भुस्या कुकुरको बिगबिगी बढ्दा जुम्लामा बालबालिका असुरक्षित,नियन्त्रणमा स्थानीय सरकारको उदासीनता
जुम्ला: जुम्ला जिल्लामा भुस्या कुकुरको संख्या बढ्दै जाँदा सर्वसाधारण विशेषगरी बालबालिका जोखिममा परेका छन्। पछिल्ला दिनहरूमा विद्यालय जाने विद्यार्थीहरूलाई कुकुरले टोक्ने घटनाहरू बढेपछि सरोकारवाला निकायप्रति प्रश्न उठ्न थालेको छ।
पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्र सिंह बुढथापाका अनुसार विशेष परिस्थितिमा ऐन बनाएर नगरपालिकाहरू र गाउँपालिकाहरूलाई भुस्या कुकुर नियन्त्रण गर्ने तथा आवश्यक परे मार्नेसम्मको अधिकार रहेको छ। उनका अनुसार स्थानीय सरकारसँग समन्वय गरेर भुस्या कुकुर नियन्त्रणका लागि विशेष जाली प्रयोग गरी टाढैबाट समात्ने व्यवस्था गर्न सकिन्छ। तर हालसम्म यसतर्फ पर्याप्त पहल भएको देखिँदैन।
जिल्लाभर भुस्या कुकुरको समस्या बढ्दै जाँदा विद्यालय जाने बालबालिकासमेत जोखिममा परिरहेका छन्। स्थानीयका अनुसार दुई दिनअघि मात्रै कैलाश स्कुल र एसिया स्कुलमा अध्ययनरत बालबालिकालाई कुकुरले टोक्दा उनीहरूलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर रेबिजविरुद्धको खोप लगाइएको थियो।
त्यसअघि तातोपानी क्षेत्रमा पनि १४ जनालाई कुकुरले टोक्ने घटना भएको बताइएको छ। यस्तै, हिमा गाउँपालिकामा समेत सडकमा हिँडिरहेका नागरिकलाई कुकुरले आक्रमण गरेको स्थानीयले बताएका छन्।
लगातार यस्ता घटनाहरू भइरहँदा स्थानीय तहका पशु शाखा र सम्बन्धित निकायहरू समस्या समाधानतर्फ प्रभावकारी रूपमा अघि नबढेको भन्दै नागरिकहरूले गुनासो गरेका छन्।
भुस्या कुकुरको समस्या नियन्त्रणका लागि दीर्घकालीन योजना, जनचेतना र समन्वित प्रयास आवश्यक देखिएको छ।भुस्या कुकुर हुन वा होइनन भन्ने बिषयमा गहिरो अनुसन्धान गरी जिम्मेवार निकायलाई उत्तरदायी बनाउनुपर्ने स्थानीयले माग गरेका छन्।







