जात्रा व्यवस्थापनका लागि समन्वय बैठक सम्पन्न, मदिरा बिक्रीमा पूर्ण प्रतिबन्ध
जुम्ला, : चन्दननाथ नगरपालिकामा हुन गइरहेको आगामी जात्रालाई व्यवस्थित र सुरक्षित बनाउनका लागि जात्रा व्यवस्थापन समिति, स्थानीय प्रशासन, सरोकारवाला निकाय तथा नागरिक समाजबीच समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) केदारनाथ शर्माले बढिमालिकाको सरकारी टोलीको सफल यात्राकाे शुभकामना व्यक्त गर्दै जात्रा सुरक्षित, मर्यादित र अनुशासित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताए।
बैठकका मुख्य निर्णयहरू यसप्रकार छन्:
१. जात्राको सम्पूर्ण अवधि भरि मादक पदार्थको बिक्री तथा सेवनमा पूर्ण प्रतिबन्ध लागु गरिनेछ।
२. खलङ्गा खानेपानी उपभोक्ता समिति तथा उद्योग वाणिज्य संघ जुम्लाले खानेपानीको आपूर्ति सुनिश्चित गर्नेछ।
३. अस्थायी स्वास्थ्य शिविर र प्राथमिक उपचार सेवाको व्यवस्थाका लागि जनस्वास्थ्य सेवा कार्यालय, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चन्दननाथ नगरपालिकाले संयुक्त रूपमा जिम्मेवारी लिनेछन्।
४. ट्राफिक व्यवस्थापनको सम्पूर्ण जिम्मा जिल्ला प्रहरी कार्यालय जुम्लालाई दिइएको छ।
५. विद्युत आपूर्तिको सुचारु व्यवस्थापन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले गर्नेछ।
६. अस्थायी शौचालय र फोहोर व्यवस्थापनका लागि उद्योग वाणिज्य संघ र नगरपालिकालाई जिम्मेवारी दिइएको छ।
७. निर्णयहरूको कार्यान्वयन सुनिश्चित गर्न विषयगत कार्यालय, नागरिक समाज र स्थानीय तह समेतको सहभागिता रहने अनुगमन तथा सहजीकरण समिति गठन गरिनेछ।
८. स्वयंसेवक परिचालनका लागि एन.सि.सि. अल्मुनाई र नेपाल स्काउटलाई सक्रिय बनाइनेछ।
९. शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सबै सुरक्षा निकायहरूबीच समन्वय गरिनेछ।
१०. आपतकालीन अवस्थालाई ध्यानमा राख्दै वैकल्पिक मार्ग तय गरेर मात्र जात्रा सञ्चालन गरिनेछ।
११. सर्वसाधारणसँग जबरजस्ती रकम माग गर्ने कार्य निषेध गरिनेछ।
१२. नगरपालिकाबाट जात्रा हुने स्थानहरूमा सि.सि. क्यामेरा जडान गरिनेछ।
१३. बालबालिका, अशक्त र जेष्ठ नागरिकलाई जात्रा अवलोकनमा प्राथमिकता दिइनेछ।
१४. एम्बुलेन्स तथा सुरक्षा निकायका सवारी साधनबाहेक अन्य सबै सवारी साधनको प्रवेश पूर्णरूपमा निषेध गरिनेछ।
१५. जात्रा व्यवस्थापन समितिले सम्पूर्ण कार्यतालिका जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनेछ।
जात्रा अवधिमा अनुशासन, शान्ति र सहकार्यलाई मूल मन्त्र मानी सञ्चालन गर्नुपर्ने बैठकले स्पष्ट गरेको छ। बिगतका अनुभवलाई ध्यानमा राख्दै यस वर्षको जात्रा अझ मर्यादित र समावेशी बनाउने अपेक्षा गरिएको छ।यश पटककाे जात्रा यहि २५ गते बाट सुरु हुने छ ।









