लुकीछिपी यार्सागुम्बा टिप्न गएका २५ जना पक्राउ
मुगु: हिमाली जिल्ला मुगुको पूर्वी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिका क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न लुकीछिपी पाटन प्रवेश गरेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बिहीबार मुगुम कार्मारोङ गाउँपालिकास्थित विभिन्न यार्सा पाटन क्षेत्रमा चोरीछिपी प्रवेश गर्दै गरेका जुम्ला जिल्लाको पातारासी गाउँपालिका वडा नं. १ र २ का एक बालिकासहित २५ जनालाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रविराज थपलिया ले बिना अनुमति वन तथा पाटन क्षेत्रमा प्रवेश गर्ने व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
उहाँका अनुसार यसअघि पनि जिल्ला प्रहरी कार्यालय मुगु तथा मातहतका प्रहरी चौकीहरूको समन्वयमा ठूलो संख्यामा यार्सा चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी सम्झाइबुझाइपछि सम्बन्धित स्थानमा फर्काइँदै आएको थियो। यस पटक पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर बयान लिने तथा हाजिरी जमानीमा छाड्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
हालसम्म मुगुम कार्मारोङ गाउँपालिका ले यार्सागुम्बा संकलनका लागि कुनै आधिकारिक सूचना जारी गरेको छैन। गाउँपालिकाले केही दिनअघि सूचना प्रकाशित गर्दै यार्सा पाटन आधिकारिक रूपमा नखुल्दासम्म कसैलाई पनि पाटन क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको थियो।
यार्सागुम्बा संकलनको समय नजिकिँदै जाँदा मुगुका विभिन्न पाटन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। यो वर्ष यार्सागुम्बा संकलनका लागि पाटन कहिले खुलाउने भन्ने विषयमा भने अझै निर्णय सार्वजनिक गरिएको छैन।
मुगु जिल्लाका दुई दर्जनभन्दा बढी वन तथा पाटन क्षेत्रमा पाइने बहुमूल्य र बहुउपयोगी जडीबुटी यार्सागुम्बा संकलनका लागि हुम्ला, जुम्ला, बाजुरा, दैलेख, कालिकोट, अछामलगायत जिल्लाका साथै भारतबाट समेत संकलक तथा व्यापारीहरू पुग्ने गर्दछन्।
यार्सागुम्बा यहाँका स्थानीय बासिन्दाको प्रमुख आर्थिक स्रोतका रूपमा रहेको छ। धेरै परिवारले वर्षभरिको घरखर्च यार्सागुम्बा बिक्रीबाट नै धान्ने गरेका छन्।









