इतिहासको छायाँमा वर्तमानको स्वागत : जे.एस. धिताल

साँचो कुरो यहि हो उनले कुनै जात ,धर्म ,लिंग, विभेद, छुवाछूत को कुरो नै गरेनन मात्र जुम्ला को भूगोल र रमणीय ठाउँहरुको सुन्दर बर्णन गरिदिए । गौरवका साथ खुसी ब्यक्त गर्नु पर्ने मुख्य कुरो उनलाई चिन्ने स्वदेशी तथा बिदेशी मानिसहरू माझ जुम्ला चिनाई दिए । हाम्रो पाहुना भएर आएकोमा न्यानो स्वागत र हार्दिक धन्यवाद सबै जुम्ला बासीको तर्फबाट ! देशको राज्यसत्ता परिबर्तनमा उनको कुनै भुमिका थिएन । नत उनले कसैलाई खोज र मार नै भनेका थिए ।

पूर्वराजाको परिवारमा जन्मिएको आधारमा मात्र गाली गर्नु कदापि उचित होइन। अहिले उनी जवान भएका छन्—शारीरिक, मानसिक, संवेगात्मक र बौद्धिक रुपमा परिपक्व देखिन्छन्। अढाई वर्षको उमेरमा राजा भएर राष्ट्र प्रमुख बन्ने ऐतिहासिक तथ्यका बाबजुद,आज उनी एक फरक भूमिकामा छन्।

तर, सवाल उठ्छ—उनको हालको उपस्थिति के सामाजिक सञ्जालमा भाइरल हुनका लागि हो? बाबुको इतिहासप्रति क्षमायाचना हो? वा गुमेको स्वर्ग फर्काउने रणनीतिको हिस्सा?

आज जनताले जुन गणतान्त्रिक व्यवस्था भोगिरहेका छन्, त्यही व्यवस्थाको लागि हिजो हजारौं युवाले जनयुद्ध लडे। थुप्रै सहिद भए, अपांग भए, अझै बेपत्ता छन्। आज उनीहरूको नजरमा देशमा दक्षिणपन्थी विचलनको हावा चलेको छ। झुटको खेती, भ्रमको व्यापारले समाजलाई गाँजेको छ। जुम्ला त अहिले त्यसको ‘इपिसेन्टर’ बन्न पुगेको छ।

इतिहासको विरासत

हिजो जुम्लामा मातृशिशु मृत्युदर उच्च थियो। गाईगोठमा सुत्केरी हुने परिपाटी थियो। मानव त के, जनावरसरह पनि सुविधा थिएन। त्यतिबेला उनका जिजुबाजेलाई जुम्लाको पीडा किन देखिएन?

त्यही इतिहासले देखाउँछ—शाही बंशले जुम्लालाई सधैं उत्पीडनको दृष्टिले हेर्‍यो। राज्यसत्ताले कहिल्यै सेवा दिन सकेन। जब जनताले उनीहरूलाई अस्वीकार गरे, त्यसपछि मात्र जुम्ला “प्रिय” बन्न पुग्यो? अहिले लावालश्कर लिएर आउने, गीत गाउँदै, नाच्दै, बेल्चा हानेर देखाउने कार्य के साँच्चै सहानुभूति हो त? कि प्रचारको प्यास?

जुम्लाको योगदान र वास्तविकता

सिंजा राज्यले भाषा, संस्कृति र सभ्यता दिएको थियो। यहाँको मार्सी धान, जडिबुटी, गुच्छी च्याउ, यार्सागुम्बा, ओखर, स्याउजस्ता उत्पादन वस्तु गणतन्त्र पछि मात्र जन्मिएका होइनन्। यी सबै थोक शोषक सत्ताले नै प्रचारविहीन बनाए।

जुम्ली कहिल्यै गरिब थिएनन्—उनीहरूलाई गरिब बनाइयो। शाही शासनले उनै जनतालाई दोस्रो दर्जाको नागरिक बनायो। जातीय विभेद, छुवाछुत, लैङ्गिक शोषण, बहुबिबाह, बालविवाह, यौनजन्य उत्पीडन, सबै यिनै शासकहरूले थोपरेका हुन्। जुम्लिलाई नुनकै लागि राजापुर जानुपर्ने बाध्यता थियो। बाबुआमाले चिठी लेख्दा त्यसलाई पढ्ने कोही थिएन। मृतकको खबर महिनौंपछि थाहा हुन्थ्यो।

राजनीतिक अस्वीकार, तर प्रतिक्रान्ति होइन

आज जुम्ली जनताले गणतन्त्रवादी दलहरूलाई बहिष्कार गर्नुको अर्थ सत्ता फिर्ता ल्याउने चाहना होइन। यो त जनतामा सरकारप्रति परेको भरोसाको संकटको अभिव्यक्ति हो।

हो, अहिलेका कतिपय स्थानीय दरखोलाका छोटे सामन्त वा मुखियाका सन्तानहरूले पूर्वराजाको चर्चा गर्नु स्वाभाविक हो। उनीहरूका लागि त्यो परिवार अझै पनि आशाको केन्द्र हुन सक्छ। तर, आम जुम्ली जनताको लागि इतिहासका पानामा लेखिएको पीडा अझै पनि ताजा छ।

गणतन्त्र लोकतन्त्रको मार्ग हो—जहाँ सबै विचारलाई सम्मान गरिन्छ। तर विचारको मुल्यांकन ऐतिहासिक सन्दर्भ, सामाजिक पृष्ठभूमि र जनताको पीडाको परिप्रेक्ष्य बाट हुनुपर्छ।

सिंजाली सभ्यताको उज्यालोमा अन्धकार ल्याउने तत्वहरू पहिचान गर्न जरुरी छ। इतिहासको छायाँबाट वर्तमानको मूल्याङ्कन गरिनुपर्छ। गणतन्त्रको रक्षा केवल नाराले होइन—सचेत विचार, ऐतिहासिक चेतना र जनताको पीडालाई आत्मसात गर्दै मात्रै सम्भव छ।

लेखक जे एस धिताल शिक्षक तथा माक्सबादी केन्द्रका कर्णाली प्रदेस समेत अध्यक्ष हुन ।