउटा जीवन छ । त्यो जीवन हो तारा रोकायाको अन्जादी उमेर ३५ वर्षीया महिला, जसले आफ्नै परिवार, समाज र संस्कृतिले थोपारेका अनगिन्ती घाउहरू बोकेर बाँचिरहेकी छन् ।
झण्डै १५ वर्षअघि उनले गडिगाउँका दिलबहादुर रोकायासँग विवाह गरेर नयाँ जीवन सुरु गरेकी थिइन्। विवाहपछि जन्मिएका उनका १४ वर्ष की छोरी र १० वर्षका छोराले उनले आफ्नो संसार नै पूरा भएको महसुस गरेकी थिइन् । तर समय कठोर बन्यो,तीन वर्षदेखि श्रीमानले उनीप्रति कुनै वास्ता गरेनन्, न त जिम्मेवारी नै लिए। उल्टै, दुवै छोराछोरीलाई लिएर उनलाई घरमै एक्लै छाडिदिए।
एक्लोपन, समाजको हेपाइ र श्रीमानको बेवास्ता बीच तारा आफ्नो पाेईली गाउँमा बाँचि रहिन्,कहिले आँसुमा, कहिले आशामा, कहिले निराशामा। मायालु आँगन हुनुपर्ने माइतीघर पनि उनका लागि थकित भईदियाे । श्रीमानले अलग पारेका सन्तानको सम्झनामा दिनरात रोइरहने ताराको मन झन् आक्रोश र वेदनाले भरिंदै गयो।
ताराकी सानी आमा मैहिमी ऐडिका अनुसार यसकै बीच, गत भदौ २५ गते एउटा दुर्घटना कुनै रहस्य, कुनै पीडा, कुनै मौन बोल्ने घटना। उनी आफ्नै घरकाे पाडकाे (छत) बाट लडेर गम्भीर घाइते भइन्। उनको शरीर थर्थर काँप्थ्यो, हात काबुमा रहँदैनथ्यो, बान्ता गर्थिन् । तर उपचारभन्दा पहिले ‘देउता लाग्यो’भन्दै झारफुकमा अल्झाइयो जुम्लाको ग्रामीण महिलाले झेल्नु पर्ने वास्तविकता यही हो।कहिले महिनावारीका कारण देउता रिसाउछन त कहिले चाेटपटक लाग्दा ।
अन्ततः उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइयो,तर दुर्घटनाको तथ्य लुकाएर। एक साताको उपचार र मनोपरामर्शपछि उनलाई घर पठाइयो। तर उनको पीडा अझै बाँकी रह्याे। उनकाे अहिले पनि शरीर चल्दैन, कहिलेकाहीँ आवाज बन्द हुन्छ, बोल्न सकेको बेला चाहिँ एउटै कुरा दोहोर्याउँछिन्,
“मेरो छोरी,छोरा ल्याइदिऊ न।यो वाक्यमा एउटा आमाको संसार, उसको टुटेको मन, उसको असहाय अवस्था सबै लुकेको छ।
त्यस्तै आइतबार उनलाई फेरि जुम्लास्थित राष्ट्रिय मानव अधिकार आयोग र महिला जागरण जुम्लाले उपचारका लागि प्रतिष्ठानमा ल्याएकाे छ । अहिले उनी OCMC मार्फत उपचाररत छिन्। जिल्ला प्रहरी कार्यालयको सवारी साधनले उनलाई अस्पतालसम्म पुर्यायो।यो सहायतामा पनि आशाको सानो उज्यालो देखिन्छ।
गुठीचौर १ का वडा अध्यक्ष अर्जुनकुमार महतारा उनलाई थप उपचारमा सहयोग गर्न तयार रहेको बताउछन ।उनी उनको अवस्था बारे जानकार रहेकाेले स्थानीय सरकारका तर्फबाट गर्न सक्ने सहयोग गर्न तयार रहेकाे बताउछन ।यो अँध्यारोमध्ये देखिएको अर्को झिल्को हो। तर यस्ता व्यक्तिगत सहयोगभन्दा ठूलो अपेक्षा चाहिँ समाजकै संरचनाबाट हुन्छ,त्यो संरचना जसले हिंसा झेलिरहेकी महिलालाई अझै दोषी ठान्छ, जसले ‘पराई घर गएकी छोरी’लाई आफ्नै माटोमा समेत स्थान दिन सक्दैन ।
राष्ट्रिय मानव अधिकार आयोग जुम्लाकी प्रमुख कल्पना नेपाल आचार्यले भनिन्“पर्दा पछाडि रहेका पीडालाई मलम लगाउन सरोकारवालाहरूले अब एक-एक कदम अघि बढ्नुपर्छ।
उनले भनिन, नैतिकता, संस्कार र मान्यताका नाममा पुस्तौँदेखि पालिएको हिंसालाई जरैदेखि उखेलेर फाल्न समय आउन जरुरी छ।
त्यस्तै हाम्रो समाजमा छोरीलाई आफू जन्मिएको घरबाटै विवाह गरेर दिदा ‘पाप पखाले जस्तो व्यवहार गरि अनमाईन्छ ।यही सोचले महिलामाथिको हिंसा अझै बढाएको छ। हिंसा शारीरिक मात्रै हुँदैन बेवास्ता, तिरस्कार, अपहेलनाले पनि मान्छे मानसिक र शारीरिक रूपमा हुन्छ । तारा आज त्यही पीडामा ढलेकी छिन्।
तर याे समाजमा तारा मात्रै एक्ली होइनन् ताराजस्ता कति महिलाहरू छतबाट लडेर होइन, समाजको कठोर व्यवहारबाट लडिरहेका छन्।
कति महिलाहरू झारफुक र अन्धविश्वासले थप पीडा भोगिरहेका छन्।कति महिलाहरू आफ्नो छुटाइएका छोराछोरीको नाम दोहोर्याउँदै, भोकै बसी, आँसु पुछ्दै बाँचिरहेका छन्।
यहाँ प्रश्न तारा कसरी लडिन भनेर होइन,हाम्रो समाज कति संवेदनहीन बनेर बसिरहेको छ? भन्नेमा हाे।
हामीले तारा जस्ता पीडित महिलालाई हेर्ने दृष्टिकोण बदल्नैपर्छ,उनलाई दया होइन, अधिकार आवश्यक छ; आँसु पुछ्ने काँध होइन, न्याय र सम्मान आवश्यक छ ।आज तारा अस्पतालको शय्यामा छन्।तर उनको कथा हजारौँ महिलाको सामूहिक आवाज हो।यो आवाज हामीले सुन्नैपर्छ, स्वीकार्नैपर्छ, र बदल्नैपर्छ।
ताराजस्ता महिलाको आँशु सुख्खा हुने दिन कहिले आउला?
त्यो दिन तब मात्र सम्भव छ,जब समाजले महिलालाई दया होइन, सम्मान र सुरक्षा दिन सिक्छ।त्यो दिन तब सम्भव छ,जब हामीले कुरीति होइन, मानवीयता रोज्छौँ।त्यो दिन तब सम्भव छ,जब तारा जस्ता आमाले फेरि भन सक्नेछन्,अब म ठिक छु,मेरो छोरी–छोरा मेरो नजिकै छन्।








