छोराको मृत्युसँग जुधिरहेकी आमा,जीवनसँग लडिरहेका डिकेस :कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बेडमा झुन्डिएको एउटा आशा
जुम्ला — “अब बाँच्ने सम्भावना छैन,” डाक्टरले भने। तर आमा अझै आशामा छिन्। १७ वर्षीय डिकेस नाथ योगीको कथा कुनै साधारण बिरामीको होइन। यो कथा हो—दुर्गम गाउँबाट राजधानीको सपना बुनेको एक किशोरको, जसको जीवन अहिले अस्पतालको बेडमा मृत्यु र जीवनको दोभानमा अडिएको छ। डिकेस जुम्ला जिल्लाको हिमा गाउँपालिका–३, जोगीबाडाका बासिन्दा हुन्। उनले २०८१ सालको चैतमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका थिए। परीक्षा सकेपछि उनले काठमाडौं जाने र उच्च शिक्षा हासिल गर्ने सपना देखिरहेका थिए। तर ती सपना आज उनको शरीरबाट हराउँदै छन —एक गलत शल्यक्रिया पछि।
२०८२ साल जेठ २६ गते पेट दुखेपछि उनलाई जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पतालमा भर्ना गरियो। चिकित्सकहरूले सामान्य एपेन्डिसाइटिसको शंका गर्दै शल्यक्रिया गरे, तर त्यसपछि अवस्था झन् जटिल बन्दै गयो। भोलिपल्ट नै दोस्रो शल्यक्रिया गर्नुप¥यो। परिवारले सहमति दियो—पीडामा डुबेर। तर डिकेसको अवस्था सुधारिएन।
त्रासदीको यात्रा : जुम्लादेखि नेपालगन्ज,फेरि जुम्ला
चिकित्सकहरूले डिकेसलाई नेपालगन्ज रेफर गरे, तर त्यहाँ पनि उपचार सम्भव नभएपछि पुनः जुम्ला फर्काइयो। बाबु जगत नाथ योगी भन्छन्,“डाक्टरले भन्नुभयो, अब बाँच्ने सम्भावना छैन। मुख्य आन्द्रा नै छैन।”उनी भन्छन्, “म एसईईपछि छोरालाई काठमाडौं पढाउन पठाउने सपना देखिरहेको थिएँ। अहिले अस्पतालमा उसको मृत्यु कुरिरहेको छु।
औषधिमा अडिएको जीवन – ‘टिपिएन’ को भरमा आशा
शल्यक्रियामा आन्द्रा निकालिएपछि डिकेसको शरीरले खाना पचाउने र पोषण ग्रहण गर्ने प्राकृतिक क्षमता गुमायो। अहिले उनलाई नसाबाट पोषण दिने विशेष औषधि -TPN (Total Parenteral Nutrition-को सहारामा जिवित राखिएको छ। तर यो औषधि दीर्घकालीन समाधान होइन। अन्ततः ‘साना आन्द्राको प्रत्यारोपण’-(small intestine transplant- नै एक मात्र विकल्प हो—जुन विदेशमै मात्र सम्भव छ। खर्चिलो र जटिल प्रक्रिया भएकाले, डिकेसको परिवार त्यो खर्च थेग्न सक्दैन। आमा रोइरहेकी छन्, छोरा अझै सोधिरहन्छन् – “आमा, म कहिले निको हुन्छु? अस्पतालको बेडमा छटपटाइरहेका डिकेस आमालाई सोध्छन्,“आमा, मेरो आन्द्रा कहिले पलाउँछ? म कहिले निको हुन्छु?”तर आमासँग जवाफ छैन। उनी केवल आँशु झार्छिन्। डिकेसकी आमाको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल बनेको छ। छोराको लागि गरेको प्रार्थनाले हजारौं नेपालीको मन छुँदैछ। उनले भनिन्,“अब म बाँच्दिन होला” भनेको छ छोराले। तर म उसै अस्पतालको बेडमा मृत्यु भएको हेर्न सक्दिन। भगवान छन् भने, मेरो छोरालाई बचाइदेऊ।एक बालकको पीडा होइन, यो सिंगो स्वास्थ्य प्रणालीको असफलता हो
डिकेसको अवस्था कुनै एक बिरामीको मात्र पीडा होइन, यो देशको स्वास्थ्य प्रणालीमाथिको गम्भीर प्रश्न हो। सामान्य एपेन्डिसाइटिसको शल्यक्रिया किन यति जटिल बन्यो? चिकित्सकको लापरवाही हो कि बिरामीको दुर्लभ स्वास्थ्य अवस्था? कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्तो प्रतिष्ठित संस्थाबाट यस्तो गल्ती हुनु चिन्ताजनक हो।

स्वतन्त्र छानबिन र राज्यको उत्तरदायित्व आवश्यक
यो घटनाको स्वतन्त्र छानबिन हुनुपर्छ। यदि चिकित्सकीय लापरवाही प्रमाणित भयो भने दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्छ। राज्यले तत्काल गम्भीर अवस्थामा परेका नागरिकहरूलाई विदेश उपचारका लागि विशेष राहत कोष स्थापना गर्नुपर्छ। यस्तो पीडा अरूले भोग्नु नपरोस्। अहिले डिकेस एक औषधिमा बाँचेका छन्। उनका बाबा आकाशतिर हेरेर सहारा खोजिरहेका छन्।
आमा आँशु पुछिरहेकी छन्। डाक्टरले हात उठाइसकेका छन्।अब आवाज उठाउने बेला समाज, संचार, सरकार र नागरिकहरूको हो।गरिब नागरिकको जीवन यति सस्तो हुनु हुँदैन। डिकेस जस्ता हजारौं किशोरहरूको सपना जोगाउन राज्यले आफ्नो जिम्मेवारी निर्वाह गर्नैपर्छ। डिकेसलाई बाँच्ने अधिकार छ—हामी सबैले यो सुनिश्चित गर्नुपर्छ। डिकेसका परिवारका अनुसार डिकेस साहस रहन्जेल सम्म उपचार निशुल्क गर्ने भनेको छ ।









