फोहोर व्यवस्थापन सुधारको खाँचोःचन्दननाथमा बृहत् सरसफाइअभियान,तर नागरिक सहभागिता न्यून

जुम्ला — फोहोर व्यवस्थापनप्रति निरन्तरको बेवास्ता र नागरिकको न्यून सहभागिताका कारण लामो समयदेखि दुर्गन्धित र अस्वस्थ बन्दै आएको चन्दननाथ नगरपालिकालाई सफा, सुन्दर र स्वस्थ नगर बनाउने उद्देश्यले हालै बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। यस अभियानमा चन्दननाथ नगरपालिका, नेपाल रेडक्रस, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, तेक्वान्दो प्रशिक्षकसहितका खेलाडी, सामाजिक विकास कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति लगायत विभिन्न निकायहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, नेपाल प्रहरीका डीएसपी रबिनबाबु रेग्मी, सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढा, सशस्त्र प्रहरीका एसपी निलकमल आचार्य लगायतको नेतृत्वमा टोलीले चन्दननाथ नगरपालिका–५, ६ र ४ का केही क्षेत्रमा सरसफाइ गरेका थिए।
प्रजिअ शर्माका अनुसार, चार समूहमा विभाजित सरसफाइ टोलीले जुगाड खोला, बसपार्क, विजय नगर, जुम्ला बजार, कालिखोली लाइन लगायतका स्थानहरूमा फोहोर संकलन गरी सफाइ गरेको थियो। तर फोहोर संकलनका लागि आवश्यक ट्याक्टर नगरपालिकाले समयमै नपठाएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन्।
स्थानीय निकायको समन्वयमा कमी
सहभागीहरूका अनुसार, “हामी फोहोर जम्मा गरेर बाहिर राख्छौं, तर नगरपालिका समयमै ट्याक्टर पठाउँदैन। यसले गर्दा फोहोर फेरि जताततै फैलिन्छ र हाम्रो मिहिनेत खेर जान्छ,” उनीहरूले थपे, “नगरपालिकाले सरसफाइको बजेट वडा तहमा पठाउनुपर्छ, र वडा अध्यक्षहरूले आफ्नो वडामा नियमित सरसफाइ सुनिश्चित गर्नुपर्छ।”
नागरिक सहभागिता न्यून, अपनत्वको अभाव
यो पहिलो पटक होइन जब चन्दननाथमा सुरक्षा निकाय र सरोकारवाला संस्थाहरूले सरसफाइ अभियान सञ्चालन गरेका छन्। तर विगतमा पनि यस्ता प्रयासहरू नागरिक सहभागिताको कमीका कारण दीर्घकालीन रूपमा सफल हुन सकेका छैनन्।
यसपटक पनि सुरक्षा निकाय, नगरपालिका कर्मचारी र केही खेलकर्मीहरूबाहेक सामान्य नागरिकको सहभागिता नगण्य देखिएको छ। सरसफाइ अभियान केवल सरकारी तहमा सीमित हुँदा त्यसले स्थायी प्रभाव पार्न सक्दैन भन्ने सरोकारवालाहरूको बुझाइ छ।
सफाइ सफल बनाउन नागरिक सक्रियता अनिवार्य
सफाइ अभियान सफल बनाउन सबैभन्दा महत्वपूर्ण पक्ष भनेको नागरिकको सक्रिय सहभागिता हो। फोहोर व्यवस्थापन केवल प्रशासनिक काम नभई सामूहिक जिम्मेवारी हो भन्ने चेतना जनस्तरसम्म पुर्याउन नगरपालिकाले निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक देखिएको छ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यका अनुसार, नियमित फोहोर उठाउने तालिका, ट्याक्टरको समयमै पहुँच, प्रत्येक वडामा स्थायी सरसफाइ टोलीको परिचालन, र नागरिक जागरण कार्यक्रममार्फत मात्र दीर्घकालीन समाधान सम्भव छ।
उनले भने, “सबैको सहयोगले मात्रै चन्दननाथजस्तो ऐतिहासिक तथा प्राकृतिक नगरलाई साँच्चिकै सफा, स्वस्थ र स्वच्छ नगर बनाउनु सम्भव छ।








