जुम्लामा उपचारको बहानामा बालिकालाई यातना दिने झाँक्री पक्राउ
जुम्ला: उपचारको बहानामा बालिकालाई यातना दिएको आरोपमा जुम्लाको गुठिचौर गाउँपालिका १, मणिसाँघुका एक झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार १४ वर्षीया बालिकालाई बिरामी निको पार्ने भन्दै झाँक्रीले अन्धविश्वास तथा रुढिवादी कार्य गर्दै यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाको अनुसन्धान अघि बढाइएको हो।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ४६ वर्षीय कालीबहादुर रोकाया (धामी/झाँक्री) लाई यहि १२ गते बिहान १२ बजे गुठिचौर गाउँपालिका–१, मणिसाँघुबाट नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा ल्याई अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जुम्लाले अन्धविश्वास तथा रुढिवादी कार्यप्रति सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ। यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रिय रहेको जनाउँदै अन्धविश्वास तथा रुढिवादी कार्यसम्बन्धी कुनै सूचना भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा सम्पर्क गरी जानकारी दिन अनुरोध गरेको छ।








