डिजिटल प्रविधिबाट बढ्दो साइबर हिंसा : महिला र बालबालिका बढी जोखिममा

जुम्ला : पछिल्लो समय डिजिटल प्रविधिको तीव्र विस्तारसँगै सामाजिक सञ्जालमार्फत हुने साइबर अपराध तथा लैंगिक हिंसाका घटना बढ्दै गएका छन्। फेसबुक, टिकटक, ह्वाट्सएप लगायत सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा बालबालिकामाथि मानसिक, आर्थिक र यौनजन्य हिंसा हुने क्रम बढेको सरोकारवालाले बताएका छन्।

जुम्लामा शनिबार आयोजित लैंगिकतामा आधारित हिंसा न्यूनीकरण, कानुनी अधिकार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी क्षमता अभिवृद्धि अनुशिक्षण कार्यक्रममा सर्वोदय नेपालका परियोजना व्यवस्थापक भानुभक्त लिम्बूले डिजिटल माध्यमबाट भइरहेका अपराधका विभिन्न स्वरूपबारे जानकारी दिएका हुन्।
उनका अनुसार फेक आईडी बनाएर फोटो तथा भिडियो तोडमोड गरी सामाजिक सञ्जालमा सार्वजनिक गर्ने, विभिन्न प्रलोभनमा पारेर यौन शोषणको प्रयास गर्ने, अनलाइनमार्फत ठगी गर्ने, मानसिक दबाब सिर्जना गर्ने तथा साइबर क्राइमका गतिविधि बढ्दै गएका छन्।

“डिजिटल प्रविधिको सकारात्मक प्रयोग आवश्यक भए पनि यसको दुरुपयोगले विशेषगरी महिला र बालबालिका बढी पीडित भइरहेका छन्,” उनले भने। उनले सामाजिक सञ्जाल प्रयोग गर्दा व्यक्तिगत विवरण सुरक्षित राख्न, अपरिचित व्यक्तिसँग अनावश्यक सम्पर्क नगर्न तथा शंकास्पद गतिविधिबारे तुरुन्त सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरे।

कार्यक्रममा सहभागीहरूले साइबर हिंसाका घटना गाउँस्तरसम्म फैलिन थालेको भन्दै सचेतना अभिवृद्धि आवश्यक रहेको बताएका थिए। उनीहरूले डिजिटल साक्षरता, कानुनी जानकारी र समुदायस्तरीय निगरानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन्।

आयोजकका अनुसार प्रविधिको पहुँच बढेसँगै साइबर अपराध नियन्त्रण, महिला तथा बालबालिकाको सुरक्षा र डिजिटल अधिकार संरक्षणका विषयमा समुदायस्तरमै सचेतना फैलाउन यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।

त्यस्तै लैंगिकतामा आधारित हिंसा न्यूनीकरण, कानुनी अधिकार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी क्षमता अभिवृद्धि अनुशिक्षण समेत गरिएकाे छ।
विकासका लागि अभियान नेपाल (सर्वोदय नेपालको )आयाेजनामा “हाम्रो साहस” परियोजनाको आयोजनामा कार्यकारी पदाधिकारी, परियोजना कर्मचारी, स्थानीय सरोकारवाला तथा अगुवाहरूलाई सहभागी गराई कार्यक्रम सञ्चालन गरिएको हो।

त्यस्तै कार्यक्रममा अधिवक्ता मिम बहादुर महतले लैंगिकतामा आधारित हिंसाको अवधारणा, कानुनी प्रावधान, मानव अधिकार तथा हिंसाका घटनाको पहिचानबारे प्रशिक्षण दिएका थिए। उनले मानसिक, शारीरिक, आर्थिक, सामाजिक तथा धार्मिक हिंसाजस्ता विभिन्न स्वरूपका हिंसाबारे जानकारी गराउँदै समाजमा अझै पनि महिलामाथि विभेद कायम रहेको बताए।उनले घरेलु हिंसा, बालविवाह, महिनावारीका समयमा गरिने विभेद, छोरी जन्मिएको निहुँमा हुने दुर्व्यवहार तथा तेजाब आक्रमणजस्ता घटनाले लैंगिक असमानता अझ गम्भीर बनाइरहेको उल्लेख गरे।“हिंसा केवल शारीरिक मात्रै होइन, मानसिक र सामाजिक दबाब पनि हिंसाकै रूप हुन् उनले भने।

त्यस्तै सर्वोदय नेपालका सचिव तथा तातोपानी गाउँपालिकाका उपाध्यक्ष रेवती रावलले लैंगिक हिंसा न्यूनीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताइन्। उनले पछिल्ला वर्षहरूमा समाजमा केही सकारात्मक परिवर्तन देखिए पनि अझै चेतनाको आवश्यकता रहेको उल्लेख गरिन्।उनले कुनै पनि व्यक्तिमाथि हुने हिंसा स्वीकार्य हुँदैन। यस्ता कार्यक्रमले समुदायस्तरमा सचेतना बढाउन सहयोग पुर्‍याउने छ।

त्यस्तै सर्वोदय नेपालका कार्यकारी निर्देशक कमलराज खत्रीले महिला र पुरुषबीचको असमानता समाजको दीर्घकालीन समस्या भएको बताए। उनले महिलाहरू अझै घरेलु हिंसा, विभेद तथा महिनावारीसँग जोडिएका कुसंस्कारका कारण पीडित भइरहेको उल्लेख गरे।
त्यस्तै कार्यक्रममा सहभागीहरूले लैंगिक हिंसाविरुद्ध कानुनी जानकारी, अधिकार संरक्षण तथा प्रभावकारी वकालतका विषयमा अनुभव आदानप्रदान गरेका थिए। यस्ता अनुशिक्षण कार्यक्रमले समुदायमा लैंगिक समानता प्रवर्द्धन गर्न तथा हिंसा न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।