झण्डै दुई वर्षपछि राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला कार्यालय पुनः सञ्चालनमा
जुम्ला, – झण्डै दुई वर्षदेखि कामविहीन बनेको राष्ट्रिय मानव अधिकार आयोगको जुम्ला शाखा कार्यालय पुनःस्थापित भई औपचारिक रूपमा पुनःसञ्चालनमा आएको छ। लेखा व्यवस्थापन सूचना प्रणाली (LMBIS) पुनःकायम गरिएपछि आयोगको कार्यालय नियमितरूपमा सञ्चालनमा आउने भएको हो।
आयोग स्रोतका अनुसार, शाखा प्रमुखको जिम्मेवारी कल्पना नेपाल आचार्यलाई दिइएको छ। सन् २०७९ मा लेखा प्रणाली हटाइएपछि कार्यालयका १४ दरबन्दी हटाइएको थियो। त्यसयता आयोगको कार्यालय जिल्ला समन्वय समितिको भवनमा अस्थायी रूपमा कार्यालय सहयोगीको भरमा संचालनविहीन अवस्थामा रहेको थियो।
शाखा कार्यालय पुनःस्थापनाका लागि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यको नेतृत्वमा आयोगको केन्द्रीय कार्यालय, अध्यक्ष तपबहादुर मगर तथा आयुक्तको टोलीसँग निरन्तर समन्वय गरिएको थियो।
यसका साथै प्रतिनिधिसभा सांसद कान्तिका सेजुवाल, संविधानसभा सदस्य एवं पूर्वमन्त्री नरेश भण्डारी, मानव अधिकारकर्मीहरू, नागरिक समाज, गैसस महासंघ, मानव अधिकार रक्षक सञ्जाल, शुभेच्छुक कर्मचारी तथा सञ्चारकर्मीहरूले समेत निरन्तर ध्यानाकर्षण गराउँदै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
कार्यालय पुनः सञ्चालनमा आएपछि स्थानीय तहमा मानव अधिकारको संरक्षण, प्रवर्द्धन, अभिलेखिकरण र सचेतनाका कार्यहरू प्रभावकारी रूपमा अघि बढ्ने विश्वास गरिएको छ।











