पातारासीका बिरामी बचाउने डा:निलम खड्काकाे टोलीलाई गाउपालिकाले गर्याे सम्मान

जुम्ला : पातारासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकायाले पातारासी गाउँपालिकाका बिरामी गोरबहादुर बोहोराको सफल शल्यक्रियापछि चिकित्सक टोलीलाई सम्मान गरेकी छन्।

शुक्रबार गुठीचौर गाउँपालिका नजिक रहेको विपश्यना ध्यान केन्द्रमा पुगेका बिरामीको सफल शल्यक्रिया गरेपछि डा. निलम खड्का सहित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक टोलीलाई सम्मान गरिएको हो।

उपाध्यक्ष रोकाया, बिरामीका आफन्त तथा स्थानीयवासी चिकित्सक टोलीलाई धन्यवाद तथा सम्मान व्यक्त गर्न पुगेका थिए। टाउकोसम्बन्धी गम्भीर समस्या भएका बिरामीको सफल उपचार तथा शल्यक्रियापछि स्थानीयवासीले राहत महसुस गरेका छन्।

दुर्गम क्षेत्रमा निजी कामका क्रममा पुगेका बेला पनि बिरामीको सेवामा खटिएको भन्दै उपाध्यक्ष रोकायाले डा. निलम खड्का, डा. निर्मल थापा लगायतको चिकित्सक टोलीप्रति आभार व्यक्त गरिन्। उनले ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउनु स्थानीयका लागि ठूलो उपलब्धि भएको बताइन्।

बिरामीका आफन्तले पनि कठिन परिस्थितिमा जोखिम मोलेर उपचारमा संलग्न चिकित्सक टोलीको प्रशंसा गरेका छन्। सफल शल्यक्रियापछि बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा न्युरो विशेषज्ञ चिकित्सकको अभाव रहेको अवस्थामा गरिएको उक्त उपचारले बिरामीका परिवारलाई ठूलो राहत मिलेको आफन्तजनले बताएका छन्।