हिमा गाउपालिकाले दोस्रो पटक पनि जित्यो राष्ट्रपति रनिङ शिल्ड
जुम्ला : ऐतिहासिक १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता विधिवत रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा समावेश विभिन्न विधामध्ये सबैभन्दा बढी २५ वटा स्वर्ण पदक जित्दै हिमा गाउँपालिका लगातार दोस्रो पटक रनिङ शिल्ड जित्न सफल भएको हाे ।
हिमा गाउँपालिकाका खेलकुद प्रशिक्षक धिरेन्द्र रोकायाका अनुसार चन्दननाथ नगरपालिका १४ वटा स्वर्ण पदकसहित दोस्रो स्थानमा रहेको छ भने पातारासी गाउँपालिकाले पाँच वटा स्वर्ण पदक जित्दै तेस्रो स्थान हासिल गरेको छ। प्रशिक्षक रोकायाले हिमा गाउँपालिकाले गत वर्षको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गरेको जानकारी दिए।
हिमा गाउँपालिकाको सचिवालयका अनुसार प्रतिकूल मौसम, भौगोलिक विकटता तथा विभिन्न चुनौतीबीच पनि गाउँपालिकाले आफ्ना सम्पूर्ण संयन्त्र परिचालन गरी प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेको हो।
प्रतियोगितालाई सफल बनाउन गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा, शिक्षा युवा तथा खेलकुद उपाध्यक्ष धिरेन्द्र रोकाया, कालिका मावि तलिकुडुका खेल प्रशिक्षक तथा खेलप्रेमी डुगल शाही, नेत्रज्योति मावि ओदीका प्रधानाध्यापकसहित विद्यालय परिवार, विभिन्न खेलका प्रशिक्षक, सुरक्षाकर्मी, पत्रकार, स्वयंसेवक तथा स्थानीय समुदायको महत्वपूर्ण योगदान रहेको सचिवालयले जनाएको छ।
यस वर्षको प्रतियोगितामा गुठीचौर गाउँपालिका बाहेक जिल्लाका अन्य सातवटा पालिकाको सहभागिताले प्रतियोगिता थप प्रतिस्पर्धात्मक र रोचक बनेको आयोजकले जनाएको छ। सहभागी पालिकाप्रति आयोजक हिमा गाउँपालिकाले आभार व्यक्त गरेको छ।
प्रतियोगिताभर अनुशासित र शान्तिपूर्ण वातावरणमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विभिन्न स्थान हासिल गर्ने सम्पूर्ण पालिका तथा खेलाडीलाई आयोजकले बधाई तथा धन्यवाद ज्ञापन गरेको छ।
गाउपालिकाले आफ्नाे आधिकारिक समाजिक संञ्जाल मार्फत खेलप्रेमी खेलाडी भाइबहिनीहरूको खेलप्रतिको उत्साह, जागर र क्षमताको विकाससँगै खेल क्षेत्रमा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको छ।









