कर्णाली प्रतिष्ठान समृद्धिका लागि सर्वपक्षीय सुझाव संकलन
जुम्ला: कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले आफ्नो समृद्धि र दीगो विकासका लागि सर्वपक्षीय सुझाव संकलन गरेको छ। प्रतिष्ठानले राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, पत्रकार तथा विभिन्न सरोकारवाला निकायसँग व्यापक छलफल गर्दै सुझाव लिएको हो।
जुम्लामा आयोजित कार्यक्रममा सहभागीहरूले प्रतिष्ठान स्थापना भई छोटो समयमै हासिल भएका उपलब्धिहरूलाई गौरवको विषय बताएका छन्। चिकित्सा शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति भएको प्रशंसा गर्दै उनीहरूले अब स्वास्थ्य सेवा अझ प्रभावकारी र गुणस्तरीय बनाउन विशेष ध्यान दिनुपर्नेमा जोड दिएका छन्।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले पछिल्लो पाँच वर्षमा प्रतिष्ठानले गरेको प्रगतिलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै सर्वपक्षीय सुझाव संकलन कार्यक्रम प्रभावकारी भएको बताए। उनले सुधार गर्नुपर्ने पक्षमा स्पष्ट सुझाव दिँदै यस्ता पहललाई निरन्तरता दिन आग्रह गरे।
त्यसैगरी, पूर्व राज्यमन्त्री बलबहादुर महतले प्रतिष्ठान स्थापनामा योगदान गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा आवश्यक सहयोग गर्न आफू सधैं तयार रहेको प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी अधिकांश सुझावकर्ताहरूले आफ्ना भोगाइ र अनुभवका आधारमा स्वास्थ्य सेवा सुधारका लागि ठोस सुझाव प्रस्तुत गरेका थिए।
प्रतिष्ठानका उपकुलपति डा. पुजन रोकाया र रजिष्ट्रार लक्ष्मी महतले प्राप्त सुझावहरूलाई गम्भीरतापूर्वक लिँदै सुधारका क्षेत्रमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रतिष्ठानको समग्र प्रगति सम्बन्धी प्रस्तुतीकरण पनि गरिएको थियो। शिक्षाध्यक्ष डा. डबलसिंह धामीले शैक्षिक गतिविधिबारे जानकारी गराएका थिए भने नर्सिङ निर्देशक सविना थापाले स्वास्थ्य सेवामा भएका प्रयास, उपलब्धि, चुनौती र सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
समग्रमा, कर्णाली प्रतिष्ठानले आगामी यात्रा अझ प्रभावकारी, उत्तरदायी र जनमुखी बनाउने दिशामा सर्वपक्षीय सहकार्यको संकेत देखाएको छ।





