एकल महिलाको चरित्रमा होइन, समाजको सोचाइमा समस्या छ


जुम्ला : कहिलेकाहीँ एउटा सानो घटना समाजका ठूला यथार्थहरू उजागर गर्न पर्याप्त हुन्छ। करिब एक साता अगाडि भेटिएकी एकल आमाको कथा पनि त्यस्तै थियो ।दुःख, संघर्ष र समाजको कठोर दृष्टिकोणले भरिएको।
श्रीमान् गुमाएपछि तीन नाबालक छोराछोरीको जिम्मेवारी बोकेकी उनी एक वर्षसम्म भौतारिइन्। सहयोगको अपेक्षा गरिन्, तर समाजले साथ दिनुभन्दा बढी दया देखायो। त्यो पनि व्यवहारमा होइन, शब्दमा मात्र। सुरुमा सहानुभूति देखाउनेहरू नै पछि अपमान र उपेक्षाका कारण बन्न पुगे।
उनको यो एउटा अत्यन्त पीडादायी क्षण छ ।जब छिमेकीको घरमा एउटा बच्चाले खाना खाँदै गर्दा, उनले हेरेको मात्र कारणले “आँखा लगाउँछे” भन्दै हप्काइ पाइन्। त्यो केवल अपमान थिएन, त्यो समाजको मानसिकताको प्रतिविम्ब थियो।
त्यो घटनाले उनलाईन आफ्ना बच्चाहरूलाई अरूसँग खेल्न पठाउन पनि डर लाग्ने अवस्था बन्यो। अन्ततः उनी आफैंले बच्चाहरूलाई गाउँमा अरुका बच्चा संग खेल्न जानबाट रोक्न थालिन्। अनी जीविका चलाउन गिट्टी कुट्ने, बालुवा बोक्ने जस्ता कठोर काम गर्दै जीवन अघि बढाइरहेकी थालिन ्। तर अहिले पनी समाजको नजरमा उनको संघर्ष होइन, चरित्र चर्चाको विषय बनाउने गरेको सुनाउछिन । उनले सुनाएको पीडाले मेरो मनमा पनि पीडा उब्जायो। विभिन्न समस्याका कारणले एकल जीवन बिताइरहेका महिलामा समस्या होइन, समाजको सोचाइमा छ। मैले यो भनिरहँदा यो पीडाबाट म पनि अछुतो छैन। कर्णालीको दुर्गम भूगोलबाट पत्रकारिता पेसामा संघर्षरत रहँदै केवल आफ्नो अनुभव होइन, हजारौँ महिलाको साझा पीडा व्यक्त गरिरहेकी छु।
हाम्रो समाज अझै पनि महिला र पुरुषलाई समान दृष्टिले हेर्न तयार छैन। एउटै काम, एउटै परिवेश र एउटै व्यवहार हुँदा पनि मूल्याङ्कन फरक हुन्छ। पुरुषको हिँडाइलाई “नेटवर्किङ” भनिन्छ, महिलाको हिँडाइलाई “शंका” बनाइन्छ। अनि पुरुषको सक्रियता “क्षमता” बन्छ, महिलाको सक्रियता “चरित्र”सँग जोडिन्छ। विशेषगरी एकल महिलाहरूको हकमा यो दृष्टिकोण झन् कठोर छ।

श्रीमान् गुमाएकी वा सम्बन्ध विच्छेद गरेर आत्मनिर्भर बन्न खोजेकी महिलालाई समाजले स्वतन्त्र व्यक्तिको रूपमा होइन, शंकास्पद पात्रको रूपमा हेर्छ। अझ चिन्ताजनक कुरा के छ भने, यस्ता टिप्पणीहरू केवल अशिक्षित समुदायबाट मात्र होइन, शिक्षित र जिम्मेवार ठानिएका व्यक्तिहरूबाट पनि आउने गरेका छन्। जब सचेत भनिएका मानिसहरू नै पूर्वाग्रही सोचको हिस्सा बन्छन्, तब सामाजिक सुधारको बाटो झन् कठिन बन्छ।
दोहोरो मापदण्डको जालो

एउटी महिला आफ्नो कामको सिलसिलामा पुरुषसँग हिँड्दा, भेट्दा वा सहकार्य गर्दा त्यसलाई सहकार्यको रूपमा होइन, अनैतिक सम्बन्धको रूपमा व्याख्या गरिन्छ। तर त्यही काम पुरुषले गर्दा, त्यो उसको पहुँच र प्रभावको प्रमाण मानिन्छ। यो दोहोरो मापदण्ड केवल अन्याय मात्र होइन, सामाजिक विभेदको जरो पनि हो। मैले आफैंले पनि यो भोगेकी छु। उसो त विभिन्न पेसागत हिसाबले जोडिएर काम गर्ने सबै पुरुष मेरा नाता,गोता, उमेर, पदीय जिम्मेवारीले ,उनीहरूलाई कुनै फरक पर्दैन। बस, मसँग जो नजिकै हुनेहरू सबैलाई मेरो चरित्रसँग जोडिन्छन्। उनीहरुको नजरमा सबै एकल महिलाहरू खराब हुन्छन् अनि पुरुषचाहिँ दूधले नुहाएका हुन्छन्। तिमीहरूले मेरो चरित्रसँग हजारौं पुरुषलाई जोडेर बस, आफ्नै खर्च गरेर खाएको चिया खाजाको स्वाद भन्दा मेरो चरित्रको मिठासको स्वाद लेऊ। त्यो छुट यो समाजमा तिमी जस्ता दरिद्र सोच भएकाहरूलाई दिएकै छ। अब यति कुरा बुझ कि त्यो सजायको भागिदार म मात्रै भएकी छैन, तिम्रा दिदीबहिनी, छोरीहरू पनि भएका छन ,यो कुरा हेक्का राख।

तिमिहरुले नसोचुन पनी कसरी यही समाजका केही बालिकाहरु आफ्नै घरभित्र असुरक्षित छन्। आफन्तबाटै यौन हिंसाका घटना भइरहेका छन्, तर ति पीडितलाई चुप लगाइन्छ, न्यायको आवाज दबाइन्छ। त्यो समाजका लागि सर्वस्वीकार्य जस्तै देखिन्छ।

तर, एकल महिलाको स्वतन्त्रता भने सजिलै आलोचनाको विषय बन्छ। यो कस्तो न्याय हो? यो कस्तो सामाजिक संरचना हो, जहाँ वास्तविक अपराध भन्दा बढी महिलाको स्वतन्त्रता “समस्या” देखिन्छ? मलाई लागिरहेको छ,समस्या महिलामा छैन, समस्या हाम्रो सोचमा छ। त्यो सोच, जसले महिलालाई स्वतन्त्र व्यक्तिको रूपमा स्वीकार गर्न सक्दैन।
महिलाको चरित्र, कि आफ्नो सोचको स्तर
महिला हुनु अपराध होइन, एकल हुनु कमजोरी होइन, पुरुषसँग सहकार्य गर्नु अनैतिक होइन। म एक पत्रकार मात्र होइन, एक जिम्मेवार नागरिकको रूपमा आग्रह गर्छु । महिलालाई हेर्ने नजर बदलौँ, प्रश्न गर्ने तरिका बदलौँ, समर्थन गर्ने संस्कारको विकास गरौँ,, किनकि जबसम्म समाजको सोच बदलिँदैन, तब सम्म महिलाको स्वतन्त्रता सधैँ प्रश्नको घेरामा रहने छ। र त्यो केवल महिलाको होइन, सम्पूर्ण समाजको हार हुने छ।