मुगुका एसईई पास विद्यार्थीलाई सिपमुलक तालिम

मुगु — आर्थिक अभावका कारण उच्च वा प्राविधिक शिक्षा हासिल गर्नबाट बञ्चित मुगुका एसईई पास युवाहरुका लागि सिपमुलक तालिम सञ्चालन गरिएको छ। गुड्नेवर इन्टरनेशनलको आर्थिक सहयोग र किडाक नेपालको समन्वयमा कम्प्युटर र सिलाइकटाइ तालिम प्रदान गरिएको हो।

तालिम अन्तर्गत छायाँनाथ रारा नगरपालिका लगायत तीन स्थानीय तहका गरिब तथा विपन्न वर्गका १४ जनाले तीन महिनाको आधारभूत कम्प्युटर तालिम र ११ जनाले सिलाइकटाइको पहिलो चरणको तालिम पाएका छन्।

स्थानीय बासिन्दा मुन बहादुर लावडका अनुसार कम्प्युटर तालिमले व्यवहारिक ज्ञानसमेत प्रदान गरी आत्मनिर्भर बन्न सहयोग गरेको छ। त्यसैगरी तालिममा सहभागी ममता कुमाईले भनेकी छिन्, “संस्थाहरुको सहयोगले खाना, बास, यातायात र आवश्यक सामग्रीसमेत उपलब्ध भएकाले हामीलाई ठूलो राहत भएको छ।“

प्रशिक्षक नरेश शाहीका अनुसार प्रत्यक्ष रुपमा मात्र नभई, फोनमार्फत पनि जिज्ञासाको समाधान गरिनेछ। समन्वय समिति उपप्रमुख नैली कार्कीले सिकिएको सीप व्यवहारमा ल्याई आत्मनिर्भर बन्ने सुझाव दिइन्।

किडाक नेपाल मुगुका प्रमुख कर्णजंघ शाहीका अनुसार परीक्षा दिएर घरमै बसिरहेका विद्यार्थीहरुलाई आयआर्जनका माध्यमबाट सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको हो। यस प्रकारका कार्यक्रमले युवा पुस्तालाई सशक्त बनाउन महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ।