आवास विहीन बिजमायाको घर ठडियो, पाँच लाख ऋण बाँकी

जुम्ला : जुम्लाको गुठिचौर गाउँपालिका–५ फोइगाउँकी बिजमाया जैसीका वर्षौँदेखिका पीडाले अहिले भने उज्यालो रूप लिन थालेको छ। हिउँले घर भत्काइदिएपछि ६ वर्षदेखि टहरामा आश्रित हुन बाध्य बिजमाया आज पक्की दुईतले घरकी गर्वित मालिका सँगै आशाको मुस्कान बटुल्दै छिन्।
टहराबाट पक्की घरसम्मको यात्रा
हिउँ,पानी र कठ्यांग्रिने चिसोको बीच काठको सानो टहरामा १२ वर्षकी छोरी र १४ वर्षका छोरासँग दिन रात बिताउनुपर्ने बाध्यताको कथा बिजमायाका लागि आज पनि पीडादायी स्मृति हो। साना कोठा भित्रै खाना पकाउने,त्यहीँ सुत्ने, हिउँ परेपछि छिमेकीको घर धाइरहनुपर्ने जस्तो कठिन परिस्थिति उनले धेरै वर्ष सहनुप¥यो।
बिजमाया टहरामा बसिरहेको खबर सार्वजनिक भएपछि तत्कालीन पत्रकार महासंघका उपाध्यक्ष दिलामाया शाही सक्रिय भइन्। कठ्यांग्रिने चिसोमा आवासविहीन आमाको कथा उजागर भएपछि सञ्चारमाध्यमले प्राथमिकताका साथ खबर प्रसारण गरे,स्थानीय सरकार र सरोकारवाला निकायसमक्ष समन्वय भयो। तेती वेला आइएन एफले नौ महिना खाद्यन्न दिएको थियो । कोराना समयमा आइएन एफले कोराना प्रभावित नागरिकलाई राहत वितरण कार्यक्रम रहेको थियो सो कार्यक्रममा फालुराम चौधरी कार्यक्रम संयोजक रहेका थिए ।प्रशासन जुम्लाले ओड्ने कमबल दिएको थियो ।भने नेपाल रडक्रसले त्रिपाल दिएको थियो ।
गाउँपालिकाको सहयोग र घर निर्माणको सुरुआत
पत्रकारको पहलपछि गुठिचौर गाउँपालिकाले रु १ लाख बजेट बिनियोजन ग¥यो। यही रकमले बिजमायाको टहरालाई विस्थापित गर्दै नयाँ घरको जग बस्यो। अहिले भने उनका लागि सपना जस्तै लाग्ने २ तले, ४ कोठे ढुंगा–काठको घर तयार भएको छ। छुट्टै भान्सा, चौडा जग्गामा फैलिएको मजबुत संरचना—सबैले बिजमायालाई राहतको अनुभूति गराइरहेका छन्।
घर बनेपछि भेट्न पुगेकाहरूलाई उनले खुशीका आँसुसँगै भनिन्,“ऋण धेरै भयो, तर घर बनेको छ यसैले धेरै दुःख बिर्साएँ। सहयोग गरिदिनुभएकोमा सबैलाई धन्यवाद। अहिले छोराछोरी पनि छुट्टै सुत्न पाउने भए।
मानव अधिकार आयोगको अवलोकन
बिजमायाको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोग, कर्णाली प्रदेश–जुम्लाको टोली पनि पुगेको थियो। शाखा प्रमुख कल्पना आचार्य नेपालले आवासविहीन परिवारका लागि घर निर्माणमा सहयोग गर्ने सबै पक्षलाई धन्यवाद व्यक्त गरिन्। दिमा आमाघर जुम्लाका अध्यक्ष तथा पत्रकार दिलामाया शाहीले पनि बिजमायाको विगतको अवस्था अत्यन्त नाजुक रहेको बताउँदै अहिले घर बनेकोमा खुशी व्यक्त गरिन्।
पाँच लाखभन्दा बढी ऋण,अझै चुनौतिका पहाड
घर बने पनि बिजमायाको आर्थिक चुनौती भने अझै समाप्त भएको छैन।दिदी–बहिनी र सहकारी समूहबाट लिएको पाँच लाखभन्दा बढी ऋण तिर्नुपर्ने दायित्व उनी माथि छ। उच्च शिक्षा अध्ययनका लागि आवेदन भर्न नसकेपछि उनका छोरा पढाइ छोडेर भारतमा व्यापार गर्न गएका छन्। छोरी सृजना जैसी भने कक्षा ९ मा अध्ययनरत छिन्। आफ्नो नयाँ घर हेर्दै छोरा भिजन जैसी पनि अत्यन्तै खुशी छन्।
थानीय सरकारको भूमिका
गुठिचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले सञ्चारकर्मीको पहलपछि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे।उपाध्यक्ष शान्ति मल्ल भण्डारीले कार्यपालिकाको बैठकबाट प्राथमिकताको साथ रु १ लाख बजेट बिनियोजन गरिएको बताइन्। विगत सम्झँदै बिजमाया भन्छिन्,“छोरी सृजनाले प्रत्येक हिउँदमा सोध्थी ‘आमा, हाम्रो घर कहिले बनाउने?’ त्यही कुरा सुन्दा म टहराभित्रै बसेर रुँथेँ। आज भने घर बनेको छ, अब छोरीलाई त्यो प्रश्न गर्नुपर्दैन।
कठिन परिस्थिति,असहज बास,आर्थिक अभाव र निरन्तर संघर्षले थिचेकी बिजमाया आज पक्की घरमा छिन्। यस उपलब्धिको पछाडि पत्रकारको पहल,सञ्चार माध्यमको आवाज, गाउँपालिकाको सहयोग र समुदायको साथ रहेको छ। बिजमायाको नयाँ घर केवल चार भित्ताको संरचना मात्र होइन यो जसको घर भत्किन्छ,उसको आशा पनि भत्किन्छ भन्ने बुझेर समाजले दिएको सामूहिक उत्तरदायित्वको प्रतिफल हो।







